राजनीति

माधव नेपाल समीकरण बाहिर जानुहुन्न : प्रधानमन्त्री

By खबरहब

May 30, 2024

विराटनगर– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् ।

आज बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् ।

उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डले मधेस प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोहि नजाने दाबि गरेका छन् । समीकरणभन्दा बाहिर मधेसमा पनि अर्को सरकार नबन्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्री दाहाल श्रमाधान रोजगार मेलाको उद्घाटन गर्न आज बिराटनगर गएका हुन् ।