मनोरञ्जन

‘रोधी’ दृश्यले किचलोमा ‘घर ज्वाइँ’, मगर र गुरुङ समुदायबीच दोहोरी

By खबरहब

July 29, 2024

काठमाडौं– मगर समुदायमा घर ज्वाइँ बस्ने पराम्परको कथा आधारित फिल्म ‘घर ज्वाइँ’ १७ दिनदेखि प्रदर्शनरत छ । निर्माता जनक घर्ती मगरका अनुसार सुरुवाती दुई हप्तामा फिल्मले ४ करोड ६३ लाख ग्रस कलेक्सन गरेको छ ।

दयाहाङ राई र मिरुना मगरको केन्द्रीय भूमिका रहेको फिल्मले पूर्वी रुकुमका मगर समुदायको कथा भन्छ । फिल्ममा प्रयोग भएको ‘रोधी’को दृश्यलाई लिएर केन्द्रीय कार्यालय पोखरा रहेको संस्था ‘तमु धिँ नेपाल’ले आपत्ति जनाएको छ ।

उक्त संस्थाका अनुसार रोधी गुरुङ समुदायको संस्कृति हो । फिल्ममा रोधी समुदायमाथिको दृश्यांकन विधि र विधानविपरीत भएको निष्कर्ष निकाल्दै तमु धिँले प्रदर्शन नगर्न पोखराको मिड टाउन मुभिज प्रालिलाई पत्र काटेको छ ।

चलचत्रि जाँच समितिलाई पत्राचार गर्दा पनि न्यायिक निर्णय नभएकाले उक्त कदम चालेको पत्रमा उल्लेख छ ।

संस्थाका अध्यक्ष हुमबहादुर गुरुङको हस्ताक्षर भएको सो चलचित्र प्रदर्शन भए हलमा क्षति गर्ने आशयको चेतावनी दिइएको छ ।

भएको के हो ?

‘तमु धिँ नेपाल’ले विज्ञप्तिमार्फत् ‘रोधी’ गुरुङ समुदायको संस्कृति भएको दाबी गरेको छ । यता ‘मगर समुदाय नेपालले’ले ‘तमु धिँ नेपाल’ले दाबी गरेको गुरुङ समुदायको ‘रोधी’ संस्कृतिलाई मगरहरुले ‘रोदी’का रुपमा मान्दै आएको दाबी गरेको छ ।

गत साउन ४ गते तमु धिँ नेपालले विज्ञप्ति निकालेर गुरुङ समुदायले रोधीको विकास गरेको दाबी गरेको थियो ।

चलचित्र ‘घर ज्वाइँ’मा रोधीसँग सम्बन्धित दृश्य तथा संवाद यसको मर्म र कर्मविपरीत भएको भन्दै उक्त संस्थाले निर्माण पक्षको ध्यानाकर्षण गराएको थियो ।

फिल्ममा रोधी संस्कृति त्यसको मूल मर्म प्रतिकूल हुने गरी देखाइएकाले सम्पादन गर्न संस्थाले विज्ञप्तिमार्फत अनुरोध गरेको थियो । त्यही विज्ञप्तिमार्फत् रोधीको सट्टामा छायांकन क्षेत्र, विषयवस्तु, कथा केन्द्रित क्षेत्रकै शब्द प्रयोग गर्न सुझाएको थियो ।

साउन १३ गते केन्द्रीय कार्यालय काठमाडौं भएको ‘नेपाल मगर संघ’ले ‘तमु धिँ नेपाल’को सो विज्ञप्तिमा आपत्ति जनाएको थियो ।

नेपाल मगर संघले विज्ञप्तिमार्फत संस्थाले ‘रोधीलाई गुरुङ समुदायको संस्कृति मात्रै हो’ भनेर झुट दाबी पेस गरेको निष्कर्ष निकालेको थियो ।

मगर संघले गुरुङहरुले ‘रोधी’ भन्ने गरेको संस्कृतिलाई र मगरहरुले ‘रोदी’ भन्ने गरेको स्पष्ट पारेको छ ।

फिल्ममा भएका यससँगै सम्बन्धित कुनै पनि दृश्यमा आफूहरुको आपत्ति नरहेको मगर संघले स्पष्ट पारेको छ । साथै ‘रोधी’ गुरुङ समुदायको संस्कृति मात्र हो भन्ने तमु धिं नेपालको दाबी प्रति आपत्ति जनाउँदै मगर समुदायले इतिहास पढ्न सुझाएको थियो ।

चलचित्रको पक्षमा तकसेरा

निर्देशक एवम् लेखक अनिल बूढा मगरले ‘घर ज्वाइँ’को कथा रुकुम पूर्वको तकसेरा भएको बताउँदै आएका छन् ।

‘तकसेसा समाज नेपाल’ले साउन १४ मा चलचित्रमा प्रयोग भएको रोधीसम्बन्धी दृश्यमा आफूहरु सन्तुष्ट रहेको जनाएको छ । साथै, फिल्म पूर्ण तकसेराको भूगोल र समुदायको जीवन्त कथा रहेको स्वीकारेको छ ।

‘तकसेसा समाज नेपाल’ले भनेको छ, ‘चलचित्रमा चित्रण गरिएका रोधीसम्बन्धी संवाद र दृश्यप्रति जो कोहीलाई भ्रमित र नकारात्मक लाग्छ भने सम्बन्धित भूगोल र समुदायमा पुगेर अध्ययन गर्न पनि विनम्र अनुरोध गर्दछौं ।’

निर्माण पक्ष भन्छ– हल बन्दकै सूचना आएछ

‘तमु धिँ नेपाल’को ध्यानाकर्षणपछि चलचचित्र जाँच समितिले चलचित्रका निर्देशक अनिल बूढा मगर र निर्माता जनक घर्ती मगरलाई छलफलका लागि सोमबार साढे ३ बजे बोलाएको छ ।

निर्माता जनक घर्ती मगरका अनुसार साउन १३ गते समितिबाट छलफलका लागि पठाइएको पत्र त्यही दिन आएको छ ।

सिहंदरबारस्थित सञ्चार मन्त्रालयमा बोलाइएको छलफलमा निर्माण पक्ष सहभागी हुन पाएको छैन । निर्माता जनक भन्छन्, ‘छलफलका लागि बोलाएकै समयमा हामी उपस्थित हुनेछौं ।’

सरकारी सरकारसँगको छलफलअगावै ‘तमु धिँ नेपाल’ले फिल्म प्रदर्शनमा रोक लगाउन हलललाई पत्राचार गर्नु निन्दनीय रहेको उनी बताउँछन् । यद्यपि समुदाय र संस्कृतिसँग जोडिएको विषयमा निर्माण टिम गम्भीर रहेको उनी बताउँछन् ।

मगर समुदायको रोधी र यसको मर्ममा प्रतिकूलता नपर्ने गरी फिल्म निर्माण भएकामा निर्माता मगर स्पष्ट छन् ।

भन्छन्, ‘मगर संस्कृतिका विज्ञसँग पनि सल्लाह भएको छ । हामीले मगर समुदायको कथा र संस्कृति देखाएका छौं । सम्बन्धि क्षेत्रका विज्ञहरुले पनि कुनै कमजोरी नभएको स्पष्ट पार्नु भएको छ ।’