समाचार

प्रतिनिधिसभा : विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

By खबरहब

June 30, 2024

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्मा परेकाहरूलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बागलुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले स्याङ्जा र गुल्मीमा बाढी पहिरोको कारण पछिल्लो चार दिनमा ३० जनाको ज्यान गएको समेत उल्लेख गरे । ‘बाढी पूर्वानुमान महाशाखाले बाढीको जानकारी मात्रै दिएर पुग्दैन, पीडित घाइतेहरूलाई राहत र उपचारको व्यवस्था पनि गर्नुपर्छ’, उनले भने ।

सांसद चन्द्रकान्त भण्डारीले गुल्मीको मालिका गाउँपालिका–६ मा एउटै परिवारका पाँच जनाको परिवारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको जोखिममा परेकाको उद्धार छिटो र छरितो हुनुपर्नेमा जोड दिए ।