अन्तर्राष्ट्रिय

बंगलादेशमा पुनः आन्दोलन गर्ने विद्यार्थीहरूको चेतावनी

By खबरहब

July 28, 2024

ढाका– बंगलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने  चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्यांकअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो ।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यू) आदेश लागू भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ का सदस्यले निजामती सेवा भर्ती नियमहरूकोविरूद्ध अभियान चलाएका थिए । यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन् ।

‘समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,’ अब्दुल हन्नान मसुदले भने ।

मसुदले आफू अधिकारीहरूबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन् ।

उनले अगाडि भने, “प्रशासनले अझै पनि विद्यार्थीको मागलाई वेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्यार्थी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछन् ।