समाचार

हेर्दाहेर्दै तामाकोशीमा हेलिइन् काठमाडौंबाट घर हिँडेकी ओमा

By खबरहब

June 30, 2024

दोलखा– शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । दोलखाको तामाकोशी बजारनजिकैको पक्की पुल छेउमा एकजना महिला हिँड्दै नदीतिर गइरहेको उक्त भिडियोमा देख्न सकिन्छ ।

हिँड्दै तामाकोशीतिर अघि बढिरहँदा माथिबाट भिडियो खिचिरहेका र अन्यले उनलाई त्यतातिर नजान भनिरहेका छन्। तर उनी एकसुरमा नदीतिर अघि बढिरहिन् । भिरालो ठाउँबाट नदी किनारमा पुगेकी उनलाई माथिबाट कराउँदै रोक्ने कोसिस पनि भयो ।

तर उनलाई कसैले रोक्न सकेनन् । नदीतिर अघि बढिरहेकी उनलाई रोक्न एकजना युवक किनारमै पुगे पनि ती महिला केही सेकेन्डले तामाकोशीमा हेलिएर बेपत्ता भइन् ।

माथिबाट एकजना युवक दौडिएर उनलाई बचाउन पुग्दै गर्दाको भिडियो अहिले भाइरल बनेको हो ।

तामाकोशीमा हेलिएर बेपत्ता भएकी थी महिलाको पहिचान पनि खुलेको छ । उनी दोलखाको मेलुङ गाउँपालिका-४ भेडुप निवासी करिब ६५ वर्षीया ओमाकुमारी तामाङ (माया) ले तामाकोशीमा हेलिएर प्राण त्यागेको खुलेको हो ।

उनी श्रीमान् र छोराहरूसँग काठमाडौंको नयाँ बस्ती बस्दै आएकी थिइन् । शनिबार उनी काठमाडौंबाट गाउँ जाने भन्दै दोलखा पुगेकी थिइन् ।

शनिबार बिहानै काठमाडौंबाट दोलखाको मेलुङ गाउँपालिका–३ गाईखुरा हुँदै भेडपु जाने बस चढेर उनी तामाकोशी किनारसम्म पुगेकी थिइन् ।

उनको साथमा गाउँका चिनेजानेकै मानिसहरू पनि थिए । तर, उनी तामाकोशी बजारमा गाडी रोकेका बेला झरेको थिइन् ।

गाडीमा सँगै सवार साथीहरूले अब जाऊँ भन्दा ओमाकुमारी आफ्नो काम परेकाले यतै ओर्लिने भन्दै झरेको खुलेको छ । उनका आफन्तले पनि ओमाकुमारी तामाकोशी बजारमा झरेको पुष्टि गरेका छन् ।

बसबाट ओर्लिएर केहीबेर तामाकोशी बजारमा बसेकी उनी शनिबार दिउँसो ३ बजे तामाकोशी पुलनजिकैबाट नदी किनारतिर झरेकी थिइन् ।

ओमाकुमारी तामाकोशीमा हेलिएपछि जिल्ला प्रहरी कार्यालय दोलखाको टोली खोजीमा जुटेको थियो ।

प्रहरी निरीक्षक शत्रुधनकुमार महतो नेतृत्वको टोलीले उनको खोजी गरिरहेको छ ।

अहिले उनको खोजीमा किरातीछाप, किर्नेटार र प्रहरी चौकी छौंडेको टोलीले स्थानीयबासीको सहयोगमा ओमाकुमारीको खोजी गरे पनि फेला पार्न सकेको छैन ।