समाचार

घेराबन्दीमा पार्ने षड्यन्त्र भयो : रवि लामिछाने

By खबरहब

January 30, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रुपमा आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र भएको बताएका छन् ।

मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र बिभिन्न शक्तिहरूले सहकारीको विषयलाई लिएर आफूलाई घेराबन्दीमा पार्ने षड्यन्त्र गरेको बताएका हुन् । उनले आफूले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षड्यन्त्र सफल नहुने उल्लेख गरे ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भएर सहकारी पीडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उद्देश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफू र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए । 

त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरूबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरू एक हुने गरेको पनि बताए ।