सन् १९४५ को डिसेम्बर ५ को मध्यान्ह फोर्ट लोडेरडेलबाट एकैपटक पाँच जहाज समूहमै रहेर उड्ने योजना मुताबिक उडेका थिए। ती जहाजमा १, १ मुख्य पाइलट र ९ चालक दलका सदस्य थिए। उडाइएका जहाज बमबाहक टबीएम ३ एभेन्जर नामले परिचित थिए। र, सबैले हजार माइलसम्मको उडान भर्नका लागि आवश्यक इन्धन बोकेका थिए। विमान उड्दाको तापक्रम ६५ डिग्री सेल्सियस थियो। घाम एक टकले लागिरहेको थियो। बादल केही ठाउँमा छरिएको अवस्थामा थियो। उत्तरपूर्वी हावा मध्यस्तरको थियो। त्यही दिन उडान भरेका अन्य विमान चालकले मौसम अत्यन्तै राम्रो रहेको बताएका थिए।
यो विशेष अभियान अन्तर्गत उडान भर्ने समय दुई घण्टा तोकिएको थियो। यी जहाजले ठीक २ बजे विमानस्थल छोडे। दश मिनेटभित्र जहाजले आवश्यक उचाइ लिइसकेका थिए। जीवनमा २५ हजार घण्टा हावामा बिताइसकेका लेफ्टिनेन्ट चाल्र्स टेलरले सम्पूर्ण विमानको कमाण्ड लिएका थिए। चाल्र्सले विमानलाई चिकेन सोल्सतर्फ लगे। विमानका पाइलट, चालक दलका अरु सदस्य आआफ्नो क्षेत्रमा अनुभवी थिए।
त्यो उडानमा कुनै असामान्य घटना होला भनेर कल्पना गर्नु बेकार थियो। तर, नसोचेकै भयो। करिब ३:१५ बजेको थियो। परीक्षणको रुपमा बम खसाल्ने कार्य सम्पन्न भइसकेको थियो। विमान पूर्वतर्फ हानिइसकेका थिए। फोर्ट लौडेरडेल न्याभेल एयर स्टेशन टावरको रेडियोम्यान जहाज कतिबेला ओर्लदैछन् भन्ने समय तथा ओर्लनका लागि आवश्यक सूचना दिन पर्खेर बसेका थिए। तर, त्यस्तो सूचना पाउनुको सट्टा उडान नेतृत्वबाट अत्यन्तै अस्वाभाविक सन्देश प्राप्त भयो। जहाजको ककपिट र टावरको संवाद यस्तो थियो- क्याप्टेन : टावर..टावर। अत्यन्तै इमरर्जेन्सी। यस्तो लाग्छ हामीले बाटो बिराएका छौं। हामी जमिन देख्न सकिरहेका छैनौं। …फेरि हामी जमिन देख्न सक्दैनौं। टावर : तपाईंको स्थिति कस्तो छ ? क्याप्टेन : हामी हाम्रो स्थितिबारे निश्चित छैनौं। अहिले कहाँ छौं भन्ने नै हामीलाई थाहा छैन…हामी हराए जस्तो छ। टावर : पश्चिमतर्फको रुट पछ्याउनुस्। क्याप्टेन : हामीलाई पश्चिमको बाटो कुन हो भन्ने नै थाहा छैन। हरेक कुरा बिग्रिएको छ। कुनै पनि दिशाबारे हामी निश्चित हुन सकेका छैनौं। …यहाँसम्म कि समुद्र पनि जस्तो देखिनुपर्ने हो, त्यस्तो देखिएको छैन। फोर्ट लौडेरडेलस्थित वरिष्ठ उडान प्रशिक्षकले आफ्नो रेडियोमा कसैले बत्ती, बत्ती भनेर कराइरहेको सुने। उडानमै रहेका मध्ये एक जनाले यस्तो भनिरहेको थियो– ‘हामी कहाँ छौं, मलाई थाहा छैन। पक्का पनि हामी त्यो अन्तिम घुम्तीपछि हराएका छौं।’ जसोतसो ती वरिष्ठ प्रशिक्षक त्यो उडान- १९ संग सम्बन्ध स्थापित गर्न सक्षम भए।
उनले जवाफ पाए- ‘मेरो दुवै कम्पासहरु काम नलाग्ने भएका छन्। म फोर्ट लौडेरडेललाई पत्ता लगाउने कोशिस गरिरहेको छु….म मुख्य स्थानमै छु… तर मलाई थाहा छैन तल ओर्लन कति सम्भव छ…।’ त्यसपछि प्रशिक्षकले उत्तरतर्फ उड्न भने। तर उनले जवाफ पाए– हामीहरु भर्खरै एउटा सानो टापुमाथि उड्यौ… अरु जमिन त देखिदै देखिदैन….’ यसखाले जवाफबाट के संकेत मिल्दथ्यो भने सम्पूर्ण उडानले बाटो बिराएको छ र जहाज नियन्त्रण बाहिर छ।
अब त उडान– १९ बाट प्राप्त सन्देश सुन्न पनि त्यहाँबाट आउने होहल्लाले अप्ठेरो भइरहेको थियो। यस्तो लाग्थ्यो– उडान १९ मा त टावरबाट गएको सन्देश सुनिदै सुनिदैन। तर टावरमा चाहिँ विमानभित्र भइरहेका संवाद सुनिन्थ्यो। कुनै कुनै सन्देशमा इन्धन सकिन लागेको …७५ माइलका लागि मात्र इन्धन रहेको ….७५ माइलप्रति घण्टा हावा बहिरहेको जस्ता संवाद रेकर्ड भएको थियो।
चुम्बकीय कम्पासहरु बिल्कुलै अनौठो अवस्थामा पुगेका, एकछिन अघि एउटा दिशा देखाएको कम्पासले एकछिन पछि अर्कै दिशा देखाउने गरेका जस्ता सन्देश पनि सुनिन्थ्यो। यो सबै घटना होउन्जेल पनि फोर्ट लोडेरडेलमा रहेको शक्तिशाली ट्रान्समिटर उडान- १९ मा सम्बन्ध स्थापना गर्न अक्षम रह्यो। तर विमानभित्र भएका कुराकानी भने रेडियो ट्रान्जिस्टरमा स्पष्ट सुनिन्थ्यो।
अब यो समाचार सनसनीपूर्ण ढंगले फैलिसकेको थियो। त्यस्तो अनौठो घटनाबारे विभिन्न अन्दाज लगाउन सुरु गरियो। कसैले शत्रुले विमान आक्रमण गरेको सुझाए। यद्यपि दोस्रो विश्वयुद्ध सकिएको महिनौं भइसकेको थियो। उद्धारका लागि जहाज पठाइयो। एउटा मार्टिन मेर्रिनर विमान १३ जना चालक दल लिएर बनाना रियर नेभल स्टेशनबाट छुट्यो।
चुम्बकीय कम्पासहरु बिल्कुलै अनौठो अवस्थामा पुगेका, एकछिन अघि एउटा दिशा देखाएको कम्पासले एकछिन पछि अर्कै दिशा देखाउने गरेका जस्ता सन्देश पनि सुनिन्थ्यो।
ठीक ४ बजे टावरमा अचानक सुनियो– लेफ्टिनेन्ट टेलरको उद्धार गर्न गएको म्यारिनका पाइलट, क्याप्टेन सिटमरसंग कुरा गरे। अस्वाभाविक होहल्ला र असामान्य परिस्थितिका कारण सन्देशहरु राम्रोसंग सुनिदैनथ्यो। लेफ्टिनेन्ट टेलर भन्दै थिए- ‘हामी कहाँ छौं भन्ने निश्चित छैन…हामीलाई लाग्छ हामी हवाई अड्डाभन्दा २२५ माइल उत्तरपूर्व छौं….हामीले फ्लोरिडा पनि काटिसकेको हुनुपर्छ र हामी मेक्सिको खाडीमा भएको हुनुपर्छ…’ त्यसपछि के अनुमान गरियो भने उडानका नेताले विमान हिँडिरेहेको दिशाबाट ठ्याक्कै १८० डिग्री मोडिन आदेश दिए पुनः फ्लोरिडा नै फर्कन। तर, जब तिनीहरुले जहाज मोडे, तब वार्ता भंग हुन थाल्यो। यसबाट उनीहरुले गलत बाटो पक्रिएको पुष्टि हुन्थ्यो।
केही रिपोर्टहरुको दाबीअनुसार उडान- १९ बाट आएका अन्तिम वाक्य यस्ता थिए- ‘यस्तो लाग्छ हामी… टल्किने सेतो पानीभित्र पस्यौं, …. हामी गएको म्यारिनर, कसैबाट पनि कुनै प्रकारको सन्देश आउन छोड्यो।’ ७ बजेको केही क्षणपछि अमेरिकाकै मायामीस्थित ओया लोक्का न्याभल एयर स्टेशनमा अनौठो सन्देश सुनियो ‘एफटी.. एफटी’ यो सन्देश उडान- १९ बाट आएको थियो। प्रशिक्षकको विमानको नाम एफटी-२८ थियो। यदि यो सन्देश हराएकै विमान मध्यबाट आएको थियो भने के भन्न करै लाग्छ भने ती विमान इन्धन सकिने भनेर आशंका गरिएको समयभन्दा दुई घण्टापछि सम्म पनि उडिरहेका थिए।
अँध्यारोका कारण त्यो दिन खोजी कार्य रोकियो। यद्यपि कोष्टकार्डका निरीक्षकहरुले त जीवित भेटिने आशामा राति पनि खोजी कार्य यथावत राखेका थिए। दोस्रो दिन बिहीबार झिसमिसमै व्यापक खोजी कार्य सुरु गरियो। तर इतिहासमै सबैभन्दा ठूलो खोजी अभियानका बाबजुद् हात लाग्यो शून्य। केही भेटिएन। यो खोजी कार्यमा २ सय ४० जहाज र हवाइजहाज बोक्ने जहाज सोलोमोनसबाट थप ६७ विमान प्रयोग गरिएका थिए। यस्तै कयौं सवम्यारिन्स, १८ वटा कोष्ट गार्ड, ओसल, सयौं निजी विमान, डुंगा परिचालन गरिएका थिए। यो इतिहासमै सर्वाधिक ठूलो खोजी अभियान थियो। जुन निरर्थक सिद्ध भयो।
दैनिक औसत १ सय ६७ वटा जहाज पानीको सतहभन्दा ३ सय फिट माथि अहोरात्र खोजीमा जुट्थे। एटलान्टिक, क्यारेवियन, मेक्सिको खाडी, फ्लोरिडाको मुख्य मुख्य भाग र अन्य छिमेकी टापुको तीन लाख ८० हजार वर्ग माइल क्षेत्रमा खोजी कार्य तीब्र बनाइयो। जहाजको सहयोगमा ४१ सय घण्टा खोजी गरियो। न विमान भेटियो, न विमानका टुक्रा नै। न त इन्धन चुहिएको कुनै संकेत फेला पर्यो। फ्लोरिडा र बाहामाजका किनारमा त दैनिक हप्तौंसम्म खोजी गरियो। अहँ, केही फेला परेन। संभाव्य सबै स्थानमा खोजियो, भए सम्मका सबै उपाय अपनाइयो, प्राप्त सबै साधनको उपयोग गरियो। एउटा व्यापारिक उडानमा रहेको विमानले जमिनमाथि रातो टुक्रा देखेको सूचना दियो। त्यो टुक्रा मार्टिन म्यारिनरको भएको अनुमान गरियो। अन्ततः प्रमाणित हुन सकेन। हराएका पाँच जहाज रहस्यकै गर्भमा बिलाए।
बर्मुडामा जहाज हराउन थालेपछि त्यो हराउने क्रमको अध्ययन गर्नेहरु के निष्कर्षमा पुगे भने पर्यटक आउने पीक सिजनमा बढी जहाज हराउने गर्छन्।
यसैगरी सन् १९४७ को जुलाई ३ मा यूएस आर्मी सी- ५४ नामको लडाकु जहाज सहित चालक दलका ६ सदस्य एउटा नियमित उडान अन्तर्गत बर्मुडाबाट पाल्म बीचस्थित मोरिसन आर्मी एयर फिल्डमा जान उडिरहेको थियो। तर विमान आउने भनिएको स्थानमा जहाज पुगेन, बीचैमा हरायो। एक लाख वर्गकिलोमिटरको क्षेत्र वरपर खोज कार्य सञ्चालन गरियो। हात लाग्यो शून्य।
बर्मुडामा जहाज हराउन थालेपछि त्यो हराउने क्रमको अध्ययन गर्नेहरु के निष्कर्षमा पुगे भने पर्यटक आउने पीक सिजनमा बढी जहाज हराउने गर्छन। विशेष गरी नोभेम्बरदेखि फेब्रुअरीको बीचमा। सन् १९४८ को जनवरी २९ मा पनि एउटा सैन्य विमान हरायो। बेलायतको यो विमानले यात्रु पनि बोकेको थियो। हराउँदा बखत विमानमा चालक दलका ६ र यात्रुहरु २६ जना सवार थिए। दोस्रो विश्वयुद्धमा बेलायतका सेनाको हवाई मार्शलको नेतृत्व गर्ने सर आर्यर कन्निङघाम पनि यसै उडानमा यात्रारत थिए। ‘स्टार टाईगर’ नाम दिइएको त्यो जहाजले योजना मुताविक बर्मुडास्थित किन्ड्रली फिल्डमा ओर्लनु पर्ने थियो। ओर्लनका लागि अनुमान गरिएको समयभन्दा केहिबेर अघि अर्थात राति साढे १० बजे पाइलटले कन्ट्रोल टावरलाई सन्देश दिए- ‘वातावरण अत्यन्तै राम्रो छ, सबै कुरा ठिकठाक छ, निर्धारित समयमै हामी त्यहाँ आइपुग्ने छौं।’
यसपछि अरु कुनै सन्देश आएन र स्टार टाईगर पनि आएन कहिल्यै आएन। कुनै प्रकारको आपतकालीन सन्देश पनि कन्ट्रोल टावरमा आएन। विमानले राम्रोसंग काम नगरको कुराको संकेत पनि आएन। भोलिपल्ट ३० जनवरीका दिन खोज्ने र बचाउने अभियान थालियो। ३० वटा विमान र १० वटा जहाजले कैयौं दिनसम्म खोजे, न जहाजको भग्नावशेष भेटियो, न यात्रु। खोजी कार्य यथावत नै रहँदा कतिपय रेडियो अपरेटरहरुले एउटा अनौठो कोड नम्बरबाट कसैले कसैलाई सन्देश दिइरहेको सुने। मोर्स कोडबाट भएको त्यो संवादमा टाईगरको कुरा गरिएको बुझियो। न्यू फाउण्डल्याण्डस्थित कोस्ट गार्ड स्टेशनमा गरिएको एउटा रेकर्ड सुन्दा त यस्तो लाग्थ्यो कसैले अंग्रेजी अक्षर जी, ए, एच, एन, पी उच्चारण गर्दै थियो। यी अक्षर हराएको स्टार टाईगरका कोड अक्षर थिए। यो सन्देश र उडान १९ हराएपछि मायामीमा सुनिएको सन्देश समान प्रकृतिका थिए।
बेलायतका नागरिक उड्डयन मन्त्री लर्ड म्याकमिलानको संयोजकत्वमा अनुसन्धान समूह गठन गरे। त्यो समूहले एक महिनापछि रिपोर्ट दियो। रिपोर्टमा विमान समुद्रमा खसेको कुरालाई विश्वास गर्ने आधार नै नभएको उल्लेख थियो। रिपोर्टमा भनिएको थियो- स्टार टाईगर विमान निर्माण गर्दा पनि त्यसमा कुनै प्राविधिक त्रुटि थिएन, सबै कुरा ठिकठाक थियो। चालकले ओर्लने ठाउँ नदेखेको भन्ने कुरालाई पत्याउने पनि आधार भेटिदैन।’
एउटा अनौठो र झन बढी निराशाजनक अर्को एउटा घटनामा स्टार टाईगर हराएको वर्ष दिन पुग्न ठीक एकदिन अघि त्यसकै बहिनी जहाज स्टार एरियल पनि चालक दलका सात र १३ जना यात्रु लिएर उडिरहेको बेला हरायो। जहाज सन् १९४९ जनवरी १७ मा बर्मुडाबाट जमैकाका लागि उडिरहेको थियो। जहाजले ७.४५ बजे बर्मुडा छोडेको थियो। त्यतिबेला समुद्र शान्त थियो, वातावरण राम्रो थियो। क्याप्टेनले विमान उडेको ५५ मिनेटपछि यस्तो सन्देश पठाएका थिए- ‘म उडिरहेको एरियलको क्याप्टेन म्याक्की बोलिरहेको छु। बर्मुडाबाट जमैकाको किङस्टन जाने क्रममा हामीले उचाई लिएका छौं। वातावरण राम्रो छ। किङगस्टनमा हामी योजना मुताविककै समयमा पुग्नेछौं। र, म किङगस्टनसंग सम्पर्क गर्नका लागि रेडियो फ्रिक्वेन्सी बदल्न गइरहेको छु।’
यो त्रिकोणमा माथि उल्लेख गरिएका विमान एकैपटक हराउनु अघि र पछि पनि त्यति ठूलो संख्यामा विमान हराएका छैनन् ।
अब चाहिँ स्टार एरियलबाट कुनै पनि सन्देश आएन, कहिल्यै आएन। बेलायती विमानका अलावा स्टार एरियललाई खोज्ने काममा अमेरिकी विमान तथा लडाकु जहाज पनि सामेल भए। अरु त अरु व्यापारिक यात्रामा रहेका जहाज पनि खोजी अभियानमा सहभागी भए। खोजीमा रहेका सम्पूर्ण जहाजमा अनायास एउटा यस्तो रेडियो सन्देश आयो- ‘ब्रिटिस साउथ अमेरिकन एयरवेजको चार इन्जिन भएको हवाइजहाज स्टार एरियल जो बर्मुडाबाट १७ जनवरी १२४२ जीएमटी (ग्रीनवीच मिन टाईम) जमैकाका लागि २१६ डिग्रीको ट्रयाकमा प्रस्थान गरेको थियो। बर्मुडाबाट झण्डै १५ माइल टाढा १७ जनवरी १३३७ जीएमटीमा सुनिएको थियो…।’
७२ वटा उद्धार विमानले एकसाथ काम गरिरहेका थिए। १५ लाख वर्गकिलोमिटर समुद्र वरिपरिको भूभागमा खोजी गरियो। एउटा सानो चिन्हसम्म पनि भेटिएन। स्टार दिदीबहिनी जहाज हराउनु केही समयअघि अर्थात सन् १९४८ को डिसेम्बर २८ मा एउटा चार्टर डिसी ३ विमान सान जुवानबाट मायामीतर्फ गइरहेको बेला हराएको थियो। त्यो विमानमा ३६ यात्रु र चालक दल थिए। यो विमान त झन आश्चर्यजनक रुपमा हराएको थियो। यो उड्दा पनि वातावरण राम्रो थियो। डिसेम्बर २७ राति १० बजे यो विमान उडेको थियो। राति उडिरहेका बेला विमानका क्याप्टेन रोबर्ट लिन्क्विस्टले रेडियोमा सुने- ‘तिमीलाई के थाहा छ ? किन हामी सबैजना क्रिसमसको गीत गाइरहेका छौं ?’
डीसी ३ बाट आएको अर्को सन्देश मायामी टावरमा बिहान ४:१३ बजे सुनियो। जुन सन्देश यस्तो थियो- ‘हामी गन्तव्यमा आउन लाग्यौं। सिर्फ दक्षिणमा ५० माइल छ …हामी मायामीमा बिजुलीको प्रकाश देख्न सक्छौं….सबै कुरा ठीक छ….ओर्लने निर्देशन दिन तयार भएर बस्नुहोला…।’ त्यसरी ओर्लन ठीक्क परेको जहाज कहिल्यै आएन। खोजी गर्दा विमानको कुनै चिनोबानो भेटिएन।
वास्तवमा सन् १९४५ को डिसेम्बर ५ मा ६ वटा विमान तथा तिनका चालक दलका सदस्य यो क्षेत्रमा हराएपछि मात्रै बर्मुडा त्रिकोणले आफ्नो यो नाम पाएको हो। ती विमान अमेरिकाको फ्लोरिडा शहरस्थित फोर्ट लौडरडेलको नेभल एयर स्टेशनबाट नियमित प्रशिक्षण उडान सञ्चालन गरिरहेका थिए। त्यसो त बर्मुडाको नाम यति मात्रै होइन। विमान रहस्यमयी ढंगले हराउन थालेपछि यसलाई राक्षसको त्रिकोण, दी ट्रीङगल अफ डेथ, दी होडो सी, दी ग्रेभयार्ड अफ एटलान्टिक लगायत अन्य कयौं नामले यो स्थानलाई चिनिन्छ।
यो स्थलको भौगोलिक स्थिति त्रिकोणात्मक भएकाले नै यसले त्रिकोणको नाम पाएको हो। यो त्रिकोणमा माथि उल्लेख गरिएका विमान एकैपटक हराउनु अघि र पछि पनि त्यति ठूलो संख्यामा विमान हराएका छैनन। यो नै अहिलेसम्मको एक मात्र सबैभन्दा ठूलो घटना हो। ती ५ वटा विमान हराउँदा तिनलाई बचाउन गएको अर्को विमान पनि बचाउ गर्ने क्रममै हराएको थियो।