समाचार

सयपत्री फूल बिक्री गरेर मनग्य आम्दानी

By खबरहब

October 28, 2024

दैलेख– सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्बिर लिन आतुर हुन्छन् ।

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उहाँले वर्षदेखि फूलखेती गर्दै आएका छन् । उनले भने, ‘गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।’

गादारले अघिल्लो वर्ष पनि दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाएका थिए । उनले भने, ‘गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।’ यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख आम्दानी हुने उनको अनुमान छ ।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको सम्भावना राम्रो रहेको बताए ।