समाचार

संक्रमणकालीन न्याय सम्बन्धी कार्यदल बैठक सकियो, बिहीबार फेरि बस्ने

By खबरहब

July 29, 2024

काठमाडौँ– संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक सकिएको छ ।

आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहिवार बस्ने गरि सकिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा कार्यदलका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाल लगायतको पनि सहभागिता थियो ।

बैठकपछि कार्यदल सदस्य बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरि आजको बैठक सकिएको  बताए ।

उनले भने, ‘मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।’

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रित गर्ने उनको  भनाइ छ ।

यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।