समाचार

महामन्त्रीद्वयसँग कांग्रेस सभापति देउवा छलफलमा

By खबरहब

August 29, 2024

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल सुरु गरेका छन् ।

सभापति देउवाले महामन्त्रीद्वयले पेश गरेको प्रस्तावबारे बुढानिलकण्ठस्थित निवासमै छलफल थालेका हुन्। यस अघि मंगलबार भएको छलफलमा महामन्त्री थापा र शर्माले आफ्नो प्रस्तावबाट पछि नहट्ने अडान लिएपछि निष्कर्षमा पुगेको थिएन ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषयमा छलफल भइरहेको हो ।

पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित खोजेका हुन् ।

महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।

सभापति देउवा चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै  सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।

महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा गत मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गतेका लागि सारिएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक गत साउन २३ गते सुरु भएको हो । महामन्त्रीद्वयका प्रस्तावमा छलफल गर्न केन्द्रीय समिति बैठक बिचमै रोकेर सारिँदै आएको छ ।