देश/प्रदेश

एमालेको राष्ट्रिय महिला भेला आजदेखि

By खबरहब

May 29, 2024

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’ गर्ने भएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने भेलाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँचहजार जनाको सहभागीता रहने छ ।

एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको सङ्कल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ ।

भोलिसम्म चल्ने भेलामा सहभागीहरुलाई १२ समूहमा विभाजन गरी छलफल पछि निष्कर्षसहित सरकारलाई सुझाव दिने एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् ।