देश/प्रदेश

गोरखाको धार्चे पहिरोमा बेपत्ता भएकाहरु अझै भेटिएनन्, बिहानैदेखि खोजी सुरु

By खबरहब

July 29, 2024

काठमाडौँ– गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै पत्ता लाग्न सकेको छैन ।

आइतबार बिहान गएको पहिरोमा परेर पाँचजना बेपत्ता भएका थिए । दुईजनाको भने घाइते अवस्थामा उद्धार गरी काठमाडौँमा ल्याएर उपचार भइरहेको छ ।

बेपत्ता भएकाहरूको आइतबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि आज बिहानैदेखि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय जुटेका छन् । डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । उनले खोजीका लागि जेसीबी मेसिनसमेत प्रयोग गरिएको बताए ।

पहिरोमा एकै घरका तीन सहित पाँच जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा धार्चे गाउँपालिका–५ रेसेका जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुबा सुकलाल कान्छा गुरुङ, सोही ठाउँका रमेश गुरुङ र हाइड्रो पावरका ट्याक्टर चालक रमेश परियार बेपत्ता छन्।