काठमाडौं– कोशी प्रदेशको एमाले–कांग्रेस दुई दलीय संयन्त्रले पहिचान पक्षधरसँग समिति बनाएर वार्ता गर्ने निर्णय गरेको छ ।
शुक्रबार विराटनगरस्थीत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको संयन्त्रको बैठकले पहिचान पक्षधरसँग तत्काल संवाद गर्ने र यसका लागि प्रदेश सरकारले समिति बनाएर वार्ता सुरु गर्ने निर्णय गरेको हो ।
बैठकले ताप्लेजुङको पाथीभरा मन्दिरमा बनाउन लागिएको केबलकार निर्माणको विवाद समाधानका लागि वार्ता टोली बनाउन प्रदेश सरकारलाई आग्रह गरेको दुई दलीय संयन्त्रका संयोजक शेरधन राईले जानकारी दिए ।
कोशी प्रदेश सरकारलाई बजेटको स्थिति, खर्चको विवरण र योजनाहरूको कार्यान्वयनको अवस्थालाई हेरेर बजेट संशोधन गर्न निर्देशन दिए अनुसार कोशी प्रदेशको बजेट पुनरावलोकन गरी संशोधन गर्ने निर्णय पनि संयन्त्रले गरेको उनले बताए ।
बैठकपछि कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेट अनुसार सञ्चालनमा नरहेका कार्यक्रमहरू बारे पुनर्विचार गरेर बजेट संशोधन गरिने जानकारी दिए ।
एमाले र कांग्रेसका प्रतिनिधिहरू बाहेक प्रदेश सरकारका मन्त्रीहरू र सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थिए । सो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कोशी प्रदेशको बजेटको अवस्था, आय व्ययको विवरण, योजना कार्यान्वयनको स्थिति बारे जानकारी गराएका थिए ।