काठमाडौं – नेपाल आइडल सिजन ५ का विजेता हुन् करण परियार । उनको हाउभाउ हेर्दा लाग्छ – करणमा गायनको लत र भोक छ । जुन भोक चाँडै मेटिने छाँटकाँट छैन ।
कुराकानीका लागि खबरहबको कार्यालयमा आउँदा उनको कानमा हेडफोन थियो । गीत सुन्दै थिए, गुनगुनाउँदै पनि ! हरेक समय गुनगुनाएर बस्ने उनको बानी नै रहेछ ।
भन्छन्, ‘म त यस्तै हो । जुन बेला पनि गीत गाइरहन्छु ।’ कुराकानीसहित खबरहबसँगको तीन घण्टे बसाइमा उनले जुनै परिस्थितिमा पनि आफू सङ्गीतबाट टाढा नरहेको बताए ।
उनमा यो बानी भर्खरै विकास भएको होइन । कुनै निश्चित प्रतियोगिताका लागि अभ्यास पनि होइन, न गीत रेकर्डिङका लागि नै हो ।
सानैदेखि आज प्रतियोगिताको अघिल्लो दिन हो भन्ने मानसिकताले रियाज गरेँ भने एक दिन स्थापित गायक बन्छु भन्ने आत्मविश्वास थियो, त्यो जारी रहेको करण सुनाउँछन् ।
बाल्यकालदेखि नै करणको एकमात्र रुचि नै सङ्गीत हो । सङ्गीत बाहेक आफ्नो कुनै क्षेत्रमा खास लक्ष्य, सपना या इच्छा शक्ति नभएको उनले सुनाए ।
‘सानैदेखि मलाई गीत सुनेर गाउन पाए पुग्थ्यो । कतै गीत बजेको सुनेँ भने मेरो ध्यान त्यतै जान्थ्यो,’ करणले भने, ‘यतिसम्म कि, मेरो घरको आडैमा ग्राउन्ड थियो । त्यहाँ मैले एकपटक पनि फूटबल खेलिनँ । मलाई गीत भए पुग्थ्यो । गीतमै भुल्थेँ ।’
गायकीको रस
वि.सं. २०६१ मा परियार दम्पतीको जेठो पुत्रका रूपमा करणको जन्म भयो ।
चौधरी बस्तीमाझ रहेको परियार बस्तीमा करण हुर्किए । त्यो टोल हो – बर्दियाको बारबर्दिया नगरपालिकास्थित ‘भैरव टोल’ ।
करणको बाल्यकाल आर्थिक रूपमा सहज भएन । बुवाको सिलाइ पेसाले घर धान्न मुस्किल थियो । गाउँकै कमजोर आर्थिक अवस्था भएको परिवारमा उनको जन्म भएको थियो ।
‘रासन जुटाउनकै लागि हामीले धेरै कुरामा सम्झौता गर्नुपर्यो । हामीलाई दुई छाक खान पनि धौधौ पर्थ्यो,’ करणले बाल्यकालमा भोगेको अभाव सुनाए ।
करणका काका कमैया बसेर पढेका थिए । पछि घर पायकको बोर्डिङ स्कूलमा शिक्षक बने । सोहीकारण तीन कक्षासम्म उनले बोर्डिङमै पढ्न पाए ।
तर, अवसरका लागि काका बजार पसेपछि करणले बोर्डिङमा पढ्न पाएनन् । तलबबाट कटाएर विद्यालयको शुल्क तिरिदिने काका नै शिक्षण पेसा छाडेर शहर पसिहाले । उनका अभिभावकले निजी विद्यालयको महँगो शुल्क थेग्न सकेनन् ।
पारिवारिक अवस्था जटिल भए पनि टोल भने सङ्गीतमय थियो । नाइन्टिजका हिन्दी गीत स्पीकरमा बजिरहन्थ्यो । उनलाई सोही माहोलले सङ्गीतमा आकर्षित गर्यो । जुन गीतले पनि करणलाई तानिहाल्थ्यो । गीत सुनेर गाउँदा आनन्द लाग्थ्यो ।
गायक बन्ने लक्ष्य
करणको सानैदेखिको बानी हो – कम बोल्ने र सुनेका गीत गुनगुनाउने !
उनलाई गीत गाउँदा गायक बनिन्छ भन्ने पनि थाहा थिएन । तर, गायनप्रति औधी रुचि थियो । गीतप्रतिको सम्मोहनबारे उनले भने, ‘किन हो खै ! रेडियोमा सुनेको गीत कण्ठ गरेर गाउँदा आनन्द आउँथ्यो ।’
गायनप्रति रुचिकै कारण करणले एउटा कवितालाई गीतको शैलीमा ढालेका थिए । सो कविता कक्षा ६ को अङ्ग्रेजी किताबको थियो ।
पढाउने क्रममा सरले करणलाई कविता वाचन गर्न लगाए । करणले कवितालाई गीतमा ढालेर गाए । सो घटना करणका लागि धेरै मानिसका लागि गीत गाउने पहिलो अवसर पनि थियो ।
‘शुक्रबारका विभिन्न प्रतियोगितापछि पुरस्कार बाँड्ने क्रममा मलाई अंग्रेजी पढाउने सरले सोही कविता गाउन लगाउनुभयो । त्यसपछि अर्को गीत पनि गाउन लगाउनुभयो । पहिलोपटक मैले धेरै जनाका अघि गीत गाएको थिएँ,’ करणले सुनाए ।
त्यसको ठीक पछिल्लो साता गायन प्रतियोगिता भयो । विजेता बनेर करणले जीवनकै पहिलो पुरस्कार थापे । पुरस्कार राशी ४०० रुपैयाँ थियो । उनले पुरस्कार मात्रै होइन, नयाँ परिचय नै पाए । करणले गीत गाउँछ भनेर सबैले थाहा पाए । स्कूलमा प्रख्यात नै भए ।
करणलाई गायक बन्न प्रेरित गरेको गीत ‘यी आँखामा तिमी छौ’ हो । एकान्त खोज्दै गुनगुनाउने उनमा गायक बन्ने लक्ष्य यही गीतले भरिदियो ।
भन्छन्, ‘टेलिभिजनमा गायकहरूलाई देख्न थालेँ । गाउने मान्छे गायक बनेर टेलिभिजनमा आउँदा रहेछन् भन्ने थाहा भयो । त्यसपछि म थप गम्भीर भएर गीत गाउन लागेँ ।’
टेलिभिजनमा बजेका गीत मोबाइलमा रेकर्ड गर्थे । एकान्तमा दुरुस्तै गाउने अभ्यास गर्थे । गायकले जस्तै गाउन त सङ्गीत नै सिक्नुपर्ने रहेछ भनी बुझे ।
करणले सुनाए, ‘मोबाइलमा रेकर्ड गरेर गीत त सुन्थेँ, तर गायकले गाएकै जस्तो हुँदैनथ्यो । अनि मलाई थाहा भयो कि उनीहरूले सङ्गीत सिकेका छन् । मलाई गायक बन्न सङ्गीत सिक्नुपर्छ भन्ने लाग्यो र सिक्ने निर्णय गरेँ ।’
काठमाडौंं आउँदाको त्यो क्षण
करणलाई लागेको थियो – आठ कक्षापछि पढाइ छाडेर पूरापूर सङ्गीतमा लाग्छु । गाउँमै सङ्गीत सिक्ने स्थान नभएकाले उनको त्यो इच्छा पूरा भएन ।
पढाइ त एउटा वहानामात्रै थियो, उनलाई सिक्नु थियो सङ्गीत । पढ्नु थियो माधुर्य सङ्गीतका झङ्कार र राग !
भन्छन्, ‘स्कूल त आउने र जानेमात्रै भयो । मेरो ध्यान म्यूजिकमै हुन्थ्यो । पढाइमा मनै थिएन । घर फर्केपछि पनि एकान्त खोज्दै गीत गाउँदै डुल्थेँ । घर नजिकको एकान्त स्थान कुनै छैन होला, जहाँ मैले गीत नगाएको हुँ ।’
कोराना भाइरस नियन्त्रण गर्न भएको लकडाउनका कारण करणले एसईई दिनुपरेन । त्यसबेला आन्तरिक परीक्षाकै मूल्याङ्कनका आधारमा ग्रेडवृद्धि गरिएको थियो । त्यही झमेटमा करण पनि परे ।
११ कक्षामा भर्ना हुनुअघि तीन महिने बिदामा करण काठमाडौं आए । घर नजिका साथीहरूसँग मिलेर उनी भवन निर्माणका काममा मजदूरी गर्न काठमाडौं छिरेका थिए । खासमा उनलाई यहाँ सङ्गीत सिक्ने ठाउँ बुझ्नु थियो ।
तर, उनी काममै सीमित भए । बिहान ७ देखि साँझ ७ बजेसम्म काम गर्नुपर्थ्यो । त्यहीमाथि लकडाउनले काठमाडौंमा आवतजावत ठप्पजस्तै थियो । उल्टै, घरमा बिहानै ५ बजे उठेर रियाज गर्ने बानी पो टुट्यो !
घरमा हुँदा बिहान बुवासँगै उठेर रियाज गर्थे । काठमाडौंमा त्यसो गर्ने मेसो नै मिलेन । तर, काठमाडौंको त्यो यात्रा सम्झनलायक बन्यो ।
तीन महिनासम्म कुल्ली काम गरेर जीवनमा पहिलोपटक ३० हजार रुपैयाँ कमाए । १० हजार रुपैयाँको त कपडा नै किने । उनले जीवनमा त्यति धेरै कपडा किनेको पनि पहिलोपटक नै थियो ।
त्यसबेला किनेको एउटा जाकेट करणले अझै सुरक्षित राखेका छन् ।
प्लस टू पढ्न अनेक कठिनाइ
करणले बुवालाई ‘एसईईपछि पढ्न काठमाडौं जान्छु’ भनेका थिए । बुवाले खर्च पुर्याउन नसक्ने बताएपछि उनी घरमै थन्किनुपर्ने भयो ।
काठमाडौंको सट्टा नेपालगञ्जमा पढ्ने भए । त्यसबेला उनले सिकेको पाठ शहर–स्वार्थ हो ।
भन्छन्, ‘नेपालगञ्ज त काठमाडौंको तुलनामा सानै हो नि ! गाउँमा एैँचोपैँचो चल्ने हुन्छ, तर शहरमा त्यो नहुने रहेछ । एकले अर्कोलाई मतलब नगर्ने रहेछन् ।’
घरबाटै रासनपानी लैजान सकिने भएकाले पढ्नका लागि करण नेपाजगञ्ज पुगेका थिए । तर, परिवारको कमजोर आर्थिक अवस्थाको शिकार उनी सुरुमै बन्नुपर्यो ।
भर्ना गर्दा, किताब किन्दा र डेरा व्यवस्था गर्दैमा बुवाको पैसा सकियो । ड्रेस किन्न पैसा पुगेन । दोस्रो दिनबाट बिना ड्रेस उनी कलेज छिर्न पाएनन् ।
बुवाले ऋण गरेर ड्रेस किन्ने पैसा पठाइदिए । ड्रेस लगाएर उनी कलेज गए । तै पनि उनीलाई छिर्न दिइएन ।
कलेजको गेटमै ‘जुत्ता खोइ ?’ भनी सोधे । उनलाई त्यो कलेजमा पढ्न ड्रेससँगै जुत्ता पनि लगाउनुपर्छ भन्ने नै थाहा थिएन ।
बुवासँग पैसा छैन भन्ने करणले बुझेका थिए । जुत्ता किन्ने पैसा जोहो गर्न उनी आफैँ जुटे ।
सुनाए, ‘एक दिन नाली सफा र एक दिन ढलानको काम गरेर १२ सय रुपैयाँ कमाएँ । ११ सय रुपैयाँको जुत्ता किनेर कलेज जान थालेँ ।’
अभाव भोग्नुपरेको त्यो घटनाले करणलाई पैसा कमाउने बाटो देखाइदियो । त्यसपछि बिदाको दिनमा उनी सधैँ यस्तै काम खोजेर गर्न लागे ।
भर्ना र किताब किन्नेजस्ता ठूला खर्चबाहेक अन्य व्यवस्थापन गर्ने रकम काम गरेरै जोहो गर्थे । सातामा दुई दिन नभ्याए पनि एक दिन काम गर्न गएकै हुन्थे ।
आर्थिक अभावको यो अवस्था पार गर्दा पनि करणमा गायनप्रतिको रुचि मरेन । उनी नेपालगञ्जमा सङ्गीत सिक्ने ठाउँ खोज्दै थिए, तर भेटेनन् । दैनिक बिहान ५ बजे उठेर २ घण्टा रियाजलाई निरन्तरता दिइरहे ।
साँझ डेरा बसेको घरको छतमा गएर मोबाइलमा गीत सुन्दै गुनगुनाउनु त उनको दैनिकी नै बनेको थियो । पढाइप्रति खास रुचि थिएन, ध्यान गीतमै हुन्थ्यो ।
दोस्रोपटक काठमाडौं यात्रा
नेपालगञ्ज बसेर करणले शहरको सङ्घर्ष केही हदसम्म बुझेका थिए । त्यही सङ्घर्षका कारण ‘काठमाडौं गएर पनि सङ्घर्ष गर्नसक्छु’ भन्ने हिम्मत भरिएको थियो । किनकी उनलाई सङ्गीत सिक्नु थियो ।
प्लसटूको अध्ययन पूरा गरे । अब त जसरी पनि काठमाडौं पुगेर सङ्गीत सिक्नु थियो । अभिभावकसँग जिद्दी गरे । ‘काठमाडौं लगेर डेरामा राखिदिनू, अनि बाँकी म आफैँ जागिर गरेर खर्च पुर्याउँछु’ भने ।
बुवाले प्रस्ताव माने । करण काठमाडौं आए । काठमाडौं आइपुगेकै दिन सङ्गीत सिक्न भर्ना भए ।
‘बुवाले कपनमा कोठा खोज्नुभएछ । रात्रिबस चढेर बिहान काठमाडौं आइपुगेको थिएँ । कपन आउने बित्तिकै आरामै नगरी म सङ्गीत कक्षा खोज्न हिडेँ,’ करणले सुनाए ।
सङ्गीत कक्षा भर्ना हुने करणको वर्षौंदेखिको सपना काठमाडौं आएकै दिन पूरा भयो । तर, जागिर खोजेर काठमाडौंमै टिक्नुपर्ने चुनौती ज्यूँ का त्यूँ थियो ।
एक महिनासम्म बाबुछोरा मिलेर काम खोजे । करणले काम पाए । चाबहिलमा भेटेको उक्त काम थियो – झोलामा सामान बोकेर बेच्न घर–घरमा पुग्ने !
ग्राहक खोज्दै घरघर डुल्ने क्रममा करणले पहिलो दिन नै गाली खाए । भन्छन्, ‘ग्राहकहरू ठगिएका हुँदारहेछन् । त्यही ठग भन्ने सोचेर मलाई गाली गरे । केहीले कुटौला झैँ पनि गरे ।’
करणलाई सो काम गर्न मन लागेन । उनी भोलिपल्टै पुनः बरोजगार बने । कतै काम नपाएपछि फोहर उठाउने काम बुझ्न जाने मनस्थिति बनाउँदैथिए । सोही दिन कार्पेट पसलमा जागिर मिल्यो ।
उनलाई त जे काम गरेर भए पनि काठमाडौंमै टिक्नु थियो । किनकी सङ्गीत सिक्नु थियो । त्यसका लागि समस्या नपर्ने जस्तासुकै काम गर्न पनि पछि नहट्ने मनस्थितिमा थिए ।
नेपाल आइडलको यात्रा
करणको उद्देश्य थियो – एक वर्ष सङ्गीत सिकेर ‘इन्डियन आइडल’मा प्रतिस्पर्धी हुन जाने !
गाउँमा हुँदा उनीमाथि हिन्दी सङ्गीत नै हाबी थियो । उता (बर्दियामा) भारत नजिक भएकाले हिन्दी गीत नै हाबी हुने भैहाल्यो ।
उनमा नेपाली शब्द उच्चारणमा कठिनाइले गायन बिग्रिने डर थियो । आफ्नो दख्खल जुन भाषामा छ, त्यही भाषामा प्रतिस्पर्धा गर्न खोजेका थिए ।
‘इन्डियन आइडल सिजन –१५’ मा प्रतिस्पर्धा गर्ने लक्ष्यसाथ उनी सङ्गीत सिकिरहेका थिए । बलको काम नभएकाले जागिर गर्दा पनि उनी गीत अभ्यास गर्ने मौका पाउँथे ।
बिहान सिकेको राग कार्पेट डेलिभरी गर्न जाँदा गाडीमै अभ्यास गर्थे । अफिसमा पनि फुर्सद भयो भने गीत गाएरै बस्थे । तर, गाउने बहानामा काममा कहिल्यै ठगी नगरेको उनले सुनाए ।
करणले सङ्गीत सिकेको सात महिनापछि नेपाल आइडलको अडिसन खुल्यो । सङ्गीत सिकाउने गुरु कृष्ण केसीले नै उनलाई नेपाल आइडलमा प्रतिस्पर्धा गर्न सुझाए ।
गुरुलाई करणले जवाफ फर्काए, ‘मेरो नेपाली भाषा राम्रो छैन, हिन्दी राम्रो छ, इन्डियन आइडलमा जान्छु ।’
इन्डियन आइडलमा हुने ठूलो प्रतिस्पर्धाबारे गुरुले करणलाई सविस्तार बुझाए । त्यसबेला उनलाई गुरुले भनेका थिए, ‘भारत ठूलो देश हो, त्यहाँ लाखौंबीच प्रतिस्पर्धा हुन्छ । त्यहीमाथि तिमीले माइकमा गीत गाउन पनि सिकेका छैनौ । नेपाल आइडलको अनुभवले उता गएर प्रतिस्पर्धा गर्नू !’
करणले गुरुको कुरा काट्न जायज मानेनन् । गुरुले पनि प्रतिस्पर्धाकै लागि नेपाली गीत बढी अभ्यास गराए ।
नेपाल आइडलको अडिसनमा करण
करणले अडिसनको जज राउन्ड ‘गोल्डेन माइक’ हात पारेर पार गरे । अन्त्यमा उनी नै नेपाल आइडल सिजन–५ को विजेता बने ।
विजेता बनेपछि बुवाले फोनमा जे भने – त्यसले उनलाई धरातल बिर्सन दिएन । बुवाले भनेका थिए, ‘आइडल जितिस्, चिन्ता नगर ! अब म ऋण खोजेर पैसा पठाउँछु, एउटा गीत रेकर्ड गर्नुपर्छ ।’
करणले ‘अब पारिश्रमिक दिएर मलाई गीत गाउन लाउँछन्’ भनेपछि बुवा आश्चर्यमा परेका थिए रे !
करण भन्छन्, ‘हेर्नू त ! म कुन ठाउँबाट आएको हूँ । मेरो बुवालाई आइडल बनेपछि गीत गाउन लगाएर पैसा दिन्छन् भन्ने पनि थाहा थिएन । म त्यस्तो ठाउँबाट आएको हुँ ।’
आइडलपछिका कारण
आइडलपछि करणले अहिलेसम्म ४४ भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । चारवटासम्म गीतमा एकै दिन स्वर दिएका छन् ।
भन्छन्, ‘दिनमा दुईवटा गीत त रेकर्ड गराएको घटना त धेरै छन् । एकपटक चाहिँ यस्तो अवस्था आयो कि एकैदिन चारवटा गीत रेकर्ड गर्नुपर्यो ।’
उक्त क्षणलाई उनी आफ्नो सपनाको एक हिस्सा पूरा भएको दिन मान्छन् । भन्छन्, ‘त्यो दिन मलाई लगेको थियो कि सङ्गीतका लागि मैले फोहोर उठाउने काम पनि गरेको थिएँ । आज चार गीतमा स्वर दिएर पैसा लिएको छु ।’
एउटा गीत रकर्ड गर्न स्टूडियोेमा छिर्दा अर्को गीतका लागि प्रस्ताव आउने क्रम बढ्दो रहेको उनी बताउँछन् । भन्छन्, ‘सिफारिसबाटै काम पाइरहेको छु । गायनबाटै आर्थिक अवस्था पनि सुधार भएको छ ।’
आइडलमा जानुअघि करणलाई बुवाले भन्थे, ‘जवानीमा पैसा कमाउने हो छोरा ! विदेश जा !’
करणले बुवालाई २५ वर्षको उमेरसम्म सङ्गीत क्षेत्रमै सङ्घर्ष गर्ने र स्थापित बन्न नसके विदेश जाने वचन दिएका थिए ।
विदेश जान करणले २५ वर्ष कुर्नुपरेन । २० वर्षकै उमेरमा पहिलोपटक विदेशी भूमि टेके, त्यो पनि कलाकारको रूपमा । दुबई पुगेपछि विमानस्थलमा फूलको गुच्छाले स्वागत गर्दा मनमा खेलेको कुरा पनि उनले सेयर गरे ।
नेपाल आइडलका जज न्ह्यू बज्राचार्य
‘बुवाले भनेको बेला काम गर्न आएको भए मलाई स्वागत गर्न को आउँथ्यो र ? समुद्रपारीको देशमा पनि मलाई यति माया मिलेको छ । अब झन् गम्भीर भएर मैले सङ्गीत गर्नुपर्छ भन्ने भयो ।’
मेला महोत्सवमा पनि करणको माग अहिले बढ्दो छ । विदेश जाने प्रक्रिया र नेपालमा कार्यक्रम जुध्दा उनलाई केही असहज भने भएको छ ।
भन्छन्, ‘विदेशको कार्यक्रममा मेरो त्यति अनुभव छैन । उता कुरा आइरहेको छ । नेपालमा पनि प्रस्ताव आइरहेको हुन्छ । समय जुधेको छ ।’
रेकर्डिङ र मेला महोत्सवमा कन्सर्ट अहिले करणको पेसा बनेको छ । भन्छन्, ‘आम्दानी पनि राम्रै छ ।’
अझै पनि उनी कृष्ण केसीसँगै सङ्गीत सिकिरहेका छन् । गायनमा अझै निखारिने प्रयास जारी छ ।
भन्छन्, ‘मलाई अभ्यास गर्ने बानी कहिल्यै हटाउनुहुन्न भन्ने लाग्छ ।’
करणमा अहिले गायनको भोक झनै बढेको छ । उनी बढीभन्दा बढी समय गायनमै केन्द्रित हुन्छन् । फुर्सदको थोरै समय पनि उनी गायन अभ्यासमै लगानी गर्छन् ।
कुराकानीको अन्तिममा उनले आफ्नो उही सङ्गीत मोहबारे सुनाए, ‘फुर्सद भयो भने जहाँ, जुन ठाउँमा पनि गाउने मेरो तल नै बनेको छ ।’