राजनीति

प्रचण्डलाई गोकुल बास्कोटाको सुझाव : भ्रममा नबस्नू, एक्लै लड्नू

By खबरहब

August 29, 2024

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम्‌ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्तारुढ नेकपा (एमाले)का सांसद् गोकुल बाँस्कोटाले भ्रममा नबस्न र एक्लै लड्न सुझाव दिएका छन्‌ ।

हिजो (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा दाहालले अब आफू सत्ताको खेलमा नभएको र एक्लैले सरकारको नेतृत्व गर्नसक्ने तहको पार्टी बनाउन लागेकाले त्यतिञ्जेलसम्म कांग्रेस र एमालेलाई मिलेर बस्न भनेका थिए ।

‘फेरि बीचैमा झगडा गरेर लौ न प्रचण्डजी ! भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला,’ वर्तमान सत्ता गठबन्धनको भविष्यप्रति शङ्का बढाउँदै दाहालले भनेका थिए, ‘कांग्रेस एमालेका साथीहरूलाई म यही रोष्टमबाट आग्रह गर्छु- प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन । तपाईंहरूकहाँ सत्ताको हिस्सेदारी माग्न आउने छैन ।’

उक्त अभिव्यक्तिलाई लिएर एमाले सांसद्‌ बास्कोटा बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पूर्वप्रधानमन्त्री दाहालमाथि खनिएका हुन्‌ ।

‘प्रचण्डजीले धम्कीपूर्ण प्रेमगीतको सुसेली हाल्नुभयो, म कहाँ नआऊ है भनेर !’ बाँस्कोटाले भने, ‘कोही पनि आउनेवाला छैन, भ्रममा नबस्नू ! एक्लै लड्नू ! भनेकै त्यही हो ।’

प्रचण्डले बुधबार माओवादीको ध्यान अब सत्तामा नरहेको जिकिर गरेका थिए । उनले अब आफूहरू षड्यन्त्रको प्रतिरोधमा रहेको बताएका थिए ।

‘आन्दोलनको पुनर्गठनमा छौँ । त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं’, उनले भनेका थिए, ‘पहिला पनि बनाएका हौँ, अब पनि बनाउनेछौँ । त्यतिबेलासम्म कृपया तपाईंहरू मिलिदिनुहोला । फेरि बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

यो पनि-

‘प्रचण्ड अब सत्ताको खेलमा छैन, सरकार एक्लै चलाउने हो’

संसद्‌मा प्रचण्ड : बङ्गलादेशको लड्डु, नेपालको घ्यु !