काठमाडौं वडा नं ३ का अध्यक्ष प्रेम थापा
काठमाडौं– संघीय राजधानी काठमाडौं महानगरपालिकाको ३ नम्बर वडाले भीआईपी एरियालाई समेटेको छ । लाजिम्पाटको साग्र्रिला होटलदेखि पानीपोखरी महाराजगञ्ज, नारायणगोपाल चोक, बाँसबारी, बसुन्धरा रानीबारी, सामाखुशी खोलासम्मको भूभाग ओगटेको यो वडामा सबैभन्दा बढी महानगरको बजेट छ । र, यस वडाका वडाध्यक्ष छन्– नेकपा एमालेबाट निर्वाचित प्रेम थापा ।
थापा गतसाल मेयर बालेन्द्रले २१ दिनसम्म छलफल गरेर नीति तथा कार्यक्रम ल्याएको सम्झन्छन् । तर, यस वर्षको नीति तथा कार्यक्रम सिधै कार्यपालिकाको टेबलमा आएकाले उनीसहित १६० जना नगरसभा सदस्य असन्तुष्ट बनेको उनको विश्लेषण छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा २८ बुँदे संशोधन प्रस्ताव दर्ता गरिएको र त्यसको सम्वोधन भएमा विवाद समाधान हुने थापाको भनाइ छ ।
वडाध्यक्ष थापासँग खबरहबले मेयर बालेन्द्र शाहसँग वडाध्यक्षहरुको असन्तुष्टि, महानगरमा दुईवर्षे कामको अनुभव र आगामी दिनमा महानगरको भूमिका लगायतका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत छ–
स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार हो । तपाई निर्वाचित भएको दुई वर्ष पूरा भएको छ । यो अवधिमा गरेको कामको प्रगति सुनौं न ?
हिजो निर्वाचनका क्रममा हामीले गरेका प्रतिवद्धता कमशः पूरा गर्दै गएका छौँ । वडावासीको सहयोग भयो भने वाचा गरेका सम्पूर्ण कामहरू पूरा हुने छन् । पूर्वाधार विकासका हिसाबले नै हाम्रो वडालाई समृद्ध बनाउनुपर्छ भन्ने अभियानमा लागिपरेका छौँ ।
अधिकांश पूर्वाधार विकासका योजना, ढल, बाटो पिच गर्ने, भित्री बाटाहरूमा ब्लक बिछ्याउने र धुलो हिलो रहित बनाउने अभियान करिब–करिब हाम्रो वडाले सक्न लागेको छ । वडाका अधिकांश ठाउँमा मेलम्ची र विद्युत प्राधिकरणले अन्डरग्राउन्ड केवलिङ र पाइप बिछ्याउने कामहरू सम्पन्न गरिरहेको छ । नारायणगोपालको तल्लो भागमा हामीले अधिकांश पूर्वाधार विकासका हिसाबले काम सम्पन्न गरिसकेका छौँ ।
अब यो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्षमा सुरु हुने चरणमा भएकाले हामीले सामाजिक विकासका कार्यक्रम, वातावरणका कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित कार्यक्रम र युवा लक्षित कार्यक्रमलाई केन्द्रित गरेर विभिन्न पार्क र खेलकुद मैदान निर्माण गर्ने हाम्रो प्रमुख मुद्दा हुने छ ।
विषेश गरी हामीले स्वास्थ्य र शिक्षामा वडावासीको पहुँच हुनुपर्छ भनेर यहाँ भएका स्कुल, कलेजहरू र हस्पिटलहरूमा सहभागिता र सुविधा बढाउन चाहेका छौँ । यो वर्ष यिनै काममा अगाडि बढ्छौँ ।
यहाँले भनेका यी कामहरू गर्न वडामा कत्तिको सहज छ ?
हामीलाई स्थानीय तहबाट काम गर्दा असजिलो भएको छैन । महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमै हामीले सबै योजना समावेश गरेर काम गरिरहेका छौँ ।
बजेटको विषयमा भन्दा हामीसँग यथेष्ट महानगरबासीको आवश्यकतालाई परिपूर्ति गर्ने नै बजेट छ । थोरै संघीय, प्रादेशिक हिसाबको कानुनी हिसाबले थोरै अप्ठ्यारो त परेको छ । जस्तो– हामीले सामाखुशी खोलाको कोरिडोर खोल्यौं, तर केही स्थानीय घरधनी र जग्गाधनीले अदालतबाट अन्तरिम आदेश लिएर आउनुभएको छ ।
हामीले सामाखुशी खोलाको कोरिडोर खोल्यौं, तर केही स्थानीय घरधनी र जग्गाधनीले अदालतबाट अन्तरिम आदेश लिएर आउनुभएको छ
पुरानो २०२१ सालको नापी नक्साअनुसार अन्तरिम आदेश जारी भएको छ । तर अहिले जुन हालसाबिक भइसकेर नयाँ पुर्जा लागु भएको छ, त्यो उहाँहरूको जग्गा होइन । सरकारी जग्गा छोड्न उहाँहरूले आनाकानी गरिरहनुभएको छ र सम्मानित अदालतको विचाराधीन मुद्दाले हाम्रो अभियानमा थोरै बाधा परेको छ । तर, प्रादेशिक र संघीय सरकारको कानुनलाई नै फलो गरेर हामी अगाडि बढेका छौँ । हामीलाई काम गर्न सजिलो छ ।
पछिल्लो समय काठमाडौं महानगरमा वडाअध्यक्ष र मेयर बालेन्द्र शाहबीच चर्काचर्की परेको सुनियो । मेयरसँग काम गर्न तपाईहरुलाई गाह्रो भएको हो ?
त्यस्तो हुँदै होइन । मलाई लाग्छ, हाम्रा मिडियाका साथीहरूले पनि बुझाउन सक्नुभएन । एकपक्षीय समाचार सम्प्रेषण भएको हो जस्तो लाग्छ । त्यो दिनको घटना, असार २ गते हामी नीति तथा कार्यक्रममाथि छलफल गरेर त्यसलाई पास गर्ने चरणमा थियौँ । त्यो नीति तथा कार्यक्रम र बजेटको विषयमा बालाजुको सभाकक्षमा हाम्रो बजेट कार्यक्रम र तर्जुमा कार्यक्रमका सदस्यहरू बस्यौं ।
जस्तो कि म विपद् व्यवस्थापन समितिको संयोजक पनि छु । म बजेट कमिटीको सदस्य पनि भएको नाताले हामीले अघिल्लो वर्ष २१ दिन नीति तथा कार्यक्रममाथि बुँदागत छलफल गरेर सहमति गरेका थियौँ । बजेटमा पनि शीर्षकसहित टुंग्याएका थियौँ ।
तर, योपालि नीति तथा कार्यक्रम सिधै कार्यपालिकाको टेबलमा आयो । कुनै छलफल भएन । अघिल्लो वर्ष बिहान ७ बजेबाट बेलुका ४–५ बजेसम्म छलफल गरेका थियौँ । वडाको अत्यावश्यक सेवा पनि बालाजुमै बोलाएर उपलब्ध गराएका थियौँ । तर यो वर्ष सिधै उहाँहरूले कार्यपालिकामा लिएर आएर नगरसभाबाट पास गरौँ, समय धेरै छैन भन्नुभयो ।
हामीले केही समय उपलब्ध गराइदिनु भन्दा उहाँहरूले मान्नु भएन । जुरुक्क उठेर त्यसलाई असार १० गतेका लागि सारेर जानुभयो र बैठक स्थगित गर्ने बित्तिकै उहाँ (मेयर) ले स्टाटस लेख्नुभयो । त्यो जिम्मेवारी र पदमा बसेको व्यक्तिले कसैलाई पनि आरोप प्रमाणित गर्न नसक्ने आरोप लगाउनुहुन्न । म यहाँलाई भन्छु उहाँले सुरुमा के भन्नु भयो ‘बन्द कोठामा गरेको सहमति मलाई पालना हुने छैन ।’
हामीले २ वर्ष भयो खुल्ला कोठा र वातावरण सहज बनाएर बसेर छलफल चलाइरहेका छौँ । योजना बनाइरहेका छौँ । त्यसमा कुनै सत्यता छैन । दोस्रो ः उहाँले तीनजना व्यक्तिका कारणले १६० जना नगरसभा सदस्यलाई बन्धक बनाइयो भन्नुभयो, त्यो पनि गलत थियो । किनभने हामीले नै सजिलोका लागि कतिपय कुरा मासमा डिसिजन गर्न सकिँदैन, थोरै संख्यामा भयो भने सहज हुन्छ भनेर टिम बनाएका थियौँ । त्यसमा हाम्रो प्रमुख बालेन्द्र शाह पनि हुनुहुन्छ । उपप्रमुख सुनिता डङ्गोल पनि हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार हुनुहुन्छ र तीनवटा पार्टीबाट तीनजना वडाध्यक्षहरु हुनुहुन्छ ।
यो टिममा नेपाली कांग्रेसबाट वडा नम्बर १७ को वडा अध्यक्ष नवीन मानन्धर हुनुहुन्छ । एमालेबाट नवराज पराजुली ३२ नम्बर वडाको अध्यक्ष हुनुहुन्छ । एकीकृत समाजवादीबाट वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डङ्गोल हुनुहुन्छ । उहाँहरू तीनजना बसेर हाम्रो कुरा टुंग्याउने गर्नुहुन्थ्यो । तर, मेयरले त्यो आरोप लगाउनु भयो । उहाँले तेस्रो कुरा, यो नगरसभामा आउँदा एमाले र काँग्रेसको धङधङकी बोकेर नआउनुहोला भन्नुभयो । त्यो हामीलाई अलि पाच्य भएन । जस्तो– म वडा नम्बर ३ को वडा अध्यक्षको विषयमा कुरा गर्दा म प्रेम थापा एमाले पार्टीको टिकटमा पार्टीकै घोषणापत्रमा पार्टीले दिएको उम्मेदवारका आधारमा एमालेबाट विजयी भएको हो ।
अझ मैले अस्ति नगरसभामा के पनि भनेको थिएँ भने यहाँ कांग्रेस र माओवादीको गठबन्धन हाम्रो पार्टीका बागी उम्मेदवारलाई पराजित गर्दै ३ नम्बर वडाबासीको मन र मस्तिष्क जितेर निर्वाचित वडाध्यक्ष बनेको हुँ । हाम्रो रगत–रगतमा एमाले छ । हामी नगर सभाभित्र प्रवेश गरेपछि हामी सिङ्गो महानगरको हिसाबमा अगाडि बढ्छौँ । स्वतन्त्ररूपले नै विचारहरू राख्छौँ । २ वर्षसम्मको अभ्यास हेर्दा पूर्णरूपले उहाँलाई सहयोग र साथ दिएका छौँ ।
अर्को हिसाबमा भन्दा आफू राम्रो देखिन अरूलाई नराम्रो देखाउन पर्दैन जस्तो लाग्छ । आफू राम्रो देखिन राम्रो हुनुपर्छ । धेरै आरोप हामी जनप्रतिनिधिलाई झोले–झोले यिनीहरू पार्टीका झोले भन्नुभयो । त्यो कारण अलिकति मनमा लागेको कुरा अस्ति नगरसभामा पोखेको हो । कसैले मलाई नेकपा एमालेको झोले भन्छ भने पनि म नेकपा एमालेको झोला बोक्न तयार छु भनेको छु ।
विगत ३४ वर्षदेखि म यही क्षेत्रमा छु । नेकपा एमालेको साधारण सदस्यदेखि आज म जिल्ला कमिटीको सदस्यसम्म भएको छु । तीन–तीनपटक निर्वाचित जनप्रतिनिधि हो । त्यो कारण हामी संवाद सहमति सहकार्य गर्न अलिकति चुक्यौ कि जस्तो लाग्छ । त्यसैको परिणाम हो ।
तर, हामीले फेरि पनि के भनेका छौँ भने एउटै डुंगामा सवार छौँ । हाम्रो लक्ष भनेको सांस्कृतिक शहर समृद्ध काठमाडौं महानगर भन्ने छ । त्यो बनाउने अभियानमा छौँ । त्यसको नेतृत्व हाम्रा प्रमुख, उपप्रमुखले गरिरहनु भएको छ । हामी ३२ वडा सदस्य र ४० कार्यपालिका सदस्य र सिङ्गो नगर सभा नै प्रमुखलाई साथ दिएर अगाडि बढ्ने मनस्थितिमा छौँ ।
दुई वर्षसम्म हामीले मेयरलाई चुप लागेर साथ दियौँ भन्नुभयो, पहिलाबाट नै मेयर शाहको कार्यशैलीमा असन्तुष्ट हुनुहुन्थ्यो ?
फेसबुकमा उहाँले जुन स्टाटस लेख्नुभयो, त्यसले जो १६० जना सदस्यसाथीहरू बसेर छलफल गर्यौं, अलि मन दुख्यो । त्यो नलेख्नु भएको भए हुन्थो । नगरसभाभित्र प्रवेश गरिसकेपछि हामी प्रमुखज्यूलाई सघाएर नै अगाडि बढिरहेका थियौँ । दुई वर्ष हामी जुन ट्रयाकमा हिँडेका थियौँ, त्यो ट्रयाकभन्दा अलि फरक हिँड्न बाध्य बनाउनुभयो । तर, अस्ति (असार १०) को नगरसभाबाट ती सबै सहमति भइसकेको छ । हामी सहमति, सहकार्य, एकता र वार्ता छलफलबाट नै सबै कुरा समाधान गर्ने भनेर अगाडि बढेका छौँ । कस्तो सहमति ?
हामीले अहिले प्रस्तुत भएको नीति तथा कार्यक्रममा फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका छौँ । त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाउनु भएको छ । नगरसभाबाट नै नीति तथा कार्यक्रम संशोधनसहित पास गर्ने भनेर निर्णय गरेका छौँ । अब संशोधनसहित पास गछौँ ।
तर, स्वतन्त्र मेयर भएका कारण पार्टीका वडाध्यक्षहरूले बालेनलाई पेल्नुभयो नि ?
त्यस्तो हुँदै होइन । निर्वाचनका क्रममा हामीलाई विभिन्न पार्टीको चुनाव चिह्न लिएर जनताले जिताएको हो । पेल्ने भनेको शब्द नै आउँदैन । हामीले उहाँहरूसँग सहकार्य, संवाद र एकता गर्न खोजेको हो । हिजो निर्वाचनमा उहाँले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेर जित्नुभएको हो । हामी पनि त्यही प्रतिवद्धता पत्र सार्वजनिक गरेर निर्वाचित भएको हो, पेलेर होइन ।
हाम्रो दुई वर्षको अभ्यास कस्तो छ भने संशोधनसहित जुन प्रस्तावका रूपमा आउँछ, त्यसलाई बजेट कमिटी, बजेट कार्यान्वयन तथा संशोधन समितिमा लिएर जान्छौँ । त्यहाँ टुङ्गिन सकेन भने संयन्त्रमा जान्छ
केही असन्तुष्टि र असमझदारी भयो भने पनि त्यसलाई टुंग्याउन नयाँ शिराबाट विगतका कमजोरीलाई औँल्याउँदै आगामी दिनमा अगाडि बढौं, फेरि पनि तपाईँसँग सहकार्य छलफल गरेर सँगै हिँड्न तयार छौँ भनेर सन्देश दिन खोजेका छौँ । हामीसँग पनि उहाँले छलफल गर्नुपर्छ । उहाँसँग त हामीले गरिरहेकै छौँ ।
किन, वडाध्यक्षहरुसँग मेयर शाहले सल्लाह गर्नुहुन्न ? कि भेट्नै समस्या भएको हो ?
यो पटक नीति तथा कार्यक्रम उहाँले कोसँग छलफल गर्नुभयो, मलाई थाहा भएन । अरूलाई भेट दिनुभयो कि भएन, मलाई थाहा छैन । मचाहिँ प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न जाँदा उहाँहरुले भेट दिनुभएको छ । गहनरूपमा बसेर छलफल गर्ने समय दिनुभएन होला तर जुन विषयका लागि भेट्न गएको छु, पूर्णरूपले उहाँले भेट दिनुभएको छ । मैले लिएर गएका कार्यक्रमहरू उहाँले बाधा फुकाउनुभएको छ । ३ नम्बर वडा त भाग्यमानी छ । सबैभन्दा धेरै केन्द्रीय र महानगरको बजेट भएको हाम्रो वडा हो । हामी अधिकांश योजनाहरू महानगरकै बजेटमा समावेश भएर अहिले सम्पन्न गर्ने चरणमा छौँ ।
हामी अर्को एउटा सिस्टम के बसाउँदै छौँ भने जतिवटा वडाबाट योजना जान्छ, त्यहाँका स्थानीयको माग, वडा सदस्यको निर्णय र महानगरले कार्यान्वयन गर्ने तहमा गएको छ ।
नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराइसकेपछि मेयरले पुनः वार्तामा बोलाएको सम्पर्क गर्नुभएको छ कि छैन ?
हाम्रो दुई वर्षको अभ्यास कस्तो छ भने हामी संशोधनसहित जुन प्रस्तावका रूपमा आउँछ, त्यसलाई हाम्रो बजेट कमिटी, बजेट कार्यान्वयन तथा संशोधन समितिमा लिएर जान्छौँ । त्यसपछि त्यहाँ टुङ्गिन सकेन भने संयन्त्रमा जान्छ ।
प्रमुख, उपप्रमुख, तीन वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भएर टुङग्याउँछौं र संशोधनसहित पास गर्ने प्रस्ताव छलफल गरेर टुङ्गिन्छ । संशोधन गर्न सकिनेलाई गर्ने र नसकेकोलाई आगामी दिनमा संशोधन गरेर जाने हिसाबले पनि विगतमा प्रयास भएको छ ।
यदि मेयरले संशोधन गर्न मान्नुभएन भने के गर्नुहुन्छ ?
संशोधन गर्न नमान्ने भन्ने कहाँ हुन्छ र ? संयन्त्रका साथीहरू हुनुहुन्छ । उपप्रमुख हुनुहुन्छ । सबैले भनेपछि त मान्नुपर्छ नि ।
त्यो संयन्त्रमा मेयर बालेनको बहुमत छैन ?
बहुमत र अल्पमत भन्ने नै हुँदैन । सिङ्गो नगरसभा भनेको स्वतन्त्र हो । सबैको प्रस्ताव स्वतन्त्रतापूर्वक राख्ने थलो पनि हो । हामीले नचाहिने प्रस्ताव गरेको छैन । नीति तथा कार्यक्रमलाई परिमार्जन गरी अझ विस्तृत बनाऊँ र अझ समृद्ध बनाऊँ ताकि महानगरबासीले प्रत्यक्ष अनुभूति हुने कार्यक्रम आउन् । यसमा संशोधन नहुने भन्ने विषय नै हुँदैन । हामी काम गर्न आएको हो, कसैको शासन खान हो र ?
वडाहरूले काम गरिरहेका छन् भन्नुहुन्छ तर चर्चा त मेयरको मात्र हुन्छ , वडाध्यक्षको किन चर्चा नभएको ?
यो युटुवर, सोसल मिडिया लगायत अन्य मिडियामा होला । नेतृत्व गरेको हिसाबले त प्रमुखजी नै हो । मेयरले लिड गर्नुभएको छ । काम त वडा सदस्यले पनि गर्नु भएको छ । तर नाम वडाध्यक्षको मात्र आउँछ ।
अलिकति हाम्रो गुनासो के छ भने अन्तरवार्ता लिने क्रममा सथानीयहरु जे उहाँका मतदाता हुन्, जो यहाँका घरवाला हुन्, उहाँहरूसँग कुरा गर्दा सत्य विवरण आउँछ । यो काम मिडियाले पनि गरेको छैन । वडाले गरेको राम्रा काममा उहाँहरूले बोल्नुहुन्छ । तर त्यो समाचार सम्प्रेषण हुँदैन । तर, बालेनले गरेको चर्चा हुन्छ ।
म यहाँलाई उदाहरण दिन्छु । बसुन्धरामा ५ तले घर हामीले भत्कायौँ । वडाध्यक्षज्यू तपाई आउनुहोस्, तपाईले लिड गर्नुहोस् भन्यौँ । तर उहाँ स्वास्थ्यको स्थितिले साथ नदिएर आउनुभएन । न्युजहरूमा बसुन्धरामा बालेनको डोजर चल्यो भनिरहनुभएको थियो । तर, त्यहाँ म आफूले नेतृत्व गरिरहेको थिएँ ।
हामीले १.२५ किलोमिटर १० फिटे बाटोलाई २० फिटे बनाइरहेका थियौँ । बिहान ८ देखि बेलुका ४ बजेसम्म काम सक्यौँ । त्यहाँ सबै वडावासीले जयजयकार गर्नुभयो । तर, त्यो न्युज कहिँ आएन । न्युज के पढ्न पाउनुभयो भने बालेनको डोजर चल्यो । यो सम्पूर्ण श्रेय बालेको हो भन्नुभयो । अहिले पनि त्यो बाटोमा गएर हेर्न सक्नुहुन्छ । यो वडासदस्य र अध्यक्षले गरेको हो । वडा समितिले गरेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठविरुद्ध मेयर बालेन्द्र खनिएपछि महानगरमा पनि बालेन्द्रको विरोध हुन थाल्यो । यसमा दलका जनप्रतिनिधिलाई ‘माथिको आदेश’ ले काम गरेको पो हो कि ?
म यहाँको मिडियामार्फत प्रष्ट रूपले के भन्छु भने नेपालको संविधानले नै आफ्नो कार्यक्षेत्र तोकेको छ । संघ, प्रदेश र स्थानीय सरकारको काम कर्तव्य र अधिकार तोकिएको छ । तीन फरक–फरक व्यवस्था नयाँ संविधानले गरेको छ । आफ्नो कार्यक्षेत्रमा नीति ऐनमा रहेर बोल्ने र कार्यान्वयन गर्ने योजना बनाइयो भने पक्कै पनि द्वन्द्व हुँदैन । अरूलाई गाली गर्नु भन्दा आफ्नै तहमा बसेर काम गर्नु बढी प्रभावकारी देखिन्छ ।
संघीय सरकारको मातहतमा प्रदेश सरकार छ । प्रदेश सरकारको मातहत हामी छौँ । यो तीनै तहको सरकार हामी एकअर्कासँग परिपूरक भएकाले आरोप प्रत्यारोप गर्नुभन्दा पनि चित्त नबुझेको कुरा कुन तहमा राख्ने भनेर नीतिगत रुपले जान सकिन्छ । यसलाई मिडियाबाजी गर्नु छैन ।
नेपालको संविधानले नै हामी सबैलाई एउटै सूत्रमा बाँधेको छ । त्यो कारण द्वन्द्व गर्ने र मिडियामा आरोप–प्रत्यारोपण लगाउनुभन्दा आफ्नो काम गर्नुपर्छ । आरोप लगाउन सजिलो छ तर प्रमाणित हुन गाह्रो छ ।
सम्मानित अदालतले प्रमाणित गरेको विषयमा बोल्दा त त्यसले वैधानिकता पाउला । तर, मुद्दा नै नपरेको, अदालतले कुनै फैसला नगरेको विषयमा कसैलाई आरोप लगाएर चोखो बन्नु पनि गलत हो । आगामी दिनमा यस्तो हुनु हुँदैन ।
मेयर शाहले वडाअध्यक्षको क्षेत्राधिकार चाहिँ मिचेकै हो ? कि समन्वय नभएको ?
अरूको वडाको विषयमा मैले धेरै बोल्ने विषय भएन । तर, हाम्रो वडामा अहिले जति हामीले सरकारी जग्गाहरू नेपाल सरकार मातहत ल्याउने संविधानले नै दिएको अधिकार उपयोग गरिरहेका छौँ, त्यसमा सरसल्लाह गरेर, योजना बनाएर नै हामी अगाडि बढिरहेका छौँ ।
अझ यहाँलाई भन्दा अहिले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १६ रोपनी जग्गामध्ये १० रोपनी जग्गा जुन चौधरी ग्रुपले गैरकानुनी लिएको थियो, त्यसलाई नेपाल सरकारको मातहत फिर्ता ल्याएका छौँ । अरू व्यक्तिहरूले सामूहिक रूपमा हडपेका जग्गा पनि हामीले प्रमुखसँग छलफल गरेर, योजना बनाएर नै कार्यान्वयन गरेको हो । त्यसकारण वडा नम्बर ३ को विषयमा भन्दाखेरि हाम्रो प्रमुखजीसँग कार्यान्वयन गर्नुभन्दा अगाडि बसेर छलफल हुन्छ, निर्णय हुन्छ, अनि कार्यान्वयन हुन्छ ।
मेयर बालेन्द्रसँग छलफल गर्न कतिको सहज छ ?
आवश्यकताको सिद्धान्त अनुसार छलफल हुन्छ । हामीलाई आवश्यक पर्छ भने हामी फोन गरेर कहाँ हुनुहुन्छ भनेर बुझ्छौं । कहिले सभागृह हुनुहुन्छ, कहिले काठमाडौं प्लाजा । त्यहाँ हुनुभयो भने हामी सिँधै जान्छौँ । हामीलाई कुनै रोक हुँदैन । सिधै गएर उहाँलाई भेटेर पोइन्टमा कुरा राख्छौँ । योजना बनाउँछौँ र कार्यान्वयन गर्छौं ।
यहाँले त पहिलेका मेयर विद्यासुन्दर शाक्यसँग पनि काम गर्नुभयो । उहाँ र बालेन्द्र शाहमध्ये कोसँग काम गर्न सजिलो ?
अधिकांश काम विद्यासुन्दर शाक्यका पालामा सुरु भएका काम हुन् । जस्तो– यहाँहरुलाई म उदाहरण दिन्छु– सडक पेटीको कलर ब्लक बिछ्याउने काम उहाँकै पालाको हो । सडक बत्तीहरु महानगरको उज्यालो अभियानअन्तर्गत सञ्चालित छ । योभन्दा अगाडि मेयर उज्यालो कार्यक्रम भनेर सञ्चालित थियो । त्यो पनि विद्या सुन्दर शाक्यकै पालामा भएको हो ।
दुई वटा अत्याधुनिक दमकलहरु शाक्यकै पालामा सम्झौता भएर आएका हुन् । यो हरियाली बनाउने, ठुला–ठुला रुखहरू मेयर विद्यासुन्दरकै पालामा सुरु भएको हो । प्रत्येक वडाको सुविधासम्पन्न भवन हुनुपर्छ भनेर विद्यासुन्दर शाक्यकै पालामा थालिएको हो । धेरै कार्यहरू त्यसबेला भएका छन् । अहिले प्रमुखले ती कामहरूको निरन्तरता दिनुभएको छ ।
तर, त्योबेला काम प्रभावकारी भएको थिएन नि ?
पूर्वप्रमुख शाक्य मिडियामा, प्रचामा आउन रुचाउनुहुन्नथ्यो । उहाँ काम गर्ने तर प्रचार धेरै गर्न जरुरी छैन भन्ने स्वाभावको हुनुहुन्र्थो । अहिले हाम्रो प्रमुखजी काम पनि गर्ने, प्रचार पनि गर्ने भन्ने स्वाभावको हुनुहुन्छ ।
अहिलेको राम्रो पक्ष भनेको काठमाडौं सफा भएको छ । धुलोरहित महानगर बनाउने योजनामा छौँ । हामी अहिले विद्यतु प्राधिकरणले बिछ्याएका तारलाई तदारुकता साथ व्यवस्थापन गर्न लागेका छौँ । सडक बत्ती जडान भएको छ । साँच्चिकै मेयर कति शक्तिशाली हुने रहेछ भन्ने कुरा यस पटक प्रमुखजीले देखाउनुभएको छ । हामीलाई पनि अनुभूति भएको छ ।
युटुवमा उचालेको जस्तो देखिन्छ । दलको प्रतिनिधित्व गर्नेहरूलाई दलका नेताको प्रेसर छ । त्यही भएर हिजो उहाँहरूले काम गर्न सक्नु भएन । आज प्रमुख स्वतन्त्र हुनुहुन्छ, काम गर्न सजिलो छ भन्नुहुन्छ
अहिले महानगरलाई माया गर्नेहरु बढेका छन् । हिजो सडक पेटीमा लगाएका बिरुवा उखेलेर फाल्नेहरु थिए । आज उखेल्नु हुँदैन, यसले सुन्दरता बढाउँछ र अक्सिजन पनि दिन्छ भन्ने भएको छ । खोलानाला सफा गर्नेतिर लागेका छौँ । विशेष गरेर मैले प्रतिनिधित्व गर्ने वडा नम्बर ३ को सामाखुशी खोला, जुन करिब ४ किलोमिटर छ, त्यसमा पनि ट्रयाक खोलेर धमाधम ढल बिछ्याउने काम गर्दैछौँ । पुरानो कामको निरन्तरता छ ।
पार्टीको मेयर र स्वतन्त्र मेयरसँग काम गर्दा फरक हुने रहेछ ?
त्यस्तै छैन । युटुवमा उचालेको जस्तो देखिन्छ । दलको प्रतिनिधित्व गर्नेहरूलाई दलका नेताको प्रेसर छ । त्यही भएर हिजो उहाँहरूले काम गर्न सक्नु भएन । आज प्रमुख स्वतन्त्र हुनुहुन्छ, काम गर्न सजिलो छ भन्नुहुन्छ । म त विगत लामो समयदेखि निर्वाचित प्रतिनिधि हो । कुनै दल र नेताहरूको प्रेसर छैन ।
अब काठमाडौं महानगरलाई राम्रो बनाउन के गर्नुपर्छ ?
हिजो निर्वाचनमा हामीले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्छौं भनेका थियौँ । अहिले पनि हामी प्राइभेट कम्पनीहरूकै भर परिरहेका छौँ । पहिले फोहोरको व्यवस्थापन हुनुपर्थ्यो । संसारमा अत्याधुनिक टेक्नोलोजी आइसक्यो । म स्वयं पनि मित्रराष्ट्र भारत र चीनको फोहोरमैला व्यवस्थापन गर्ने प्लान्ट हेरेर आएको छु । त्यति आधुनिक र व्यवस्थित थोरै समयमा पनि सम्पन्न गर्न सक्छौँ ।
त्यसकारण पहिलो भनेको काठमाडौं महानगरपालिकाको फोहोर समाधान गर्नुपर्छ जस्तो लाग्छ । अर्को, हामीले धुलोरहित महानगर भनेका छौँ । बिग्रेको बाटो पिच गर्ने, ब्लक बिछ्याउने कार्यले भित्री बाटाहरूलाई थप सुन्दरता दिन्छ जस्तो लाग्छ ।
अर्को कुरा, वातावरणीय हिसाबले महानगरमा प्लेनबाट हेर्दा पनि भव्य गगनचम्बी भवनको खण्ड देखिन्छ, हरियाली देखिँदैन । हरियालीमा पनि जोड दिनुपर्छ । ज्येष्ठ नागरिकहरूलाई जमघट हुने र अनुभव सेयर गर्ने पार्क, युवालाई खेलकुदका मैदानहरू पनि बनाउनुपर्छ । बालबालिकाहरूलाई ठाउँ ठाउँमा सार्वजनिक जग्गामा पार्क बनाउन सक्नुपर्छ ।
सम्पदा र मठ मन्दिरलाई नेपाली कला संस्कृति झल्कने बनाउन सकिन्छ । सुरक्षाका हिसाबले सबैतिर सीसी क्यामेरा जडान गर्न सकियो भने काठमाडौँलाई काठमाडौँजस्तै पहिचान दिने बनाउन सक्छौँ । मैलिकता झल्काउँदै वडा र महानगरमा सुशासनको प्रत्याभूति दिन सक्छौँ । वडावासीहरु सेवा लिन आउँदा ढुक्कसँग आउन सक्नु हुन्छ । सबै हिसाबमा सहज हुन्छ ।
यी सबै कुराहरू गर्न महानगरका मेयर र वडाध्यक्षको सम्बन्ध कस्तो हुनुपर्ला ?
प्रमुखजीले पहिलो बैठकमै राख्नुभएको कुरा सान्दर्भिक छ । हामीले पाँच वर्षमा के–के काम गर्ने भनेर वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाउँछौँ । हामीले पाँच वर्षको नीति तथा कार्यक्रम र बजेट बनाएका छौँ । हिजो विद्यासुन्दर शाक्यका पालामा रहेको १५ अर्बको सञ्चित रकम छ । अहिले पनि सञ्चित नै छ । त्यही रकमका आधारमा हामी ठूलोखालको बजेट बनाएर अगाडि बढेका छौँ ।
अझै विकासतर्फ ३१ प्रतिशत, साधारणतर्फ ४६ प्रतिशतको हाराहारीमा छौँ । अब यसले पनि हामी सफल छौँ कि असफल छौँ र हामी कहाँ कहाँ चुकेका छौँ, अझ सुधार कहाँ कहाँ गर्नुपर्छ भन्ने पनि देखिन्छ । प्रमुखजीले पाँच वर्षको हामीले जुन योजना बनाएका छौँ, त्यही योजना र नीति तथा कार्यक्रमभित्र रहेर हामीसँग संवाद र सहकार्य गर्नुपर्छ । यसमा उहाँको सचिवालयको हस्तक्षेप हुनुभएन ।
विज्ञहरू जबरजस्त सँग लाद्ने परिपाटी छ । त्यो परिपाटी पनि उहाँले अन्त्य गर्नुपर् यो । योजना बनाउँदा हाम्रो टोलटोलमा गएर वडाबासी र स्थानीयहरूसँग छलफल गर्नुपर् यो । त्यहाँबाट योजना ल्याएर उहाँको तर्फबाट कार्यान्वयन गर्नुपर्छ । योसँगै ठूला योजना महानगरस्तरको बजेटमा समावेश गर्न सक्यौँ भने समृद्ध महानगर बनाउने अभियानमा सफलता मिल्छ ।