ब्रेकिङ स्टोरी

कीर्तिपुरमा चार उम्मेदवारबीच टक्कर, ठूला दललाई स्वतन्त्रको चुनौती

By ज्ञानु घिमिरे

November 28, 2024

काठमाडौं- मङ्सिर १६ गते हुने उपनिर्वाचनले कीर्तिपुर नगरपालिकाको राजनीतिक माहोल गर्माएको छ।

संघीय राजधानी नजिककैको नगरपालिका भएकाले कीर्तिपुरलाई दलहरूले पनि प्रतिष्ठाको विषय बनाएका छन् ।

कीर्तिपुरको मेयरका लागि दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले माओवादी केन्द्रका शिवशरण महर्जनलाई सघाएपछि अब १९ जना मैदानमा छन् ।

१९ उम्मेदवारमध्ये मुख्य चर्चा भने यहाँ चार-पाँच उम्मेदवारको मात्रै छ । जसमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन, स्वतन्त्र उम्मेदवार राजमान महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव महर्जनले चुनावी प्रचारलाई आक्रमक बनाएका छन् ।

देशभर स्वतन्त्रहरूको चर्चा भइरहेका बेला ‘केटाकेटी’ चुनाव चिह्न लिएर राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई स्थानीय स्वतन्त्र व्यक्ति र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पनि साथ दिएका कारण उनको पनि मदातामाझ चर्चा छ ।

नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनको नाम पनि मतदाताबीच चर्चामा छ । यसबाहेक अन्य स्वतन्त्र उम्मेदवार र केही दलका उम्मेदवारको प्रचार र चर्चा सुनिएको छैन ।

ऐतिहासिक,पुरातात्विक र सांस्कृतिक महत्त्वको कीर्तिपुर नगरपालिका देशको शैक्षिक केन्द्र पनि हो । यहाँका उम्मेदवारहरू शिक्षा, स्वास्थ्य, खानेपानी र अन्य विकासका पूर्वाधारलाई चुनावी एजेन्डा बनाएर प्रचारमा होमिएका छन् ।

दलका नेताहरू पुरानै एजेन्डासहित मतदातामाझ जाँदा स्वतन्त्र भने रोजगारीका योजनासहित मैदानमा देखिएका छन् । केही उम्मेदवारहरूले जग्गा विवाद र शुद्ध खानेपानीको नारा पनि बोकेका छन् ।

बुधबार खबरहबको टोली कीर्तिपुर पुग्दा कतिपय उम्मेदवारहरू अन्तिम प्रचारका लागि मतदाताको घरदैलोमा देखिए । केही उम्मेदवार भने कोणसभामार्फत् मतदाता फकाउँदै थिए ।

राप्रपा उम्मेदवार ध्रुव महर्जन भोट माग्दै

नगरपालिकाको सहरी इलाका पस्नेबित्तिकै राप्रपाका उम्मेदवार ध्रुव महर्जन केही शुभेच्छुक र कार्यकर्ता साथमा लिएर मत माग्दै थिए । सहसरी इलाकामा भोट माग्दै हिँडेका उनी मुख्य चोकमा आमसभा गरे ।

जहाँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र र संघीय सांसद ज्ञानेन्द्र शाही पनि उपस्थित थिए । उनले कीर्तिपुर नगरपालिकामा जितेर इतिहास रच्ने दाबी उनले गरे ।

घरदैलोमै खबरबसँग छोटो कुरा गर्दै महर्जनले इन्जिनियरिङ पेशाको युवा भएकाले कीर्तिपुरको समग्र विकासका लागि मतदाताले आफूलाई रोज्ने सुनाए । ‘युवा साथीहरूको साथ मिलेको छ, अहिले निर्णायक मतदाता नै युवा रहेका कारण मेरो जित सुनिश्चित छ’, उनले खबरहबसँग भने, ‘अन्य पार्टीका साथीहरूलाई जनताले जाँचिसकेका छन् । युवा भएकाले एकपटक मलाई ‘टेस्ट’ गरुन् भन्ने लागेको छ ।’

संघीय राजधानीनजिकैको सहर भएर पनि कीर्तिपुर विकासमा पछि परेको उनको बुझाइ छ । आफूले जितेमा खानेपानीको समस्या हटाउन काम गर्ने बताउँदै उनले युवाले मत दिने दाबी गरे । महर्जनले मुख्य चुनावी सभा बुधबारै गरे तर अरु ठूला दल र स्वतन्त्रको सभा आज (बिहीबार) मात्रै रहेको छ ।

कांग्रेस उम्मेदवार कृष्णमान डंगोल

कृष्णमानलाई सघाउँदै गगन र विश्वप्रकाश

२०७९ मा पनि जितेकाले यस पटक पनि कांग्रेस पहिलो हुने उम्मेदवार कृष्णमान डंगोलले सुनाए । उनले बुधबार नै अन्तिम घरदैलो सकेको बताए ।

उनी बिहीबार कीर्तिपुरलाई एक फन्को लगाउँदैछन् । त्यसपछि कांग्रेसका शीर्ष नेता बोलाएर अपरान्ह आमसभा गर्दैछन् । उनी आफूलाई लामो समयदेखि कीर्तिपुरको विकासमा खटिएको बताउँछन् । उनी विद्यालय सञ्चालकदेखि स्थानीय समाजसेवीका रुपमा आफूलाई चिनाउँछन् ।

कीर्तिपुर कम्युनिस्टहरूको पुरानो गढ भए पनि २०७९ को निर्वाचनबाट कांग्रेसले कब्जा गरेको उनले बताए । सबै वडामा कांग्रेसको पकड कायमै रहेको दाबी उनले गरे ।

‘धेरै संघर्ष गरेर कम्युनिस्टको गढ तोडिएको छ। कीर्तिपुर अब कांग्रेसको विकास योजनाअनुसार अघि बढिररहेको छ। चार दशकदेखि राजनीतिमा निरन्तर सक्रिय छु’, उनले खबरहबलाई भने, ‘मानविकी संकायमा स्नातक सकिसकेको मान्छे हुँ। यहाँका मतदाता र जनताको घर-घरको समस्या बुझेको छु । यस पटक मलाई निर्वाचित गराउनुहुन्छ ।’

खानेपानी र स्वास्थ्य सुधार आफ्नो मुख्य एजेण्डा रहेको उनले बताए । उनलाई बिहीबारको अन्तिम सभामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा साथ दिन पुग्दैछन् ।

यति मात्रै होइन, डङ्गोलले बिहीबारको आमसभामा मतदाताको उत्साह देखिने सुनाए । मतदाताको उपस्थिति देखाएर कांग्रेसले जितिसकेको देखिने दाबी गरे। ‘कांग्रेसले यसै जितिसकेको छ । तर प्रक्रियाका लागि चुनाव भने गर्नै पर्छ’, उनले भने, ‘हाम्रा महामन्त्री आउँदा हाम्रा कार्यकर्ता राख्ने ठाउँ नपुग्ला जस्तो छ। सबै मतदाताहरू कांग्रेसलाई भोट दिन उत्साहित हुनुहुन्छ।’

२०७९ मा निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको गत साउन १० गते राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । निर्वाचन आयोगले कीर्तिपुरसहित खाली भएका ४२ स्थानीय पालिका र २ स्थानीय समन्वय समितिमा मंसिर १६ मा उपनिर्वाचन गर्दैछ ।

एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धर

सुरेन्द्रलाई भोट माग्दै महासचिव पोखरेल

अर्को सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि पार्टीका उम्मेदवार डा. सुरेन्द्र मानदरलाई भोट माग्न बिहीबार कीर्तिपुर पुग्दै छन् । कांग्रेस-एमाले सत्ता गठबन्धनमा छन् । तर, सत्तामा सहकार्य र निर्वाचनमा प्रतिस्पर्धाको नीतिअनुसार दुई दल चुनावमा होमिएका छन् ।

यस पटक महासचिव पोखरेल आफूलाई भोट माग्दिन कीर्तिपुर आउँदै गरेको मानन्धरले खबरहबलाई बताए । एमाले केन्द्रीय कमिटीको सदस्यसमेत रहेका मानन्धर कम्युनिस्टको गढ फर्किने कुरामा विश्वस्त छन् । २०७९ को निर्वाचनमा वडाहरूमा बहुमत कांग्रेसका उम्मेदवार निर्वाचित भएकाले उनलाई चुनौती भने ठूलै छ ।

वामपन्थी निर्वाचित नहुँदा कीर्तिपुर शिक्षा, स्वास्थ्य र खानेपानी लगायत विकास योजनामा पछि परेको उनले बताए । यसपटक कम्युनिस्टको गढ एमालेले जोगाउने उनको दाबी छ। उनको दाबीअनुसार ०७९ सालमा कांग्रेसले कीर्तिपुरमा जितेकाले फेरि नतिजा नउल्टेल भन्न सकिँदैन ।

‘म कीर्तिपुरको समस्या र नगरवासीको आवश्यकता बुझ्ने महत्त्वपूर्ण साक्षी हुँ’, उनले खबरहबसँग भने, ‘कीर्तिपुरमा ऐलानी जग्गाको ठूलो समस्या छ । शिक्षाको हव भए पनि व्यवस्थापनको पाटोमा केही कमजोरी देखिएका छन् । आँखा अस्पताल व्यवस्थित गर्ने चुनौती छ’, उनले भने, ‘यस पटक कीर्तिपुरलाई व्यवस्थित र समृद्ध बनाउन एमालेलाई निर्वाचित गराउनेमा ढुक्क छौँ ।’

मानन्धरको यो दाबीबीच उनलाई चुनौती पनि चर्कै छ । स्वतन्त्र उम्मेदवारहरू नवराजकुमार बानियाँ, प्रेमबहादुर महर्जन, रामकृष्ण महर्जन लगायत उठेकाले दलहरूलाई यहाँको चुनाव सजिलो छैन ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एमालेको मुख्य कार्यालय बनाउन कीर्तिपुर नगरपालिका-३ कै जग्गा दिएकाले यसलाई पनि चुनावी एजेन्डा बनाइएको छ । विद्यार्थी आन्दोलनदेखि कीर्तिपुरको विकास र त्यहाँको शैक्षिक सुधारका लागि लडिरहेको व्यक्ति भएकाले मानन्धर मेयरका प्रमुख दाबेदार हुन् ।

माओ‌वादी उम्मेदवार डा. शिवशरण महर्जन

प्रचण्डले शिवशरणलाई भोट माग्दै

नेकपा माओवादी केन्द्रले यस पटक नेकपा एकीकृत समाजवादीको साथ लिएर कीर्तिपुरमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उतारेको छ । ०७९ मा पनि माओवादीले उनैलाई टिकट दिएको थियो।

महर्जनका लागि अन्तिमपटक भोट माग्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुर जाँदैछन् । प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका केही नेता पनि भोट माग्न पुग्दैछन् ।

शिवशरणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत साथ दिएको नेताहरू बताउँछन् । यस्तै जसपाको असन्तुष्ट पक्ष र केही स्वतन्त्रका उम्मेदवारले पनि सघाइरहेको माओवादीको दाबी छ।

महर्जन स्थानीय बुद्धिजीवी र खानेपानीको समस्या समाधानका लागि पहलकर्तासमेत हुन् । उनले कीर्तिपुरमा खानेपानी ल्याउन योगदान गरेको स्थानीयहरू बताउँछन्।

मङ्गलबार खबरहबको टोली कीर्तिपुर पुग्दा एक होटलमा उनी बुद्धिजीविसँग उनी अन्तरक्रिया गरिरहेका भेटिए । अन्तरक्रियामा उनले आफूलाई यस पटक जिताएरै छोड्ने वचन दिएको दाबी गरे।

तर मतदाताको मन अन्तिम समयमा बदलिने भएकाले उनी बुद्धिजीविसँग सुझाव मागिरहेका थिए । माओवादी उपाध्यक्ष अग्नि सापकोटासमेत उपस्थित कार्यक्रममा शिवशरणले भने, ‘०७९ को चुनावमा पनि जनताले जिताउँछु भन्दाभन्दै अन्तिम धोका पाएँ । आफ्नै साथीहरूबाट पनि धोका पाएका कारण निर्वाचनमा यसै हुन्छ भन्न सकिँदैन’, ‘मेरो मिहिनेत, लगनशीलता र इमानबारे जनताले बुझिसक्नुभएको छ । यसले मात्रै नपुग्ने रहेछ साथीहरूको सल्लाह पनि चाहिएको छ । कसरी अगाडि बढ्दा ठिक होला बताइदिनुस् ।’

उनी रवि लामिछाने नेतृत्वको रास्वपाको पनि सहयोग मिलेको भन्दै उत्साहित देखिए । उनले मतदाताको घरमा पुग्दा जिताउने बचन दिएको सुनाए ।

नेपाल बुद्धिजीवि समाजको कार्यक्रममा आएका राजनीति विश्लेषक श्याम श्रेष्ठले पनि शिवशरणको पक्ष लिए । आफू माओवादी कार्यकर्ता नभए पनि शिवशरण जस्ता बुद्धिजीविलाई सबैले साथ दिनुपर्ने सुनाए । उनले अबका तीन दिनमा निर्वाचनमा ठूलो फेरबदल हुनसक्ने बताउँदै सजग रहनुपर्ने सुझाव दिए । शिवशरण सरल र स्वच्छ स्वभावका रहेले जनताले कुरा बुझेर मत दिने विश्वास उनले लिएका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन

राजमानलाई भोट माग्दै हर्क

स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई भोट माग्न धरानका मेयर हर्क साम्पाङ पनि बिहीबार कीर्तिपुर आएका छन् । यसअघि पनि एक चरण भोट मागेर धरान गएका उनी अन्तिम चुनावी सभामा महर्जनलाई भोट माग्न कीर्तिपुर आएका हुन् । साम्पाङका केही कार्यकर्ता अहिले पनि कीर्तिपुरमा महर्जनलाई भोट माग्न खटिरहेका छन्।

कीर्तिपुरमा ३१ हजार मतदाता छन्। ती मतदातामध्ये ८० प्रतिशत नेवार समुदायका भएकाले आफूहरू जस्ता स्वतन्त्र व्यक्तिहरूलाई सबैले विश्वास गरेको महर्जनको दाबी छ।

नेवारी परिकार पस्किने लहनाका सञ्चालक पनि हुन् उनी । ७७ परिवार मिलेर चलाइएको यस व्यवसायका अध्यक्ष महर्जन कीर्तिपुरमा चिरपरिचित छन् ।

७७ घरपरिवारका ३३१ जना व्यक्तिका अभिभावक उनी अब कीर्तिपुरकै अभिभावक बन्न चाहन्छन् । २०६३ सालमै नेकपा एमालेबाट राजीनामा दिएका महर्जनले आफू नउठी यहाँको विकास हुन नसक्ने बताउँछन् ।

अहिलेसम्म अन्य दलले कीर्तिपुरको विकास गर्न नसकेको र यहाँका सांस्कृतिक सम्पदा पुरातात्विक सम्पदा पनि ओझेलमा परेको उनले बताए । नगरको समग्र विकासका लागि पनि जनताको भावनाअनुसार उठ्नै पर्ने बाध्यता आएको उनले बताए ।

‘हामी मुख्य रूपमा रोजगारी नभएरै पछि परेका छौँ । देशको राजधानीनजिकैको कीर्तिपुरमा रोजगारीका थुप्रै सम्भावना छन्। म यस पटकको निर्वाचन जितेर कीर्तिपुरलाई रोजगारको सहर बनाउन चाहन्छु’, उनले भने, ‘मसँग रोजगारीका लागि उचित भिजन र योजना छन् । बाँकी साढे दुई वर्षमै यहाँका जनतालाई रोजगारीमा जोड्न सक्ने योजनासहित उठेको छु । यस पटक जनताले विश्वास गरेर मत दिनेछन् ।’

उनले ठूला दलबाट कीर्तिपुरको विकास नभएको भन्दै बाध्य भएर उम्मेदवार हुनु परेको दाबी गर्छन् । ‘मेरो उम्मेदवारीलाई देशभरका स्वतन्त्रले साथ दिनुभएको छ । काठमाडौंका मेयरले पनि साथ दिने लागेको छ’, उनले भने, ‘धरानका मेयरको त सुरुदेखि नै साथ मिल्यो । मुख्य कुरा कीर्तिपुरे जनताको ठूलो साथ र सहयोग छ। कीर्तिपुरको विकास र विस्तारका लागि जनताले पत्याउनु भएको छ । यो आशा र भरोसालाई टुट्न दिन्न । यस पटक निर्वाचित भएर कीर्तिपुरलाई रोजगारको सहर बनाउँछु ।’

दलहरूले जनतालाई भोट बैंक जस्तो बनाएर लुटेर खाइरहेका आरोप उनले लगाए । ‘यसपटक कीर्तिपुरको मत बदलौँ । म कीर्तिपुर नगरलाई बदलेरै छाड्छु’, उनले भने ।

देशभर स्वतन्त्रको चर्चा भइरहेका बेला कीर्तिपुरमा राजमानको माहोल राम्रै देखिएको छ । दलनिकट मतदाताले पनि मौन सहयोग गरेको बताउँदै उनले आफू कुराभन्दा पनि काम उठेको बताउँछन् । चुनावी अभियान सकेर लहनामा खाजा खाना उक्लेका राजमानले पनि बिहीबार अन्तिम चुनावीसभामार्फत् भोट माग्दैछन् । जुन सभालाई सम्बोधनका लागि धरानका मेयर कीर्तपुर पुगेका छन् ।

सबै तस्बिर : चिरायु शाक्य/खबरहब