बाजुराबाट कक्षा १२ को परीक्षा सकेर काठमाडौँ छिरेका १८ वर्षीय विक्रम विष्टले अब देखेको बाटो भनेको कोरियाको रोजगारी हो । स्नातक तह पढ्ने, लोकसेवा भिडेर सरकारी सेवामा प्रवेशको खोजी ‘नजाने गाउँको बाटो नखोजे’ सरह भयो । घरको आर्थिक अवस्थामा सुधार ल्याउन वैदेशिक रोजगारीको विकल्प उनले देखेका छैनन् । त्यसैले कोरियन भाषा सिकाउने पुस्तकको खोजीमा विक्रम पुस्तक पसल चाहारिरहेको भेटिए ।
एक दशकअघिसम्म १२ पास गरेपछि सरकारी सेवामा प्रवेश गर्ने भोक अब वैदेशिक रोजगारी, विदेश पढ्ने भीडमा रूपान्तरण भएको छ । जसको प्रत्यक्ष असर पठन संस्कृतिमा परेको छ । पहिला पहिला पढ्न, लोकसेवाको तयारीका लागि काठमाडौँ आउनुपर्ने बाध्यताको अन्त्य भएपछि काठमाडौँका नामी पुस्तक प्रकाशन गृह चल्नै नसक्ने अवस्थामा पुगेका छन् ।
सरकारी नियम, कानुन अनलाइनमै प्राप्त हुने, लोकसेवा तयारी कक्षाहरू भर्चुअल माध्यमबाट गराइने, सूचना र जानकारी अनलाइनका विभिन्न स्रोतबाट प्राप्त हुने हुँदा ग्राहक पातलिएको दुखेसो पुस्तक पसलेहरूको छ । अझ प्लस टु जेनेरेसनको पाठ्यक्रम समेत अनलाइन केन्द्रित बनाइँदा त्यसको असर व्यवसायमै गएर ठोकिएको छ ।
इन्टरनेटको माध्यमबाट जुनसुकै समय, जहाँ पनि सहजसँग प्राप्त सूचना सामग्रीका कारण किताबप्रतिको मोह घटेको पाठकहरू बताउँछन् । अस्ट्रेलिया जाने तयारी कन्सल्टेन्सी धाइरहेका कैलास बम भन्छन्- ‘जाँचको प्रश्नपत्र त पहिल्यै सार्वजनिक हुने पारदर्शी पढाई विश्वमा चलिरहँदा गेस पेपर, गाईडजस्ता सामाग्री बिकेनन् भन्नु समयको प्रवाह नचिन्नु हो । आईटीले ल्याएको परिवर्तनको असर अब बजारमा पैसाको अनुहार समेत देखिन छोडेको छ । साग व्यापारी समेत डिजिटलमा गइसकेको अवस्थामा हामी फेरि त्यही सिमसिमे राजाको युगको आवश्यकतामा जोड दिइरहेका छौँ । जुन तर्कमा कुनै तुक छैन ।’
प्रकाशन गृहहरू युवा, विद्यार्थीहरू विदेशिने लहरले आफ्नो व्यवसाय धराशायी बन्दै गएको निष्कर्ष निकाल्छन् । उनीहरु भन्छन्–‘महँगो सटर भाडा, सरकारको अव्यवहारिक कर नीतिसँगै थपिएको व्यापार मन्दीले अब सटर बन्द गर्नुको विकल्प छैन ।’
विद्यालय र कलेजका किताब, लोकसेवा आयोगका पाठ्यक्रम, गाइड, गेस पेपर र कानुनका पुस्तक बिक्री गर्ने पुतलीसडकका पुस्तक व्यवसायीहरू यस्ता पुस्तक इन्टरनेटका कारण बिक्री हुन छोडेको बताउँछन् ।
६ वर्षदेखि पुस्तक व्यवसाय चलाउँदै आएका अनुप पौडेल आफूले व्यवसायकाे दौरानमा यस्तो नमिठो अनुभव पहिलो पटक गरिरहेको बताउँछन् । आफूले लोकसेवाका पुस्तकमा लगानी गरे पनि बजारमा भने कोरियन र जापानी भाषाको पुस्तक खोज्ने ग्राहक बग्रेल्ती भेटिएको उनको भनाइ छ । त्यसबाहेक धार्मिक पुस्तकमा आम पाठकको रुचि देखिएको छ ।
‘भागवत गीता बीचमा एकदमै भाइरल भएको थियो । राजनीतिसँग जोडिएकाले राजनीति गर्नेहरू यो पुस्तक खोज्न आउँथे । तर हातहातमा मोबाइल भएकाले हरेक मानिस इन्टरनेटकै भर पर्न थालेका छन् । पुस्तकको हकमा एउटाले किनेपछि त्यही पुस्तक पालो गरी गरी सबैले पढ्ने भएकाले पनि बिक्री पातलिएको हो ।’ व्यवसायी पौडेलको विश्लेषण छ ।
पुतलीसडकमै स्टेसनरी व्यवसाय गर्दै आएका मुस्कान राउत आर्थिक मन्दीको प्रभावबाट यो क्षेत्र मारमा परेको बताउँछन् । उनले भने, ‘यो पसल सञ्चालन गरेको ६ वर्ष भयो । यस बीच मैले अनुभव गरेको के हो भने हिजो व्यापार बढी, भाडा कम थियो । आज भाडा वृद्धि भयो तर व्यापार सुक्यो ।’ ।
यस्तै अवस्था हो भने पुस्तक व्यवसाय गर्ने मान्छे अबको केही वर्षभित्र विलय हुने अवस्था आउने राउतले बताए । उनको पसलमा कलेज, लोकसेवा लक्षित किताब राखेको भएपनि त्यसप्रति कसैको रुचि देखिदैन । पुस्तक पसल सञ्चालकहरु भन्छन्– ‘पुस्तक पढ्नुपर्ने दायित्व बोकेका शिक्षक, प्राध्यापक, वकिल, पत्रकार, साहित्यकार नै पढ्दैनन् । कतिसम्म भने पुस्तकको समालोचना गर्ने जिम्मेवारी पाएको व्यक्तिले पनि समालोचना गर्नुपर्ने पुस्तक आद्योपान्त पढ्दैन । फेसबुकमा आएका उडन्ते विषयमा सबै मग्न छन् । गहिरो चिन्तन गर्ने प्रवृत्ति हराएको छ । यसले हामीलाई नै आश्चर्यमा पारेको छ ।’
माइतीघर मण्डला अघिल्तिर पुस्तक पसल सञ्चालन गरिरहेका मनिराम बेलबासे एक दशकदेखि प्राविधिक विषयका पुस्तक बेच्दै आएका छन् । इन्जिनीयरिङका पुस्तकले धर्म धाने पनि अरु विधाका पुस्तकको व्यापार दयनीय अवस्थामा पुगेको बेलबासे बताउँछन् । ‘साँच्चै भन्ने हो भने कोरोनाको प्रभावपछि पुस्तक व्यवसाय माथि उठ्नै सकेन । सीप लगानी गर्ने ठाउँ विस्तार नहुँदा नेपाली जनशक्ति बाहिरियो ।’ उनी थप्छन्– ‘कलिलो मस्तिष्कदेखि नै विद्यार्थीहरुमा यो देशमा बसेर भविष्य छैन भन्ने नकारात्मक सन्देशले बास गर्यो । नेपालको लागि उपयुक्त शिक्षाको व्यवस्थापन हुने हो भने युवा शक्ति विदेश गइराख्न नपर्ने र पुस्तक व्यवसाय पनि सन्तुलनमा फर्कन सक्थ्यो ।’
लोकसेवाका पुस्तक लेखक तिलोचन सापकोटा भने पुरानै लेखन शैलीमा परिवर्तन ल्याउन नसक्दा पनि त्यसको असर व्यापारमा परेको बताउँछन् । नयाँ पुस्ताको रुचि समेट्न सकेको स्थितिमा केही सुधार आउने सापकोटाको अपेक्षा छ ।
पुस्तक व्यवसाय पनि चलाउँदै आएका सापकोटा विगत सम्झदै भन्छन्– ‘पुस्तक बेच्ने भ्याइनभ्याईले खाजा खाने समय निकाल्न समेत चर्को पर्थ्यो । नेपालमा हुने बौद्धिक कमाइले मानिसको जीविका चल्न छोडेपछि हरेक मानिसमा विदेशको मोह बढ्न थाल्यो । त्यसैले पुस्तक पसलमा आउने सयमा ६० प्रतिशत मानिस भाषा पुस्तकको खोजीमा छ । अहिले हाम्रो काम त सटर खोलेर घाम ताप्ने मात्रै हो ।’
विगत आठ दशकदेखि पुस्तक प्रकाशन बिक्रीको काम गर्दै आएको नेपालकै ख्यातीप्राप्त प्रकाशन गृह रत्न पुस्तक भण्डारमा पनि पुस्तक किन्न आउनेहरू पातलिएका छन् । धार्मिक पुस्तक पाइने रत्न पुस्तक भण्डार माइतीघरस्थित पुस्तक पसल सुनसान देखिन्छ ।
कागजमा रहेको अस्वाभाविक करका कारण भारतमै पुस्तक छपाएर ल्याउने कारण पनि पुस्तक प्रकाशन प्रभावित भएको कतिपयको विश्लेषण छ । जे भएपनि इन्टरनेटलाई देखाएर प्रज्ञा र चेतनाको अजस्र स्रोत रहेको पुस्तकप्रति चासो घट्दै जानु शुभ सन्देश हुँदै होइन ।