तस्बिर रोयटर्स

अन्तर्राष्ट्रिय

पेरुका राष्ट्रपति बोलुआर्टेको घरमा छापा मारियो

By खबरहब

March 30, 2024

लिमा– भ्रष्टाचारको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन् ।

एएफपीले प्राप्त गरेको प्रहरी दस्तावेजअनुसार बोलुआर्टेले घोषणा नगरेका रोलेक्स घडीको खोजी गरिरहेको उक्त छापामा करिब ४० जना अधिकारी परिचालित गरिएको छ । 

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्यले’ छापा मारेको पुष्टि गरेको छ । बोलुआर्टेले विदेशी उत्पादनको विलासी घडी लगाएको बारेमा रिपोर्ट प्रकाशित गरेपछि अधिकारीहरूले यस महिनाको सुरूमा अनुसन्धान सुरु गरेका थिए तर यसलाई सार्वजनिक रूपमा घोषणा गरिएको थिएन ।

प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियान शनिबारको छापा स्थानीय टेलिभिजन च्यानल ल्याटिनमा प्रसारण गरिएको थियो ।

डिसेम्बर २०२२ मा पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोले कङ्ग्रेसलाई भङ्ग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।