समाचार

पर्यटनमन्त्रीको जवाफ : जहाज पुरानो हुँदैन, नियमित परीक्षण र मर्मत चाहिन्छ

By खबरहब

July 28, 2024

काठमाडौं– यही साउन ९ गते बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले संसद्लाई जानकारी दिएका छन् ।

आइतबार बसेको संसद् बैठकमा उक्त घटनाबारे जवाफ दिँदै पाण्डेले निष्पक्ष छानबिनका लागि जाँचबुझ आयोग बनिसकेको उल्लेख गरे ।

उनले उक्त दुर्घटनामा ज्यान गुमाएकामध्ये सबै १७ नेपालीका परिवारले शव बुझिसकेको बताए । यमनी नागरिकको मात्रै शव बुझ्न बाँकी रहेको उनले उल्लेख गरे ।

यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकोले नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको उनले बताए । सबै यात्रुको शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले ब्यहोरेको पनि उनले बताए ।

उनले अहिले सर्वसाधारणले अनुमानका आधारमा चर्चा गरे जस्तो वायुयान आफैं पुरानो नहुने बताए ।

‘वायुयान आफैं पुरानो हुँदैन, नियमित परीक्षण र मर्मत सम्भार भएपश्चात नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा मात्र उडान सञ्चालन हुने गर्छ’, उनले जवाफका क्रममा भने ।

मन्त्री पाण्डेको भनाइ जस्ताको  तस्तै

प्रारम्भिक विवरण :

मिति २०८०।४।९ का दिन काठमाडौंबाट पोखराका लागि नियमित सी चेक उडानको क्रममा सौर्य एयरलाइन्सको सीआरजे–२००, नाइनएन–एएमई वायुयानमा १९ जना सवार (चालक दल २ जना)सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उड्दा सामान्य अवस्थामा बायाँ मोडिँदै पश्चिमतिर उड्नुपर्नेमा, उक्त वायुयान उड्नेबित्तिकै धावनमार्गबाट दाहिने मोडिन गई विमानस्थलको पूर्वतिर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी १८ जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त उडानका क्याप्टेन गम्भीर घाइते भई हाल काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकबाट प्राप्त भएको छ ।

हालसम्म विदेशी यमनी नागरिकबाहेक मृतकका सबै परिवारहरुले शव बुझेको अवस्था रहेको छ । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकोले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको छ । शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सबाट भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनुभएका सम्पूर्णप्रति मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्वाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइते चालक दलका सदस्य क्याप्टेन मनिष शाक्यज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

दुर्घटना जाँचबुझ :

नेपाल सरकार मन्त्रिपरिषद्को साउन ९ गते बेलुका बसेको बैठकले पाँच सदस्य रहेको दुर्घटना जाँच आयोग गठन गरेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को एनेक्स १३ को प्रावधान तथा गैह्रसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को व्यवस्था बमोजिम कार्य सुरु गरेको छ । आयोगले दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेको छ । यसका साथै ककपिट भोइस रेकर्डर (सीभीआर)र फ्लाइट डाटा रेकर्डर (एफडीआर) संकलन गरी डाटा रिडआउट, डाउनलोड र एनालिसिका लागि तयारी गरिरहेको छ ।

बीमासम्बन्धी व्यवस्था :

सी–चेक उडानका क्रममा भएको दुर्घटनाको बीमा व्यवस्था सम्बन्धित वायुसेवा संस्थाले खरिद गरेको बीमा नीतिअनुसार नै हुने भएको छ ।

सौर्य एयरलाइन्स प्रालिको दुर्घटनासम्बन्धी ‘एभियसन हल एन्ड स्पेयर्स’ अलरिस्क्स, एभियसन लियाबिलिटी, पर्सनल एक्सिडेन्ट एन्ड हल वार इन्स्योरेन्स (इन्स्योरेन्स पोलिसी) प्रभु इन्स्योरेन्स प्रालिमा रहेको छ ।

यस इन्स्योरेन्स पोलिसीका अतिरक्त एयरलाइन्सबाट सात लाख रुपैयाँ बराबरको सामाजिक सुरक्षा कोषसमेत बिमा रहेको जानकारी प्राप्त भएको छ ।

सौर्य एयरलाइन्स प्रालिबाट मृतकका परिवारलाई थप सुविधा व्यवस्था गर्न मन्त्रालयमा उक्त एयरलाइन्सका अध्यक्षसँग छलफल भएको छ ।

सौर्य एयरलाइन्स प्रालिका तर्फबाट परिवारका सदस्यहरुलाई दक्षता र योग्यता बमोजिमको रोजगारीको प्रतिबद्धता भएको छ ।

प्रभु इन्स्योरेन्स प्रालिमा गरिएको बिमा बेलायतको लोयाड्स एसडीकेजीएल रि–इन्स्योरेन्सका रुपमा रहेको छ ।

उक्त कम्पनीका प्रतिनिधिसँग छलफलपश्चात बीमा रकमको निक्यौल हुने छ । बीमा रकम हस्तान्तरण सहज तरिकाले यशाशीघ्र सम्पन्न गर्न सौर्य एयरलाइन्स प्रालिलाई निर्देशन गरिएको छ ।

वायुयान पूरानो हुनेबारे :

वायुयान आफैँ पुरानो नहुने, नियमित परीक्षण र मर्मत सम्भार भएपश्चात नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा मात्रै उडान सञ्चालन हुने व्यवस्था छ ।