समाचार

चितवनमा एक सय ४० उद्योग बन्द

By खबरहब

January 30, 2024

चितवन–  घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् ।

सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्री पछि नाम सारी गरिएको खनालले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरू दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनको भनाइ छ ।

सोही समयमा व्यावसायिक फर्महरू १ सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए । व्यावसायिक फर्मतर्फ २ सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९–८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो ।

यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९–८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरू निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।

वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए ।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरू अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरूको सङ्ख्या बढेको खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।