समाचार

उपनिर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

By खबरहब

March 30, 2024

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको तयारी बारे जानकारी लिएका छन् ।

इलाम रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन् ।

उनले भने, ‘एक निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र अनविश्वसनीय योजना बनाउनु होला।’

नागरिकलाई सेवा दिनु राज्यको कर्तव्य भएको उल्लेख गर्दै उनले नागरिकले कुनै पनि कुरामा गुनासो गर्ने स्थिति आउन नदिन निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराएका थिए । प्रजिअ यादवका अनुसार उपनिर्वाचनमा तीन हजार सुरक्षाकर्मी परिचालन गरिने छ।