आर्थिक

बजेटबारे अर्थसचिव मरासिनी : राजनीतिक दबाब थियो तर सिलिङ नाघेन

By खबरहब

May 29, 2024

काठमाडौं- अर्थसचिव मधु मरासिनीले राजनीतिक दबाबबीच अर्थमन्त्री वर्षमान पुनले सिलिङ ननाघ्ने गरी बजेट ल्याएको बताएका छन्।

मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘बजेटको वित्तीय पक्ष र आकारबारे धेरै कुरा आएका छन् । माघमा सिलिङ पठाएर जेठमा कार्यक्रम प्रस्ताव हुँदा बीचमा धेरै माग हुन्छ’, उनले भने, ‘मन्त्रालयहरूले पहिले पाएको सिलिङलाई आफ्नो अधिकार नै भन्ठान्छन् । पछि कार्यक्रम थप्छन् ।’

उनले बजेटलाई लिएर राजनीतिक दबाब भए पनि अर्थमन्त्री पुनले कुरा बुझ्दा सन्तुलित आउन सकेको बताए ।

मरासिनीले अन्तरक्रियाका क्रममा वित्त आयोगले ५.५ प्रतिशत ऋण उठाउन पाइने पत्र दिएकाले ऋण अलिक बढी उठाउन खोजिएको जवाफ दिए ।

‘अर्को कुरा, आगामी आर्थिक वर्षको जीडीपी अहिलेको भन्दा धेरै हुन्छ’, उनले भने, ‘त्यसैको अनुपातमा ऋण उठाउने हो, त्यसैले बजेटले सिलिङ नाघ्दैन ।’