खेलकुद

उपाधि भिडन्तको पहिलो हाफमा गोल खायो नेपालले

By खबरहब

August 28, 2024

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलअन्तर्गत बंगलादेशविरुद्धको उपाधि भिडन्तमा नेपालले पहिलो हाफमा गोल खाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भइरहेको खेलमा नेपालले पहिलो हाफको अन्तिम समयमा गोल खाएको हो ।

उपाधि भिडन्तमा बंगलादेशका लागि पहिलो हाफको इन्जुरी समयमा मिराजुलले उत्कृष्ट फ्रिक गर्दै बललाई जाली चुमाएका हुन् ।

सेमिफाइनलमा भुटानलाई हराएर फाइनलमा पुगेको नेपाल र भारतलाई हराएर फाइनलमा पुगेको बंगलादेशबीचको दोस्रो हाफको खेल बाँकी छ ।

नेपाल तेस्रोपटक उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यस्तोमा बंगलादेशले पहिलो हाफमा चाहेअनुसारको गोल गर्न सफल भएको छ ।

यही भदौ २ गते सुरु भएको प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देश सहभागी भए ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका थिए । यसअघि समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो ।