राजनीति

रास्वपाको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल

By खबरहब

July 28, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफैं आधिकारिक महामन्त्री रहेको दाबीसहित निर्वाचन आयोग गुहारेका छन् ।

आइतबार निर्वाचन आयोगमा निवेदन दिँदै ढकालले आफूलाई रास्वपाले कारबाही गर्न नसक्ने जिकिर गरेका हुन् ।

२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट बर्खास्त गरेर साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।

‘मैले पदमुक्त भएको पत्र आजसम्म पार्टीबाट प्राप्त गरेको छैन’, निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने अवैधानिक हो । त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३ दिनभित्र अद्यावधिक गर्न आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्न मागसहित यो पत्र माननीयज्यूसामु पेश गरेको छु ।’

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय गरेको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालले जिकिर गरेका छन् ।

तर पार्टीले कारबाही गरेपछि ढकालले सञ्चारमाध्यममा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिव वाग्लेविरुद्ध तिखा र गम्भीर टिप्पणी गरेका छन् । त्यसले पार्टीमा उनको पुनरागमन करिब समाप्त भएको चर्चाबीच आयोगमा निवेदन परेको हो ।