समाचार

काठमाडौंमा चर्को हावाहुरी, बस्न सकेनन् जहाज, कुनै जनकपुर कुनै भैरहवा डाइभर्ट

By खबरहब

May 30, 2024

काठमाडौं- काठमाडौंमा बिहीबार साँझ चर्को हावाहुरी चलेको छ । चट्याङसहित हावाहुरी चलेपछि काठमाडौं आइरहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

चट्याङसहित तीव्र हावाहुरी चलेकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट र होल्ड गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानका केही जहाज डाइभर्ट भएका छन् ।

काठमाडौंबाट झापाका लागि उडेको बुद्ध एयरको जहाज अवतरण हुन नसकेर जनकपुर विमानस्थलमा पुगेको छ ।

झापाका लागि उडेको जहाजमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका यात्रु थिए ।

भद्रपुरबाट काठमाडौं फर्किएको अर्को जहाज पनि त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेर जनकपुर नै पुगेको छ ।

उता खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि धनगढीबाट उडेको श्री एअरलाइन्सको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।

साहित्यकार डा. नवराज लम्सालका अनुसार ७२ जना यात्रु बोकेको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि भैरहवा डाइभर्ट भएको थियो ।

मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका सदस्यले बताएका लम्सालले जानकारी दिएका छन् ।