काठमाडौं- राष्ट्रिय सुरक्षा परिषद्को बैठकले केही समययता मध्यपूर्वमा चर्किँदै गएको तनाव र त्यसले नेपालीलाई पार्न सक्ने असरबारे समीक्षा गरेको छ ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाको समीक्षा गरेको हो ।
परिषद्को ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपालीको सुरक्षा र अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले जानकारी दिए ।
अन्तर्राष्ट्रियस्तरमा विकसित तनावपूर्ण घटनाक्रमका कारण विशेषगरी राष्ट्रिय सुरक्षामा आउन सक्ने विधि चुनौतीबारे छलफल भएको परिषद्का सदस्यसचिव दङ्गालले जानकारी दिए ।
बैठकमा सैनिक ऐनको व्यवस्थाबमोजिम नेपाली सेनाका लागि आर्थिक वर्ष २०८१/८२ मा खरिद गरिने हातहतियार, खरखजाना तथा अन्य सैन्य सरसामग्रीका लागि नीतिगत स्वीकृति दिन मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।
बैठकले परिषद्को बैठक सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरेको छ । बैठकमा गृह र रक्षामन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति एवम् रक्षा सचिव सहभागी थिए ।