काठमाडौं– नेपालमा बर्षेनी ५ हजार बढी नर्सहरू उत्पादन हुने गरेका छन् । नर्सिङ पढ्न लाखौँ खर्च गर्ने नर्सहरूले अत्यन्तै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर एउटै नर्सले १५ देखि २० जना बिरामी हेर्नुपर्ने दबाब छ ।
लामो समयदेखि सरकारले नर्सका लागि दरबन्दी नखुलाउँदा धेरै नर्सहरू बेरोजगार बस्नुपरेको गुनासो सरोकारवालाहरुको छ ।
६२ औं नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ संघले गरेको कार्यक्रममा सरोकारवालाहरूले स्वदेशमै आवश्यक नर्सहरूको माग पुग्न नसकेको अवस्थामा रोजगार र उचित पारिश्रमिक नपाउँदा विदेश पलायन हुनु दुखद भएको बताए ।
बेला बेलामा सरकारले नर्सहरूको सेवा सुविधाको कुरा उठाए पनि, आफ्ना समस्यामा सरकार गम्भिर नभएको गुनासो उनीहरूले गरे । नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईले नर्सहरूको पढाई र योग्यता अनुसार तलब नभएको बताइन् ।
नेपालमा नर्सहरूलाई एकदमै न्यून पारिश्रमिक भएको उनको असन्तुष्टि थियो ।
नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष प्रा. डा. तारा पोखरेलले नर्सहरूलाई पर्याप्त सुविधा दिएर नेपालमै राख्नु पर्ने बताइन् । नेपालका अस्पतालमा नर्सको अभाव छ । बेलायत र क्यानडाले नेपाली नर्स माग गर्छ । नर्स सबै बाहिर पठाएर नेपालमा के गर्ने ? स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरूलाई सुविधा दिएर नेपालमै राख्नुपर्छ, उनले भनिन् ।
नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष सानु तुलाधरले नेपालमा काम गर्ने मान्छे छैन, भएको जनशक्ति बाहिर जानुमा सरकार नै दोषी रहेको बताइन् । वरिष्ठ नर्स विजया केसीले निजी क्षेत्रमा काम गर्ने नर्सहरूको न्यून तलबमा श्रम शोषण भइरहेको बताइन् ।
अस्पतालमा २४ घण्टा बिरामीकै सेवामा रहने हुँदा नर्स बिरामीको लागि आडभरोसा बनेका हुन्छन् । तर पछिल्लो समय नर्सको मायालु व्यवहार र सेवा पाउन छाडिएको गुनासो बढ्दै छ । नर्स स्वयं पनि यो सत्य स्वीकार गर्छन् ।
एउटै नर्सले धेरै बिरामी हेर्नु र लामो समयसम्म ड्युटी गर्नुपर्ने गर्दा पनि नर्सले दिने सेवामा गुनासो आउन थालेको टोखा नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत एक जना नर्सले बताइन् । एउटै नर्सले लामो समयसम्म ड्युटी गर्नुपर्ने, एउटैले धेरै बिरामी हेर्नुपर्ने हुँदा पनि आराम नपुग्दा उनीहरूको सेवामा गुनासो बढेको उनले भनिन् ।