समाचार

कुपोषण तथा भोकमरी अन्त्यका लागि वर्ल्ड भिजनको साढे २२ करोड सहयोग

By खबरहब

May 30, 2024

काठमाडौं- नेपालका बालबालिकामा रहेको कुपोषण र भोकमरी उन्मूलन गर्ने लक्ष्यका साथ इनफ अभियानको औपचारिक रुपमा घोषणा भएको छ ।

बालबालिकाको क्षेत्रमा कार्यरत वर्ल्डभिजन इन्टरनेसनल तथा एकर्ड नेपालको संयुक्त आयोजनामा काठमाडौँमा एक औपचारिक कार्यक्रमकाबीच इनफ अभियानको घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै वर्ल्डभिजन इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक रोज्लिन गाब्रियलले नेपालमा सन् २००१ देखि वर्ल्ड भिजनले सन् २००१ देखि नेपालमा पोषणको क्षेत्रमा बालबालिकाको पहुँच बढाउनका लागि काम गरिरहेको बताइन् ।

औपचारिक कार्यक्रमको घोषणाका क्रममा नेपालमा बाल भोकमरी र कुपोषणको क्षेत्रमा काम गर्नका लागि नेपाललाई वर्ल्ड भिजनले २२ करोड ६५ लाख रुपैयाँ (१.७ मिलियन अमेरिकी डलर) सहयोग दिने घोषणा समेत गरेको छ । उक्त संस्थाले नेपाल लगायत विभिन्न विकासोन्मुख मुलुकका बालबालिकाहरुमा पोषणयुक्त खानाको पहुँच बढाउनका लागि सहयोग गर्दै आएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बाल कुपोषणको अन्त्य गर्नका लागि गर्भवती अवस्थादेखि नै महिलाहरूलाई विशेष ख्याल गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले स्थानीय स्तरमा नै उत्पादन भएमा खानेकुरालाई मिलाएर खान सकेमा केही हदसम्म बाल कुपोषणको दर घटाउन सकिने बताइन् ।

सरकारले सामुदायिक विद्यालयहरूमा लागू गर्दै आएको दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने खानेकुराको उपयोग गरिने बताउँदै यस्ता कार्यक्रमले बाल पोषण क्षेत्रमा सकारात्मक सन्देश दिएको उनको धारणा थियो । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले बालबालिकाको क्षेत्रमा वर्ल्ड भिजनले गरेको कार्य ज्यादै सराहनीय भएको बताए ।

अझै पनि नेपालमा धेरै बालबालिकाहरू न्यून तौलका जन्मिने बताउँदै उनले कर्णाली प्रदेशमा धेरै बालबालिकाहरू कम तौलका जन्मिने गरेको उनले जानकारी दिए ।