रोगमा फूल, शोकमा फूल, आँसुमा फूल, हाँसोमा फूल । असल र फरासिलो मानिसलाई उपमा दिँदा भन्ने गरिन्छ– फूलजस्तै मान्छे । मन खुसी हुँदा बखत फूलजस्तै फक्रिएको मन लिएर मानिस विभिन्न सपना सजाउँछ । देवकर्मदेखि पितृकर्मसम्म फूलकै महात्म्य छ ।
माघ महिनामा बिहे, व्रतबन्ध, पूजाआजा, पुराणजस्ता मांगलिक काममा जानुभएको होला, त्यहाँ सर्वत्र फूलकै साम्राज्य हुन्छ । अझ शहर बजारमा यो मौसममा गुलाफका बुके र फूलका मालाको खपत बढेको पाइन्छ ।
आश्चर्य त के छ भने नेपालको फूल बजार भारतीय आयातमा निर्भर छ । अफ सिजनमा त झन जंगलमा पाइने पानीअमलाको पातबाहेक अन्य उत्पादन शून्यजस्तै छ ।
दशैं तिहारताका फुल्ने सयपत्री र गोदाबरी फूलको आयु एक महिना पनि रहँदैन ।
काठमाडौँको फूल बजारमा भारतीय उत्पादनकै वर्चस्व छ । बाहिरबाट फूल ल्याएर बनाइएको बुकेको मूल्य कति पर्छ त ? ३५० देखि ६ हजार वा अर्डरअनुसार त्यो भन्दा माथि र विवाह माला ३ हजारसम्म पर्छ ।
सबैभन्दा बढी विक्री हुने सयपत्री माला सरदर ७० र गुलाफको फूल प्रतिगोटा ६० रुपैयाँसम्म विक्री हुने गरेको व्यापारी बताउँछन् ।
२५ वर्षदेखि दरबारमार्गमा फूल व्यवसाय गर्दै आएकी मीना तामाङ श्रेष्ठ फूल बजार भारतीय बजारमा निर्भर रहेको बताउँछिन् ।
उनी भन्छिन् ’नेपालमा उत्पादन भएको फूल सस्तो त आउँछ तर त्यसले महिना बढी धान्न सक्दैन । बाहिरबाट ल्याइने भएकाले स्वाभाविक मूल्य बढ्ने भइहाल्यो । भ्यालेन्टाइन दिवसमा गुलाफको माग बढी हुने भएकाले त्यतिबेला गुलाफको फूल एउटाको सय रुपियाँसम्म पर्छ । ’
फूल एक दिनमै ओइल्याउँछ । तर विदेशबाट ल्याएर पसलमा राखिएका फूल हप्तौंसम्म सुरक्षित रहन्छ । आखिर कसरी ? मीना भन्छिन– ‘गुलाफको फूल बाकसमा प्याक भएर आउँछ । त्यसमा पनि १५ वटा अलि माथि र १५ वटा अलि तर गरेर एउटा प्याकमा ३० वटा आउँछ । फूल उत्पादन गर्दा नै त्यही प्रविधिको प्रयोग भएकाले हुनसक्छ, बाहिरबाट ल्याइएको फूल अलि समय टिक्छ ।’
फूलको मूल्य विदेशी बजारमा निर्भर रहेकाले बद्लिरहन्छ । अझ विक्री नभएको फूल फाल्नु पर्ने हुनाले यसको व्यापार आफैँमा जोखिमपूर्ण छ । गुलाफ मात्र नभई लिमुनिया, गोदाबरी र जिम्सी जातका फूल भारतबाटै ल्याइन्छ ।
कोभिडताका थला परेको फूल व्यापारमा सुधार नआउँदै फेरि आर्थिक मन्दीको मारमा परेको व्यवसायीहरू बताउँछन् । डेढ दशकदेखि फूल व्यापार गर्दै आएका भोल राहु यतिबेला कामको चापाचाप हुनुपर्ने दिनमा फुर्सदले बस्नु परेको पीडा पोख्छन् ।
भीआईपी र पर्यटकको घुइँचो लाग्ने दरबार मार्गको विगत अहिले नरहेको भन्दै राहु व्यवसाय टिकाउनै चर्को परेको पीडा सुनाउँछन् ।
अर्का फूल व्यवसायी अजय लामा विवाह, ब्रतबन्धको प्रमुख साइत रहने माघ महिनामा यस्तो मन्दी आफूले पहिलो पटक अनुभव गरेको बताउँछन् ।
अहिले फूल बजारमा रिफ पनि उल्लेख्य संख्यामा बिक्ने गरेको छ । रिफ भनेको पार्थिव शरीरमा फूलको कला कृतिबाट तयार गरिने गोलो रिङ हो । सभ्रान्त परिवारले मांगलिक काममा घर, कम्पाउन्डको सौन्दर्यमा पनि यसको प्रयोग गर्ने गर्छन ।
फूल व्यापारी रिता बलामी हिउँद याम फूल उत्पादनका दृष्टिले सुख्खा मौसम भएको बताउँछिन् ।
यो बेला उपत्यकाको काँठ क्षेत्रबाट आउने पानी अमलाको पात बाहेक अरु फूल उत्पादन शून्य जस्तै हुने उनको अनुभव छ ।
रिता थप्छिन– ’हाम्रा दिदी बहिनीले दुख गरेर ल्याउँछन् , जसमा हामीले एक मुठाको १५० रुपैयाँमा किन्छौँ । यसरी दिदी बहिनीले रोजगारी पनि पाएका छन् । यसलाई हामीले बुकेमा सजाउँछौँ ।’
फूल र फूलजन्य वस्तुको वार्षिक कारोबार करिब ३ अर्ब बढीको हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का सचिव हीरामणि शर्माले बताए । यसमध्ये ८० प्रतिशत नेपाली उत्पादनको कारोबार हुन्छ, २० प्रतिशत आयात हुन्छ र निर्यात अंश नगण्य छ ।
फूल खेतीमा आत्मनिर्भरको सम्भावना कतिको छ ? शर्मा भन्छन्– ‘पूरा आत्मनिर्भर हुन कठिन छ किनकी बीउ बाहिरबाटै ल्याउनुपर्छ । त्यतिमात्र हैन कट फ्लावर पनि आयात नै गर्नुपर्ने अवस्था छ ।’
यदि निजीक्षेत्रले लगानी बढाउने र सरकारले नीति खुकुलो बनाउने हो भने केही वर्षमै आत्मनिर्भरको यात्रा तय गर्न सकिने व्यवसायी शर्माको धारणा छ ।
नेपालमा उत्पादन र बजारीकरण गरी करिब हजार व्यवसायीहरू फूल खेतीमा संलग्न रहेको बताउँदै सचिव शर्मा शहर र गाउँमा फूल व्यवसाय फैलिएको जानकारी दिन्छन् । उनका अनुसार काठमाडौँ उपत्यका र आसपासको काँठ क्षेत्रले सम्पूर्ण उत्पादनको ६० प्रतिशत धान्छ । त्यसबाहेक पोखरा, चितवन, काभ्रे, मकवानपुर र धादिङमा फूल खेती हुने गरेको छ ।
तस्बिर :चिरायु शाक्य /खबरहब