मनोरञ्जन

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

By खबरहब

October 28, 2024

काठमाडौं– ज्योतिषी हरहर अधिकारी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० बाट प्रदर्शनमा आउँदैछ ।

अहिले निर्माण टिम प्रचारमा व्यस्त छ । फिल्मबारे जानकारी दिन निर्माण पक्षले सोमबार हात्तिसारमा पत्रकार सम्मेलन गरेको थियो ।

भारतीय कलाकार अभिनय रहेको एवम् मल्टिस्टार फिल्म भए पनि पूर्वनिर्धारित समयमै छायाङ्कन सकिएको नायक हरिहरले जानकारी दिए

उनले भने, ‘हामीले बाधाअर्चन नआई फिल्मको छायाङ्कन सक्कायौँ । यो ठूलो ग्राफको फिल्म पूर्वनिर्धारित तालिकाअनुसार ४३ दिनमा सक्कायौँ ।’

ज्योतिषीसमेत रहेकाले हरिहरलाई ज्योतिषशास्त्रअनुसार फिल्मको ग्रह–दशाबारे समेत प्रश्न सोधिएको थियो । उनले ज्योतिषशास्त्रअनुसार फिल्म सफल भएको जवाफ दिए ।

उनले भने, ‘राम्रो साइतमा काम सुरु गर्‍यो भने मान्छे गन्तव्यमा पुगिन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ । कुनै बाधाबिना छायाङ्कन र पोस्टप्रोडक्सनको काम भयो । त्यसैले यो फिल्म सफल भयो ।’

हरिहरले फिल्म सफल भने पनि प्रदर्शन हुन बाँकी नै छ । फिल्मले लगानी सुरक्षित गरी मुनाफा दिएको खण्डमा सफल भएको मानिन्छ ।

बक्सअफिसमा सफल रहला कि असफल भन्ने प्रश्नमा उनी हाँस्दै जवाफ दिन्छन्, ‘प्रदर्शनको कुरामा ज्योतिषशास्त्रको हात नहुने रहेछ ।’