सांकेतिक तस्बिर

समाचार

हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु

By खबरहब

March 30, 2024

विराटनगर– झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–५ स्थित बाह्रकोठे निवासी ५८ वर्षीया खड्ग माया लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

एक्लै बस्दै आएकी छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला गएराति १२ बजेतिर हात्तीले घर भत्काउन थालेपछि भाग्ने क्रममा मायालाई हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तीन दिनअघि मात्र जिल्लामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । शिवसताक्षी नगरपालिका–११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा चैत १४ गते साँझ दाउरा लिन गएका शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो।

झापामा यस वर्ष हात्तीको आक्रमणबाट सात जनाको मृत्यु भइसकेको छ भने सात जना घाइते भएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।