मनोरञ्जन

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

By खबरहब

March 29, 2024

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा यस फिल्ममले स्वदेशबाट मात्रै ६ करोड २५ लाखको व्यापार गरेको निर्माण पक्षले जानकारी दिएको छ । 

दर्शकबाट उच्च साथ पाएपछि बिहीबार देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले महाजात्रालाई सुपरहिट फिल्म घोषणा गरेको हो । 

चैत ९ देखि प्रदर्शनमा आएको यस फिल्मले दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको छ । दोस्रो हप्तामा पनि उच्च टिकट बुकिङ रहनुको जस भने निर्देशक भट्टराई पहिलो हप्ताका दर्शकलाई दिन्छन् । उनी भन्छन्, ‘पहिलो हप्ताका दर्शकले फिल्म हेरेर राम्रो प्रचार गर्नुभयो जस्तो लाग्छ ।’

देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । 

आपतकालीन रुपमा पैसा व्यवस्थापन गर्न आइपर्ने समस्या र अवसरलाई फिल्ममा रोचक ढंगले देखाइएको छ । फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । 

फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।