राजनीति

एकीकृत समाजवादी काठमाडौंका उपाध्यक्ष र सचिव एमालेमा फर्किए

By खबरहब

August 28, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपानेलगायत नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार पार्टी परित्याग गरेका नेताहरू बुधबार नेकपा एमालेमा फर्किएका हुन् । उनीहरू माधवकुमार नेपालले विभाजन गर्दा एमालेबाटै समाजवादीमा गएका थिए ।

उनीहरूलाई एमाले बागमती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायत नेताहरूले पार्टीमा स्वागत गरे ।

समाजवादीबाट पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएको भएको एमाले स्थायी कमिटी सदस्य भट्टराईले जानकारी दिए ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चयन भइरहँदा काठमाडौं नेता कार्यकर्ताहरू एमालेतिर लागेका हुन् ।

एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उनीहरूले बताएका छन् ।