ब्रेकिङ स्टोरी

कुर्सीको बसाइले हाड जोर्नी दुख्यो ? चिकित्सक भन्छन्– म्यानुअल थेरापी गराउनुस्

By पवन मुडभरी

February 29, 2024

पछिल्लो समय जुनसुकै रोगको उपचार तथा सर्जरीमा फिजियो थेरापीको प्रयोग हुने गरेको छ । फिजियो थेरापी अन्तर्गत नै पर्ने म्यानुअल थेरापी पनि अहिले प्रभावकारी भइरहेको छ ।

यस पद्धतिबाट कम समयमै दुखाइ कम गर्न सकिन्छ । कतिपय केसमा पेन किलर भन्दा यसले छिटो काम गर्दछ । साथै यसले हड्डी खिइने समस्यालाई पनि रोकथाम गर्ने चिकित्सकहरू बताउँछन् । म्यानुअल थेरापी कस्तो थेरापी हो ? कस्ता बिरामीमा यो थेरापी गरिन्छ ? यसको उपचार पद्धति कति लामो छ ? भन्ने विषयमा मांसपेशी तथा हाडजोर्नी विशेषज्ञ डाक्टर प्रतिभा अधिकारीसँग गरिएको कुराकानी–

म्यानुअल थेरापी कस्तो थेरापी हो ? यो फिजियो थेरापीकै एउटा पाटो हो । जुन कुनै पनि औजारको प्रयोग नगरी हातको माध्यमबाट गरिन्छ ।

कस्ता बिरामीमा यो थेरापी गरिन्छ ? कुनैपनि सर्जरी गर्नुपर्ने बिरामीहरूलाई सर्जरी गर्नुभन्दा पहिले म्यानुअल थेरापी गर्नुपर्ने हुन्छ । त्यस्तै जोर्नी दुखाई, लामो समयदेखि कुर्सीमा बसेर काम गर्ने दुखाई लगायतका अवस्थामा यो थेरापी एकदमै प्रभावकारी हुन्छ ।

पछिल्लो समय विभिन्न थेरापीप्रति आकर्षण बढ्दो छ, म्यानुअल थेरापी कतिको प्रभावकारी छ ? धेरै नै प्रभावकारी छ । अन्य थेरापी भन्दा यो थेरापीको परिणाम छिटो आउँछ । जस्तै सामान्य दुखाइ १५–२० मिनेटकै मसाजमा निको भएर जान्छ । त्यस्तै पूर्णतया हातको पद्धतिबाट गरिने भएकाले पनि यो पछिल्लो समय निकै प्रभावकारी भइरहेको छ ।

तपाईँकहाँ अहिले कस्ताकस्ता समस्या लिएर बिरामी आउने गरेका छन् ? लामो समय कुर्सीमा बसेर उमेर अगाडि नै जोर्नीहरूको दुखाई हुने समस्या लिएर धेरै बिरामीहरू आउने गरेका छन् । उनीहरूबाट सकारात्मक प्रतिक्रिया नै पाइरहेका छौँ ।

कुन उमेर समुहलाई यसको आवश्यकता पर्छ ? बढ्दो उमेरसँगै हातखुट्टाका जोर्नीहरू दुख्ने समस्या आउँछ । त्यो अवस्थामा यसको आवश्यकता पर्छ । त्यस्तै अहिलेको खानपान र जीवनशैलीले २० देखि ५० वर्षसम्मका व्यक्तिहरूले यो थेरापी गराउने गरेका छन् ।

म्यानुअल थेरापी गराउनेमा महिला वा पुरुष कस्को संख्या धेरै छ ? म्यानुअल थेरापी गराउनेमा महिला भन्दा पुरुषको संख्या धेरै छ । कामको आधारमा भन्नुपर्दा लामो समय कुर्सीमा बसेर काम गर्नुपर्ने भएकाले जोर्नीहरूमा दुखाई हुन्छ । उसो त कामकाजी महिलाहरूमा पनि यो समस्या देखिरहेको हुन्छ । तर महिलाहरूमा यो सँगै अन्य समस्या पनि देखिन्छन् । पुरुषहरूमा म्यानुअल थेरापी नै गर्नुपर्ने खालका समस्या देखिने भएका कारण यो थेरापी पुरुषका लागि अझ प्रभावकारी छ ।

यसको उपचार पद्धति कति लामो छ ? म्यानुअल थेरापी कम्तिमा पनि २० दिनसम्म प्रत्येक दिन २० देखि २५ मिनेटसम्म गराउनुपर्छ । यत्तिले पनि केही मात्रामा त निको भएर जान्छ । यदि निको भएन भने केही दिनको फरक समय समयमा गराइराख्नु पर्छ ।