राजनीति

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक : शंकर पोखरेल

By खबरहब

July 28, 2024

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिया राजनीतिक पार्टी आवश्यक रहेको बताएका छन् ।

एमाले प्रवेश गरेका नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापालाई आइतबार पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्दै पोखरेलले धेरै पार्टी हुँदा कुनै पनि एउटा दललाई बहुमत प्राप्त नहुने र देश अस्थिरता तर्फ जाने बताएका हुन् । देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न र देशमा नै अवसर सिर्जना गर्न धेरै पार्टी होइन बलिया पार्टी चाहिएको बताए ।

एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्न सबै राष्ट्रवादी र प्रगतिशील शक्तिलाई एमालेमा समावेश गर्नुपर्नेमा उनले जोड दिए । साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी २०८४ को निर्वाचनमा एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने अवस्थामा पुर्‍याउने गरी लाग्नु पर्ने उनको भनाइ छ ।

पोखरेलले ६÷६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताए । त्यसैले देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनको धारणा छ । राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबिच प्रतिस्पर्धाको वातावरण बनाउनु पर्ने उनको भनाई छ ।