मनोरञ्जन

फिल्म ‘ह्रस्व दीर्घ’का निर्देशक भन्छन्- ब्रह्मानन्दमको भूमिका जितुलाई प्रस्ताव गरिएको थियो

By खबरहब

October 28, 2024

काठमाडौं- चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । भारतीय कलाकारहरुले अभिनय रहेका कारण फिल्मले चर्चा बटुलेको छ ।

चर्चासँगै ‘भारतीय कलाकारको सट्टामा नेपाली कलाकारलाई स्थान दिइएको भए हुन्थ्यो’ भन्ने आलोचनात्मक टिप्पणी पनि निर्माण पक्षले सुन्नु परेको छ ।

फिल्म र प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंको हात्तिसारमा आयोजना गरिएको पत्रकार सम्मेनलमा निर्देशक पन्तले यसबारे स्पष्ट पारेका छन् ।

नेपाली कलाकारहरुले प्रस्ताव अस्वीकार गरेका र केही सहमतिबाट पछि हटेका कारण यो परिस्थिति आएको उनले खुलाए ।

उनका अनुसार महानायक राजेश हमालले अस्वीकार गरेको एक भूमिकामा भारतीय कलाकार अनुबन्ध भएका हुन् ।

उनी भन्छन्, ‘राजेश हमालले गर्दिनँ भनेर स्पष्ट भन्नुभयो । अनि हामीले भारतीय कलाकार लिएका हौं ।’  यद्यपि उनले राजेशले अस्वीकार गरेको भूमिकाबारे भने खुलाएनन् ।

त्यस्तै, भारतीय कलाकार कलाकार ब्रह्मानन्दम निर्वाह गरेको भूमिका पहिला हास्यकलाकार जितु नेपाललाई प्रस्ताव गरिएको पन्तको दाबी छ ।

यो पनि…

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

फिल्म ‘ह्यारी कि प्यारी’का लागि जितु सहमतिबाट पछि हटेपछि उत्तम विकल्प खोज्ने क्रममा भारतीय कलाकारलाई लिइएको उनी बताउँछन् ।

भन्छन्, ‘धेरै कलाकारले हामीले गरेको प्रस्ताव अस्वीकार गर्नुभयो । उहाँहरुको उत्तम विकल्प खोज्ने क्रममा हामीले भारतीय कलाकार खोज्नुपर्ने भयो ।’

पन्तले ब्रह्मानन्दमलाई अनुबन्ध गर्दाको जटिलताको पनि सुनाए । धेरै च्यानबाट फिल्मको प्रस्ताव लैजादा अस्वीकार गरेपछि आफैँ उनको हैदराबादस्थित उनको घरमा पुगेको किस्सा पन्तले सुनाए ।

‘ब्रह्मानन्दमले पछिल्लो समय फिल्म नै गर्नुभएको छैन । उहाँ फिल्म नगर्ने मनस्थितिमा हुनुहुन्छ । सोहीकारण मैले प्रस्ताव लगेको च्यानलले काम गरेन,’ उनले थपे, ‘म आफैँ घर गएँ र प्रस्ताव गरेपछि मान्नुभयो । घरै गएकाले होला १० मिनेटमै फिल्म गर्न राजी हुनुभयो ।’

पन्तका अनुसार हैदरावादमै छायाङ्कन गर्ने सर्तमा ब्रह्मानन्दम अभिनय गर्न राजी भए । सोही कारण उनको अंशको छायाङ्कन भारतमा नै भएको हो ।

फिल्म गर्ने सहमति पश्चात ब्रह्मानन्दमसँग भएको रोचक संवाद पनि पन्तले सुनाए  । ब्रह्मानन्दमले उनलाई ठट्यौली शैलीमा भनेका थिए रे, ‘फिल्म त गर्ने भएँ तर झापडको सिन नराख्नू ।’

प्रायः हरेक फिल्ममा झापड खाएको दृश्य समावेश हुने भएकाले ब्रह्मानन्दमले त्यसो भनेका हुन् । तर, नेपाली फिल्ममा पनि ब्रह्मानन्दम झापडको दृश्यबाट उम्कन पाएनन् । ‘ह्रस्व दीर्घ’ टिजरमा नै उनले झापड खाएको दृश्य समावेश गरिएको छ ।