राजनीति

योगेशले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न सभामुखको निर्देशन

By खबरहब

August 28, 2024

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबारको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दबारे छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

बुधबारको बैठकमा सांसद भट्टराईले माओवादीप्रति आक्रमक हुँदै ‘हिंसा’का कारण मुलुकमा विद्युत उत्पादन नभएको बताएका थिए ।

उनले माओवादीले ठाउँ ठाउँमा जलविद्युत् व्यवसायीमाथि चन्दा आतंक र लुटपाट हुँदा २०६३ मै लोडसेडिङ मुक्त हुने देशले २०७५ सालसम्म कुर्नुपरेको बताएका थिए ।

त्यसपछि माओवादी केन्द्रका सांसदहरू माधव सापकोटा र देवेन्द्र पौडेलसहितले नियमापत्ति जनाए

माओवादीको विरोधपछि सभामुख घिमिरेले भट्टराईले बोलेको ‘हिंसा’ शब्दबारे छानबिनका लागि संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

सभामुखको निर्देशनपछि एमाले सांसद भट्टराई र रघुजी पन्तलले माओवादीको जनयुद्धलाई ‘हिंसा’ नै भन्दै संसद्‍मा बोल्न पाइने बताए ।

त्यसमा पनि माओवादी सांसदहरूले विरोध गरेपछि उक्त शब्दबारे यसअघि नै निर्देशन दिइसकेको भन्दै सभामुख घिमिरेले नियमित प्रक्रियामा फर्किन आग्रह गरे ।