राजनीति

प्रधानमन्त्रीलाई उपेन्द्रको प्रश्न : राजदूतमा माफियालाई पठाउनु भयो रे नि ?

By खबरहब

June 30, 2024

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि व्यंग्य कसेका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा मञ्चमा रहेका प्रधानमन्त्रीमाथि उनले कटाक्ष गरेका हुन् ।

‘जनताले लोकतान्त्रिक गणतन्त्र ठूलो योगदानबाट जोगाएका छन्। मुलुक स्वेच्छाचारी शासनतर्फ गइरहेको थियो । तपाईंहरूले त्यो बेला विद्रोह गरेर जोगाउनुभयो’, उनले समाजवादीका नेताहरूलाई भने, ‘लोकतान्त्रमाथि खतरा देशभित्रबाटै छ । लोकतन्त्र निकै कमजोर भएर गयो ।’

उनले सरकारले राजदूतहरू पनि दलका कार्यकर्ता भर्ती गरेको बताउँदै प्रधानमन्त्री दाहाललाई व्यंग्य कसे ।

‘पहुँचवालाहरू यो फलानो पार्टीको कार्यकर्ता, यो पदमा जान्छन् । मैले सुन्दैछु, म्यान पावरका माफियाहरू प्रधानमन्त्रीले राजदूतमा पठाउनु भयो रे’, उनले भने, ‘प्रधानमन्त्री भन्नु हुन्छ, लोकतन्त्र खतरामा पर्‍यो, खासमा लोकतान्त्रमाथि यस्तै कुराले खतरा छ । हाम्रा पद्धतिहरू के छन् त ? एकल जातीय वर्चस्व लादिएको छ ।’

उनले नेकपा एकीकृत समाजवादीको महाधिवेशनले देशलाई अघि बढाउने गरी परिणाम ल्याओस् भनेर शुभकामना पनि दिए ।