मनोरञ्जन

बिक्री भयो ‘पुजार सार्की’ को इन्टरनेसनल राइट्स

By खबरहब

January 29, 2024

काठमाडौं- मल्टिस्टारर फिल्म ‘पुजार सार्की’को इन्टरनेसनल राइट्स बिक्री भएको छ ।

एमएमएस इन्टरटेन्मेन्टले इन्टरनेसनल राइट्स खरिद गरेको फिल्मका निर्देशक दिनेश राउतले खबरहबलाई जानकारी दिए । उनले कतिमा राइट्स बिक्री भएको हो भन्ने चाहिँ खुलाउन मानेनन् ।

उनले भने, ‘नेपाली फिल्मलाई विदेशमा विस्तार गर्ने उद्देश्यले प्रवासमा रहेका नेपालीहरुले स्थापना गरेको कम्पनीलाई राइट्स बेचेकाले पैसा नखुलाउने सहमति भएको छ । खुलाउँदा उहाँहरुलाई पछि काम गर्न असहज हुन्छ ।’

फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक भएलगत्तै राइट्स बिक्री भएको हो । नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य अभिनय रहने यो फिल्म मंगलबार (भोलि) बाट छायांकनमा जाँदैछ ।

विकास सुवेदीको लेखन रहेको यो फिल्ममा सुवास भुसालको लगानी रहेको छ ।