देश/प्रदेश

गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा पुनः नियुक्त

By खबरहब

June 30, 2024

गण्डकी– गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा पुनः नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले देवकोटाको प्रदेशसभा सदस्य पद कायम रहने आदेशसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

देवकोटाले आज प्रदेश प्रमुख भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि गत जेठ २९ गते पनि देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका थिए । तर नेकपा माओवादी केन्द्रले कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत दिएको भन्दै देवकोटालाई कारबाही गरेको थियो । माओवादीको कारबाहीपश्चात् देवकोटा सर्वोच्च पुगेका थिए ।

यही असार १० गते सर्वोच्चले देवकोटाको सांसद पद रिक्त गर्ने सभामुखको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।