लुक्ला– ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ ।
कालापत्थर ५ हजार ६५३ मिटर उचाइमा पत्रकार सम्मेलन गर्दै एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङले अवार्ड कार्यक्रम डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिइन् ।
मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा अवार्ड वितरण गरिने उनले बताइन् ।
उनले भनिन्, ‘कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।’
विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा सहित यति माथिको उचाइमा पत्रकार सम्मेलन गरिएको आयोजकको भनाइ छ । सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन) ले जलवायु परिवर्तनले हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिए ।
त्यस्तै, लुक्लाका पर्यटन व्यवसायी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट कालापत्थर सबैभन्दा बढी प्रभावित भएको बताए । आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गरे ।
पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको हो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।