मनोरञ्जन

सुरु भयो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन

By खबरहब

October 28, 2024

काठमाडौं – नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहने बताइएको फिल्म ‘जेरी अन टप’को शुभमुहूर्त भएको छ । ललितपुरको पाटनस्थित बङ्गलामुखी मन्दिरमा सोमबार फिल्मको शुभमुहूर्त गरिएको हो ।

शुभ मुहूर्तसँगै आजैबाट फिल्मको छायाङ्कन सुरु हुने निर्देशक सुयोग गुरुङले जानकारी दिए । ५० दिनमा छायाङ्कन सक्ने उनको लक्ष्य रहेको छ । निर्देशक गुरुङका अनुसार यस फिल्मको छायाङ्कन काठमाडौं, लुक्ला र भारतको लद्दाखमा हुनेछ ।

शुभमुहूर्त स्थलमा फिल्मका कलाकार अनमोल, नायिका जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ’माग्ने बूढा’ लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा उनीहरुसहित भुवन केसी, निर्मल शर्मा र नायिका सुरक्षा पन्तको समेत अभिनय रहने बताइएको छ । भुवन केसी भने अनमोलकै बुवाको भूमिकामा अनुबन्ध भएको बुझिएको छ । विपना भने अनमोलको आमा अर्थात भुवनको जोडीको भूमिका अनुबन्ध भएकी हुन् ।

भुवन तीन वर्षपछि अभिनयमा फर्किएका हुन् । भुवन र विपना करिब १८ वर्षपछि रिल जोडीको भूमिकामा देखिँदैछन् । उनीहरु पछिल्लो समय सन् २००६ मा प्रदर्शनमा आएको फिल्म ‘मानिस’मा जोडी बनेर अभिनय गरेका थिए ।

अनन्या फिल्म्स ब्यानरमा बन्ने यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । फिल्मको कथा हेमराज बिसीको हो भने पटकथा विश्व तिमिल्सिनाले लेखेका हुन् ।