तस्बिर : रोयटर्स

अन्तर्राष्ट्रिय

इरानका सर्वोच्च नेताले गरे पेजेस्कियनलाई आधिकारिक समर्थन

By खबरहब

July 28, 2024

तेहरान– इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा मसूद पेजेस्कियनलाई आइतबार आधिकारिक समर्थन गरेका छन् ।

‘म बुद्धिमान, इमानदार, लोकप्रिय र विद्वान श्री पेजेस्कियनलाई समर्थन गर्दछु  र उहाँलाई इस्लामिक गणतन्त्र इरानको राष्ट्रपतिको रूपमा नियुक्त गर्दैछु’, खामेनीको कार्यालयबाट जारी गरिएको सन्देशमार्फत उनले भने । 

इरानमा ‘सुधारवादी’ मानिने नयाँ राष्ट्रपतिले मंगलबार संसद्‌मा शपथ लिने छन् ।

वरिष्ठ इरानी अधिकारी र विदेशी कूटनीतिज्ञको उपस्थितिमा राजधानी तेहरानमा अनुमोदन समारोह आयोजना गरिएको थियो । चरम गर्मीका कारण आइतबार राष्ट्रव्यापी रूपमा ब्यांकलगायत अधिकांश सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो । 

गत मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि आयोजित निर्वाचनमा ६९ वर्षीया पेजेस्कियनले जुलाई ५  मा अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरुद्ध चुनाव जितेका थिए ।

कार्यक्रमपछि कार्यवाहक राष्ट्रपति मोहम्मद मोखबरले पेजेस्कियनलाई आधिकारिक जिम्मेवारी हस्तान्तरण गरेका थिए ।