ब्रेकिङ स्टोरी

कीर्तिपुरमा बालेन्द्र, रवि र प्रचण्डको परीक्षा

By खबरहब

November 28, 2024

काठमाडौं– संघीय राजधानीस्थित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबारे जबर्जस्त केही भाष्य बनेका छन् । जस्तै–

पहिलो भाष्य– देशभरिका युवा विस्तारै बालेन्द्रका फ्यान बन्न थालेका छन् । यो भाष्यमा केही सत्यता पनि देखिन्छ ।

दोस्रो भाष्य – आगामी ०८४ को चुनावमा बालेन्द्रले नयाँ पार्टी खोले भने त्यो ठूलो दल बन्न सक्छ । तर, यो भाष्यको परीक्षण हुन बाँकी छ । बालेन्द्रले पार्टी खोल्ने–नखोल्ने अनिश्चित छ ।

तेस्रो भाष्य– काठमाडौंमा बालेन्द्रले जुन स्वतन्त्र उम्मेवारलाई साथ दिन्छन्, उसैले चुनाव जित्न सक्छ । यो भाष्यको पनि परीक्षा हुन बाँकी नै छ । मंसिर १६ को उपचुनावमा बालेन्द्र कतै खुलेका छैनन् ।

यतिसम्म कि बालेन्द्रकै नेतृत्वमा रहेको महानगरभित्र काठमाडौं –१६ को वडाध्यक्षका लागि हुन लागेको उपचुनावमा पनि बालेन्द्र कतै खुलेका छ्रैनन् । जबकि काठमाडौं–१६ मा ८ जना स्वतन्त्र उम्मेदवार छन् ।

काठमाडौं जिल्लामा पर्ने कीर्तिपुर नगरपालिकाका ११ जना स्वतन्त्र उम्मेद्वारमध्ये कसैले पनि आफ्नो पक्षमा बालेन्द्रको वाक्य फुटाउन सकिरहेका छैनन् । बरु धरानबाट मेयर हर्क साम्पाङ स्वतन्त्रलाई भोट माग्दै कीर्तिपुर आइपुगेका छन् ।

काठमाडौं १६ कै कुरा गर्ने हो भने १६ जना उम्मेद्वारमध्ये ८ जना त स्वतन्त्र नै छन् । बालेन्द्रका समर्थकहरुले ८ जना स्वतन्त्रमध्ये कसलाई भोट हाल्लान् ? कि रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठलाई पो सघाउँछन् कि ? मौन समय शुरु हुन लाग्दासम्म बालेन्द्र कतै खुलेका छैनन् । मौन अवधि लाग्नुअघिसम्म बालेन्द्र शाह पूरै मौन छन् ।

यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ– कीर्तिपुरको चुनावले कसरी बालेन्द्रको परीक्षा लेला ? काठमाडौंमा मेयरसँग कीर्तिपुरको चुनावको के नै सम्बन्ध छ र ?

त्यसो होइन । काठमाडौं उपत्यकामा ०७९ को चुनावमा स्वतन्त्रको प्रभाव व्यापक थियो । चाहे स्थानीय चुनावमा बालेन्द्रले पाएको मत होस् या त्यसपछिको संसदीय चुनावमा रास्वपाका उम्मेदवारहरुले पाएको मत हो ।

महानगरसँग नछोएको काठमाडौं १० मा समेत रास्वपा ८ हजार मतका साथ तेस्रो शक्ति बनेको थियो । यसअर्थमा कीर्तिपुरको उपचुनावमा कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरुलाई स्वतन्त्रले कति चुनौती दिनसक्छ भन्ने कुराले राष्ट्रिय राजनीतिमा निकै ठूलो अर्थ राख्छ ।

कीर्तिपुरको मेयरमा पुरानै दलले जिते र स्वतन्त्र उम्मेदवारको मत नगन्य आयो भने त्यसले बालेन्द्र शाहका नाममा बनेको भाष्यलाई चुनौती दिन सक्छ।

रास्वपाको परीक्षा

काठमाडौं– १६ को वडाध्यक्षमा उम्मेदवार उठाएको रास्वपाले कीर्तिपुरको मेयरमा भने उम्मेदवारी नै दिएन । अघिल्लो स्थानीय स्थानीय तहमा पार्टी नै नबनेका कारण रास्वपाको जनमत परीक्षण हुन पाएको थिएन । यसपटक उसले कीर्तिपुरमा चुनाव लडेको भए रास्वपाको शक्ति परीक्षण गर्न सहज हुने थियो ।

गत संसदीय चुनावमा काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेसले १४ हजार ४६३ मत पाउँदा एमालेले ११ हजार ७९१ मत पाएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई समेत उछिन्दै तेस्रो बनेको थियो । रास्वपाले यस क्षेत्रबाट ८ हजार ७३९ मत पाएको थियो ।

रास्वपापछि राप्रपा थियो, जसले ६ हजार ९५९ मत पाएको थियो । त्यस्तै, माओवादीले ५ हजार २६५ मत पाएको थियो । नेपाल मजदुर किसान पार्टीको पनि काठमाडौं क्षेत्र नम्बर १० बाट १८ सय मत आएको थियो ।

प्रदेशतर्फ हेर्ने हो भने कीर्तिपुर नगरपालिका काठमाडौं क्षेत्र नम्बर १० (क) मा पर्छ । यो क्षेत्रमा कीर्तिपुर र दक्षिणकाली दुईवटा नगरपालिका पर्छन् ।

यो प्रदेशको सिटमा कांग्रेसका पुकार महर्जनले १० हजार मत ल्याउँदा राप्रपा ७ हजार ४ सय मतका साथ दोस्रो भएको थियो भने एमाले ७ हजार ३ सय मतका साथ तेस्रो र माओवादी ३६ सय मतका साथ चौथो बनेको थियो । रास्वपाले प्रदेश चुनावमा भाग नलिएका कारण काठमाडौं १० (क) मा उसको मत कति छ भनेर अनुमान लगाउने ठाउँ छैन ।

तर, प्रतिनिधिसभामा काठमाडौं १० बाट रास्वपाले ८ हजार मत पाएको आधारमा विश्लेषण गर्दा कीर्तिपुर नगरपालिकामा ऊसँग कम्तिमा पनि ३÷४ हजार मत रहेको अनुमान लगाउन सकिन्छ ।

यो उपचुनावमा कीर्तिपुरबाट रास्वपाले उम्मेदवार नउठाएको हुनाले उसको यो लुप्त मत कहाँ झर्छ, त्यसले जीतमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।

माओवादी उम्मेदवार डा. शिवशरण महर्जन रास्वपाको मत माओवादीले पाउने दावी गर्छन् । तर, रास्वपाका नेताहरु भने माओवादीको दाबीमा सत्यता नभएको बताउँछन् ।

पछिल्लो राष्ट्रिय राजनीति र रवि लामिछानेको गिरफ्तारी प्रकरणलाई हेर्दा कांग्रेस र एमालेका उम्मदेवारले रास्वपाको मत पाउने सम्भावना न्यून छ । यो स्थितिमा कीर्तिपुरमा रास्वपा समर्थकको मत जता जान्छ, उसैको पल्ला भारी हुने देखिन्छ ।

रास्वपाका सम्बन्धमा प्रश्न उठ्न सक्छ– कीर्तिपुरमा उम्मेदवार नै नउठाएको रास्वपाको परीक्षा कसरी ? यसमा केही तर्कहरु अघि सार्न सकिन्छ ।

एक त रास्वपाले कीर्तिपुरमा किन उम्मेदवारी दिएन ? यो आफैंमा यक्ष प्रश्न हो । दोस्रो प्रश्न– रास्वपासँग रहेको २/४ हजार मत कसको बाकसमा खस्ला ? यसबारे रास्वपाले आफ्ना कार्यकर्ता र सुभेच्छुकलाई के निर्देशन दिन्छ ? र, तेस्रो प्रश्न– कीर्तिपुरको चुनावमा स्वतन्त्र उम्मेदवारको साटो कांग्रेस, एमाले र माओवादीकै उम्मेदवारले जिते भने रास्वपाको मिसन ८४ मा मनोवैज्ञानिक असर पर्ला कि नपर्ला ?

यिनै प्रश्नहरुका कारण कीर्तिपुरको चुनाव रास्वपाका लागि पनि परीक्षा नै हो भन्न सकिन्छ ।

स्वतन्त्रका नाममा डमी !

कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार छन् । यीमध्ये कुन असली स्वतन्त्र हो र को हैन भनेर छुट्याउन मतदातालाई हम्मे परिरहेको छ ।

केटाकेटी चुनावचिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई हर्क सम्पाङले सघाएका छन् । उनी जहाँसुकै स्वतन्त्रको माहोल रहेको र कीर्तिपुरको चुनाव आफूले जित्ने दाबी गर्छन् ।

कीर्तिपुरका स्थानीयले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवार धर्मरत्न मानन्धर माओवादीका ‘डमी’ हुन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार नवरथकुमार बानियालाई कतिपयले ‘एमालेका बागी’ भन्ने गरेका छन् ।

चोभार निवासी अर्का स्वतन्त्र उम्मेदवार प्रेमबहादुर महर्जनले पनि एमालेको भोट काट्ने र अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले कांग्रेसको भोट काट्ने स्थानीयको विश्लेषण छ ।

स्वतन्त्र उम्मेदवार धेरै भएता पनि हर्क साम्पाङको साथ पाएका राजमान महर्जन प्रतिस्पर्धामा आउन सक्ने दाबी कीर्तिपुरबासीले गरेका छन् ।

रिपोटिङको सिलसिलामा खबरहबको टोलीले कांग्रेस उम्मेदवार कृष्णमान डंगोललाई सोधेको थियो, ‘चुनावमा पहिलो दल कुन बन्ला भनेर सोध्ने हो तपाईले नेपाली कांग्रेस भनिहाल्नुहुन्छ, तर तपाईको विचारमा दोस्रो दल कुन बन्ला ? एमाले या माओवादी ?’

जवाफमा उनले पछिल्लो समय माओवादीले पनि प्रभाव बढाउँदै लगेको हुनाले एमाले र माओवादीमध्ये कुन दल दोस्रो बन्ला भनेर अहिले भन्न नसकिने बताए ।

प्रचण्डको परीक्षा

 

कीर्तिपुर समेतलाई समेटेर बनेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट ०६४ को पहिलो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डले जितेका थिए । त्यसयता कांग्रेसले जित्दै आएको छ ।

अहिले हुन लागेको उपचुनावको सन्दर्भमा माओवादीले फेरि मेयरमा चुनाव जित्ने दाबी गरेको छ । कांग्रेस र एमालेले मिलेर सरकार चलाएको अवस्थामा आगामी ०८४ को चुनावमा ०६४ कै जस्तो नतिजा ल्याउने माओवादीले दाबी गरिरहेको छ । यो दावीलाई सार्थक बनाउने हो भने माओवादीले कीर्तिपुरमा जितेर देखाउनुपर्ने चुनौती आइलागेको छ ।

यसअर्थमा कीर्तिपुरको उपचुनाव माओवादी अध्यक्ष प्रचण्डको पनि परीक्षा हो । यसै सन्दर्भमा मंसिरको १६ को चुनावबारे कांग्रेस, एमाले, माओवादीका साथै एकजना स्वतन्त्र उम्मेदवारको प्रतिक्रिया जस्ताको त्यस्तै सुनौं–

कम्युनिष्टको लालकिल्ला तोडियो, फेरि तोडिन्छ

कृष्णमान डंगोल, नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार

म राजनीतिमा ४ दशक भन्दा लामो समयदेखि निरन्तर छु । म युवा हुँदादेखि नै राजनीति सुरु गरेको हो । कुनै पनि देशको राजनीतिक परिवर्तनमा अग्रस्थानमा रहेर काम गरेको छु । ०४६ सालको आन्दोलनमा पनि अग्र पङ्क्तिमा थिएँ ।

शिक्षा क्षेत्रमा मैले २७ वर्ष काम गरें । मैले अहिले पनि सर्वसुलभ रूपमा निजी विद्यालय सञ्चालन गरिरहेको छु । मैले विभिन्न सामाजिक रूपमा पनि काम गरेको छु । स्वास्थ्य क्षेत्रमा पनि मैले काम गरेको छु । विकास निर्माणमा पनि म यहाँको क्षेत्रका लागि निकै अगाडि बढेर काम गरिरहेको छु । घरदैलोमा म धेरै दिन हिँडे तर जनताको कांग्रेसप्रति असन्तुष्टि कहीँ पनि भेटेको छैन । जनताबाट सकारात्मक सुझाव आएका छन् । यस अगाडिका मेयरले पनि राम्रो काम गरेका कारण पनि कांग्रेसप्रति जनताको विश्वास छ । बाटो घाँटो सम्पन्न गर्न पनि निकै काम भएको छ । जनताले नेपाली कांग्रेसले गरेको कामलाई सन्तुष्टिका रूपमा हेर्नु भएको छ ।

मेरो जित निश्चित छ । म त मेरो प्रतिस्पर्धी नै देख्दिनँ । मैले ०४८ सालदेखिको निर्वाचन हेरेर आएको छु । ०५६ सालमा हाम्रो पार्टीबाट निर्वाचित हुँदा यहाँका स्थानीय कसैसँग पनि लालपूर्जा नभएका कारण त्यसपछि दिलाएका थियौँ । ०५६ सालपछि यहाँका ९० प्रतिशत जनताले लालपुर्जा पाएका थिए । अझै पनि केहीलाई वितरण गर्न बाँकी छ । त्यसको पनि समाधान गर्ने बाचा हामीले घोषणापत्रमा राखेका छौँ ।

नेपाली कांग्रेसको जनप्रतिनिधिले राम्रो काम गरेको हुनाले नै यहाँ कांग्रेसप्रतिको लहर व्यापक छ । मेरो जित निश्चित छ । मलाई पच्छ्याउन एमाले हुन्छ कि माओवादी हुन्छ, हेर्न बाँकी छ । स्वतन्त्रले पनि म जित्छु भनेर भनिरहेका छन् । स्वतन्त्रको पनि लहर छ । त्यसकारण दोस्रो हुँदा को हुन्छ थाहा भएन ।

कांग्रेसबाट पनि केही बागी उठेको भन्दै हिँड्नुभएको छ रे तर कांग्रेसको कोही बागी छैन । एक दुई वर्ष पार्टीका काम गरेको छ भन्दैमा बागी भन्न कहाँ मिल्छ र ? ४ दशक राजनीति गरेर मैले बल्ल टिकट पाएको छु । काकताली थापेर केही काम छैन ।

मेरो ४ नम्बर वडामा घर पर्छ । मेरो बारेका सबै कीर्तिपुरबासीलाई थाहा छ । मैले मानविकी संकायमा स्नातक तह सकेको छु । मैले राम्रो शिक्षाबाट वञ्चित भएका बालबालिकालाई निःशुल्क रूपमा पढाइरहेको हुनाले पनि मलाई जनताले आर्शिवाद दिनुभएको छ ।

मलाई जनताले निर्वाचित गराउनुभयो भने आहा हाम्रो कीर्तिपुर हुने गरी बनाउने छु ।

कीर्तिपुरमा विस्तारै सुधार हुँदै आएको छ । यहाँ बर्खायाममा पानीको समस्या अत्यधिक हुने गरेको छ । स्वास्थ्यमा पनि सुधार गर्नुपर्ने छ । स्वास्थ्य महँगो हुने भएकाले समस्या छ । विकास निर्माण कामलाई पनि प्राथमिकता दिनुपर्ने छ ।

घरदैलोमा हाम्रो माहोल राम्रो छ । धेरै सङ्घर्ष गरेर यो ठाउँमा हुर्किएको हुनाले यो ठाउँको समस्या मलाई सानो बेलादेखि नै थाहा भएकाले केही समस्या छैन । कीर्तिपुर कम्युिनष्टको गढ भन्थे । अहिले बिस्तारै हामीले त्यसलाई तोडेका छौँ ।

हामीले ०५६ सालमा लालकिल्ला तोडेका थियौँ । सांसद जितेर त्यसको सन्देश प्रवाह गरेका थियौँ । ०७४ सालमा हामी माओवादीसँग पराजित भयौँ र ०७० को चुनावपछि लगालग तीन पटकसम्म सांसद जित्न सफल भयौँ ।

कीर्तिपुरका १० वटा वडामध्ये ९ वडासहित ०७९ को निर्वाचनमा क्लिनस्वीप गरेका थियौँ । त्यसको प्रभावले गर्दा अहिले मेरो माहोल अझ राम्रो छ । उपमेयरले जसपाको भए पनि रुख चिह्न नै प्रयोग गरेर ०७९ मा जित्नुभएको थियो ।

एमालेले नगरपालिकाको समन्वयकारी नेतृत्व गर्नेछ

सुरेन्द्र मानन्धर नेकपा एमालेका उम्मेदवार

 

कीर्तिपुरमा धेरै विकास गर्न बाँकी छ । हुन त हामी बाटो बनाउँछौँ, फेरि बिग्रिहाल्छ । हामीसँग खानेपानीको ठूलो समस्या छ । व्यवस्थित गर्न बाँकी छ । युवाहरूमा बेरोजगारीले निराश हुने समस्या छ । यो डरलाग्दो कुरा पनि हो ।

हाम्रो अहिले सबैभन्दा ठूलो प्राथमिकता भनेको अब नगरपालिकाले के गर्न आवश्यक छ र युवामा देखिएको निराशालाई चिर्दै युवालाई सामाजिक अभियानमा जोड्ने । यो अब नगरपालिकाको काम हुने छ ।

कीर्तिपुरमा पानीका आफ्नै मुहान छन् । दुधपोखरी मुहान, सिम मुहान छन् । ती मुहानलाई व्यवस्थित गरेको खण्डमा थप ४० प्रतिशत पानी व्यवस्थित गर्न सकिन्छ । हाम्रो अध्यापनले त्यो बताएको छ । त्यो ४० प्रतिशत पानीलाई व्यवस्थापन गर्न सके पानीको समस्याबाट कीर्तिपुरलाई मुक्त गर्न सकिन्छ । यहाँ मेलम्चीको पानी पनि आउँछ । तर वितरण प्रणाली व्यवस्थापन मिलेको छैन । पानी आइरहेको छ तर सबै ठाउँमा पुगेको छैन । कहीँ दुई घण्टा,  कहीँ १ घण्टा ।

कीर्तिपुर नगरपालिका १, २, ३, ९, १० डाँडामा पर्छन् । बाँकी ५ वटा वडा डाँडा भन्दा बाहिर छन् । जस्तो– पुष्पलाल पार्क, कंलकीसँग जोडिएको ट्याङलाफाँट आदि ।

अहिले कीर्तिपुरमा ७४ हजार जनता बस्छन् । ३१ हजार मतदाता छन् । त्रिभुवन विश्वविद्यालय पढ्नका लागि र कामका लागि अस्थायी रूपमा आउने म्यानपावरसमेत गरेर १ लाख मान्छे कीर्तिपुरमा बसोबास गर्छन् । हाम्रो योजना १ लाख मान्छे बस्न कसरी योग्य बनाउने भन्ने छ ।

यहाँ सार्वजनिक जग्गा र गुठिकै जग्गाको बारेमा पनि केही समस्या छ । यो नगर सरकार हो । हामीले संघीयताको त्यति प्रयोग गर्न पाएको छैन । म निर्वाचित भएर आएपछि नगरपालिका मातहतमा नापी कार्यालय स्थापित गरेर यी तमान काम समाधान गर्ने गर्छु ।

त्रिभुवन विश्व विद्यालयले ०१३ सालमा यहाँका किसानबाट लिएका जग्गाहरूलाई कीर्तिपुरका जनताको सामूहिक प्रयोगका कसरी गर्ने त्यहाँ हामी जान्छौँ । व्यक्ति व्यक्तिलाई जग्गा वितरण गर्न प्रक्टिकल हुँदैन होला । त्यो कारण त्यो जग्गामा नेपालमै ठूलो आँखा अस्पताल बनाउँछौँ । त्यो काम दुई वर्षभित्र थालनी हुन्छ र शिक्षण अस्पताललाई निमार्ण कार्य अगाडि बढ्छ ।

यसरी जग्गालाई सामूहिक उपयोगमा कसरी लाने, त्यो तरिकाले लगिन्छ ।

त्रिभुवन विश्व विद्यालय स्वायत्त संस्था हो । त्यसको क्षेत्राधिकारभित्र प्रवेश गर्न सकौला कि नसकौला तर संविधानले दिएको नगर क्षेत्रको अधिकारलाई भरपुर रूपमा प्रयोग हुन्छ । क्रिकेट मैदानलाई कसरी अगाडि बढाउने त्यो पनि सोचिन्छ ।

चुनावमा अहिले पनि वामपन्थीकै जनमत बलियो छ । वामपन्थी विभाजित भएर कम्युनिस्ट आन्दोलन पछि परेको इतिहास छ । नेपालमा पनि त्यो छ । जनमतमा हामी बलियो छौं । कतिपय व्यवस्थापकीय कमजोरीहरू भएका छन् । विगतबाट सिकेर यो पटकको निर्वाचनमा व्यवस्थापिका पक्षलाई अत्यन्त सबल बनाएर लगिरहेका छौं । हामीले शतप्रतिशत घरदैलो सक्यौं ।

यो पटक पार्टीमा एक भावना छ । हामी हार्ने चान्स छैन । ०७९ को निर्वाचनमा गणितमा ३ हजारभन्दा बढी ग्याप छ कांग्रेस एमालेको तर जनमत अस्थायी र जनता थाई चिज भएकाले यसलाई हेर्नुपर्छ । कीर्तिपुरमा एमाले कहिल्यै हार्दैन थ्यो । तर, एमालेले एक पटक जित्दा जनताको जनमत फेरियो ।

हाम्रो स्वर्गीय मेयर राजकुमार नकर्मीजी उम्मेदवार हुँदा पनि अत्यन्त बिरामी हुनुन्थ्यो । उहाँले जित्नुभयो तर नगरपालिकामा प्रवेश गरेर काम राम्रोसँग गर्न पाउनुभएन । उहाँको देवसान भएपछि त झन् लथालिङ्ग भयो । आज नगरपालिका हेर्दा जनप्रतिनिधिको बिचमा अत्यन्त धेरै गुटबन्दी छ ।

जनप्रतिनिधिहरूलाई ठाउँमा ल्याउनका लागि पनि सक्षम, सबल र समन्वयकारी नेतृत्व नेकपा एमालेले प्रस्तुत गरेको छ ।

वडा अध्यक्षहरूले पनि सबल र सक्षम नेतृत्व नभएका कारण पर्फमेन्स गर्न सक्नुभएको छैन । सबै जनप्रतिनिधि साथीको क्षमता उजागर गरेर एक आपसमा मिलेर यो नगरपालिका बनाउनुपर्छ ।

पुराना पार्टीप्रति वितृष्णा छ भनेर अफवाह फैलाइएको छ । तर, जनता यो कुरा मान्न तयार छैनन् । जनताको अपार माया र समर्थन मिलेको छ । प्रतिस्पर्धीमध्ये हामीले धेरै भोट ल्याएर जित्दै छौं ।

हामी नगरपालिकामा निर्वाचित भएपछि पहिलो सन्देश नै कीर्तिपुर मिलेर बनाऊँ भन्ने सन्देश हुन्छ । मेयर एमालेको हुने छ । वडा नम्बर १ र ४ को वडाअध्यक्ष एमालेको हुने छ । अब हामी मिलेर नगरपालिका चलाउँछौँ ।

रास्वपाको पनि भित्री साथ छ, हामी चुनाव जित्छौं

शिवशरण महर्जन, नेकपा माओवादी केन्द्रका उम्मेदवार

मेरो माहोल निकै नै राम्रो भएको बुझेको छु । हुन त मेरै अगाडि म तिमीलाई भोट दिन सक्दिनँ भन्न सक्ने कमै मात्रै हुँदा रहेछन् । त्यसकारण म सबै वृद्धिजिवी साथीहरूलाई मेरो उम्मेदवारीमा भएका कुनै पनि कमी कमजोरी औँल्याइदिनका लागि अनुरोध गर्छु । मलाई भोट दिन्छु भन्ने साथीहरूलाई पनि क्रसचेक गरिदिनुहोस् भनेर सबैलाई भन्न चाहन्छु । हाम्रो भोट राम्रो आउँछ तर हरेक वडामा हाम्रो कति भोट आउँछ त्यसलाई नोट गरिदिनुहुन अनुरोध गर्दछु ।

यो चुनावको बेला अन्य पार्टीले पैसा र भोज भतेरमा खेल्न सक्छन् । हाम्रो विपक्षीले हाम्रा जनतालाई भ्रमित पारेको पाउँछौँ । जनताहरू सचेत नभएको कारणले गर्दाखेरि दुई÷चार दिनमा जे पनि हुन सक्छ । त्यसकारण हामीले यस्ता कुरामा पनि विचार गर्नुपर्छ ।

म ०७९ को निर्वाचनमा पनि मेयरमा उठेको थिएँ । त्योबेला हामीले टेक्निकल मिस्टेकले हार्नु परेको थियो । त्यसका साथै हाम्रो गठबन्धन टुटेको थियो।

काठमाडौं जिल्लामा रहेका ११ वटा पालिकामध्ये एउटा एकीकृत समाजवादीलाई, एउटा माओवादीलाई र ९ वटा नेपाली कांग्रेसलाई दिने भनेको थियो तर यो कुरा कीर्तिपुरमा लागु भएन । कीर्तिपुरमा नेपाली कांग्रेसका साथीहरूले हामी छाड्दै छाड्दैनौँ भनेपछि पहिलाको निर्णयविरुद्ध उम्मेदवार दिनुपरेका कारण हामी पराजित भएका छौं । एमाले हराउने नाममा कांग्रेसलाई मत दिएछन् । किनकि ३ वटा वडा हामीले छाडेका कारण माओवादीलाई जित्दैन कि क्या हो भन्ने भान परेको हुन सक्छ । अहिलेको स्थिति यो छैन ।

अहिले हामीलाई एकीकृत समाजवादीले पनि साथ दिनुभएको छ । माओवादी पनि एकताबद्ध भएको छ । नेसपा र जसपाले पनि सहयोग गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूले पनि सहयोग गर्नुभएको छ । भ्रष्टाचार र सुशासनमा पार्टीले जोड दिएका कारण उहाँहरूले पनि हामीलाई आन्तरिक रूपमा सहयोग गर्नुभएको छ । अहिले हामी जित्छौँ भन्ने कुरामा विश्वस्त छौं ।

म माओवादी होइन, तर……

श्याम श्रेष्ठ, विश्लेषक

म माओवादी पार्टीको मान्छे होइन तर म के भन्छु भने डा.शिवशरण महर्जनलाई यो पटक जिताउँनैपर्छ । उनलाई जिताउनका लागि पार्टीका मान्छे मात्र होइन, समग्र मानिसहरू नै लागेका छन् ।

यहाँको हरेक सङ्घर्षमा शिवशरण महर्जन भिजेको मान्छे हो । यहाँ क्याम्पस स्थापना गर्ने, विद्यालय स्थापना गर्ने र विद्यालयलाई व्यवस्थित गर्ने जस्ता हरेक कुरामा उहाँको महत्त्वपूर्ण साथ छ ।

कीर्तिपुरको नागरिक आन्दोलनको शीर्ष नेतृत्वमा पनि उनी नै पाइन्छ । तर हरेक सामाजिक काम र सहयोगको धरातलमा उभिएका उनीजस्ता मान्छेलाई पनि हराउन विभिन्न व्यक्तिले खेल खेल्न सक्छन् त्यसकारण निर्वाचनको अन्तिम मौन अवधि भनेको उम्मेदवारलाई मात्र भोट मान नभिड्नु भनेको हो ।

अन्य साथीहरूले मतदाताको मन भाँड्न खोज्ने कसैलाई पनि राम्रोसँग सम्झाई बुझाई गर्नुपर्छ । तीनदिन मौन अवधिमा कायापलट नै हुन सक्ने विभिन्न उदाहरण छन् ।

स्वच्छ व्यक्तित्व र निष्कलङ्क व्यक्तित्वलाई कीर्तिपुर नगरपालिका विजयी बनाउन उहाँको उम्मेदवारीलाई म पूर्ण समर्थन गर्न चाहन्छु । कीर्तिपुरले खोजेको व्यक्तित्व पनि शिवशरण जस्तै हो । उहाँ अहिले चर्चाको शिखरमा हुनुहुन्छ ।

अरू उम्मेदवारमा झगडा छ तर माओवादीमा झगडा छैन । त्यसकारण पनि यो पटक उहाँले जित्नुहुन्छ । पर्यटन विकासको पनि थुप्रै सम्भावना भएकाले डा. शिवशरणसँग त्यसको पनि खुबी छ । त्यसकारण उहाँलाई जिताएर जानुपर्छ ।

म जनताको कारिन्दा र ज्यामी हुन चाहन्छु

राजमान महर्जन, स्वतन्त्र उम्मेदवार

स्वतन्त्र उम्मेदवार राजमान महर्जन

म एउटा सरसफाइ अभियन्ता हुँ । मेरो व्यक्तिगत व्यवसाय छैन । तर, हाम्रो लहना भन्ने सामूहिक व्यवस्थापन छ । यहाँ ७७ परिवार रहनु भएको छ । यो समाज भनेको कस्तो हुनुपर्छ ? समाजलाई कसरी व्यवस्थित गर्नुपर्छ भन्ने यो लहना नमुना पाठशाला हो । त्यसकारण यो समाजमा कोही बेरोजगार छैनन् । रोजगार भएको सहर धनी हुन्छ भन्ने मान्यता राख्छु । त्यसकारण यो धनी छ । जहाँ बेरोजगारी हुँदैन, त्यहाँ सम्पन्न समाज हुन्छ ।

यहाँ विभिन्न सेवाहरु छन् । आफ्नै बेकरी छ, रेस्टुरेन्ट छ, टेलर्स छ, होमस्टे लगायत सबै छ । एक किसिमले यसलाई व्यवस्थापन गर्ने विधिका रूपमा प्रस्तुत गरेको १९ वर्ष भयो । अहिले यो लहनामा ३३२ जना सदस्य हुनुहुन्छ । यहिलेसम्म कोही बेरोजगार छैन । सबैले मिलेर काम गर्छन् । म यहाँको अध्यक्ष हुँ । हाम्रो ११ जनाको कार्यसमिति छ । कहिल्यै नराम्रो भएको छैन । हामी हरेक ४ वर्षमा साधारणसभा गर्छाैं ।

मैले ०६० सालमा राजनीति छाडेको हो । अभियन्ताका रुपमा धेरै मेयरहरूसँग यो नगरपालिका व्यवस्थित गर्न बिन्ती गरें । उहाँहरूले मेरो कुरा कहिले सुन्नुभएन । यो ठाउँ व्यवस्थापन गर्नका लागि मेयरसँगै अधिकार छ । त्यसकारण आफूसँग अधिकार नभएपछि सँगसँगै लान सकिन्छ कि भनेर दुई वर्षका लागि मात्र म मेयर हुन खोजेको हो ।

म चुनावमा आउने मान्छे हैन । २ वर्ष पछि म यसलाई जसले निरन्तरता दिन सक्छ, उहाँहरूलाई छाडिदिन्छु ।

यहाँ ८०/९० हजार जति जनसङ्ख्या छ । यो सबै जनसङ्ख्याका लागि म अध्यक्ष हुन खोजेको छु । किनभने म अध्यक्ष भएको लहनामा यति व्यवस्थित छ भने म नगरपालिकाको मेयर भएँ भने समपूर्ण यो नगर नै यहाँजस्तै व्यवस्थित हुन्छ ।

घरदैलोमा जाँदा पनि जनतालाई पार्टी र दललाई भोट नदिने भनेका छन् । जनताले मलाई जिताउँछु भनेर बचन दिनुभएको छ । उहाँहरूले त दलको नाम नै लिन चाहनुभएको छैन । जनताले जिताउँछु भनेर पुराका पुरा साथ दिनु भएको छ ।

यहाँ उठेका स्वतन्त्रमध्ये अरू पार्टीका बागी उम्मेदवार हुन् । म मात्र स्वतन्त्र हो । चार/पाँच जना त पार्टीका बागी उम्मेदवार नै छन् । मतपरिणाममा अलिकति धाँधली गर्न सकिन्छ कि भनेर डमी उम्मेदवार उठाएका छन् । स्वतन्त्र म मात्र हो । एक जना ।

धरानका मेयर हर्क साम्पाङले मलाई सघाएको मात्र होइन, उहाँ यहीँ बसेर लागिरहनु भएको छ ।

कीर्तिपुर यो पटक अभियानको थलोका रूपमा बन्छ । २ वर्ष म जनताको कारिन्दा र ज्यामी हुन चाहन्छु । एउटा इमानदार सक्षम र निरन्तर खट्ने ज्यामी हुन चाहन्छु ।

म ०६० सालसम्म नेकपा एमाले जिल्ला कमिटीको सदस्य थिएँ । एमालेबाट प्रधानमन्त्री भएका व्यक्तिले जनताको निर्णय विरुद्ध कार्य गरे पनि त्यसलाई राम्रो भन्नुपरेपछि म आजित भएँ । कसैको नराम्रो कार्यलाई राम्रो भन्नुपर्ने भएपछि मैले पार्टी छाडेको हो ।

यो कीर्तिपुरका सबै जनताले मलाई मज्जाले भोट दिनु हुन्छ । ३१ हजार मतदातामा ८० प्रतिशत मतदाता नेवार समूदायबाट हुनुहुन्छ । पार्टीहरुप्रति जनताको निराशा र प्रतिक्रिया हेर्दा अब पार्टीका नेताहरूले भोट पाउँछन् कि पाउँदैनन् भन्ने छ । अन्योल छ । जनता कसैले पार्टीलाई भोट दिने भनेर भनेकै छैन । कार्यकर्ता त पार्टीका कति नै होलान् र कीर्तिपुरमा ? नेताको मन ‘हाकु’ कालो भएपछि जनताले दुख पाए ।

हार शब्द मैले सुन्नु नै पर्दैन होला । किनकि म स्वतन्त्रहरुको पनि महाअभियानबाट आएको हो । सबैको विश्वास र साथ रहने छ । मलाई यो पटक जनताले विश्वास गरे भने म उहाँहरूको भरोसा टुट्न दिने छैन ।