राजनीति

देउवाको बालकोट यात्रा : पारिवारिक जमघट या नयाँ समीकरण ?

By खबरहब

June 30, 2024

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्ने बताइरहँदा नेपालीको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो ।

स्वास्थ्यमा समस्या देखाउँदै प्रधानमन्त्री प्रचण्ड सहभागी शनिबारको कार्यक्रममा अनुपस्थित ओलीलाई भेट्न कांग्रेस सभापति देउवा बालकोट पुगेपछि वर्तमान सत्ता गठबन्धन भत्किनेसम्मका अड्कालबाजी सुरु भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले विगतका अनुभवहरूबाट शिक्षा लिँदै वामपन्थी शक्तिबीचको समीकरण सुदृढ र सहकार्यलाई बलियो बनाउँदै जानुपर्नेमा जोड दिइरहँदा बालकोटमा ओली र देउवाबीच तीन घण्टा लामो वार्ता भएको हो ।

दाहालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ‘जन्मशताब्दी’ समारोहमा भन्दै थिए, ‘म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दामा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ, समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ ।’

तर, एमाले अध्यक्ष ओली भने अस्वस्थ भएको बताएर उक्त कार्यक्रममा उपस्थित भएनन् । बरु, उनले कांग्रेस सभापति देउवालाई पत्नी डा. आरजु राणासँगै निजी निवास बालकोट (भक्तपुर) मा स्वागत गरे ।

यसअघि असार ७ गते राति कांग्रेस नेता विनोद चौधरी र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट भएको थियो । ‘केपी शर्मा ओली’ को नाममा रहेको फेसबुक पेजमार्फत् उनीहरुबीचमा भेटघाट भएको खुलेको थियो । पेजबाट सार्वजनिक गरिएको भिडिओमा कांग्रेस नेता चौधरी एमाले अध्यक्ष ओलीसँगै पलेटी कसेर बसेका देखिन्थे ।

त्यसको एक सातापछि शनिबार दिउँसो २ बजे कांग्रेस सभापति देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगे । उनी बालकोटमा शनिबार अपरान्ह ५ बजेसम्म बसेका थिए । भेटघाटका क्रममा भएको छलफलबारे दुवै नेताहरुले सार्वजनिक रुपमा केही खुलाइसकेका छैनन्, उनीहरुको सचिवालयले पनि तीन घण्टा लामो संवादको विषय गोप्य राखेको छ ।

यद्यपि, यो भेटले नेपालको राजनीतिलाई फेरि एक पटक तरंगित बनाइदिएको छ । तथापि, बालकोटले शनिबारको भेटलाई नियमित श्रृंखला र पारिवारिक भनेको छ । ‘राजनीतिमा अरु कथा बनाउने गरि उहाँहरुका बीचमा छलफल अथवा भेटघाट भएको हुँदै होइन । यो नियमित र विशुद्ध पारिवारिक भेटघाट हो,’ बालकोटबाट ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले खबरहबसँग भने ।

बजगाईंले केही दिनअघि प्रधानमन्त्रीसहित देउवासँगको छलफल स्मरण गराउँदै शनिबारको भेटलाई पारिवारिक संज्ञा दिए । ‘अस्ति प्रधानमन्त्रीसहित उहाँहरु तीनैजना बस्नुभएको हो । यो पहिलो भेट होइन,’ स्रोतले भने, ‘पारिवारिक भेट हो । असार १५ को दिन थियो । अवसर भइहाल्यो ।’

उनका अनुसार ३ दिनअघि प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटघाट भएको थियो । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच पनि भेटघाट भएको जानकारी उनले दिए ।

उनले शनिबार दुई पूर्वप्रधानमन्त्रीबीच भएको भेटघाटलाई आशंकाको दृष्टिकोणले नहेर्नसमेत आग्रह गरे । ‘हिजोको भेट अरु कथा बुन्नका लागि भएको होइन । यदि त्यसो हुन्थ्यो भने रात परेपछि, सेक्युरिटी नल्याई आउनुहुन्थ्यो होला । रातमा दुई नेताबीच भेट हुन्थ्यो होला नि ।’

असन्तुष्टि

पछिल्लो समय आगामी आर्थिक वर्षको बजेटलाई लिएर ओली असन्तुष्ट देखिएका थिए । यद्यपि एमालेले बजेटलाई समर्थन जनाउँदै संसद्बाट पारित गर्न सघाइसकेको छ ।

त्यसैगरी धितोपत्र बोर्डमा गर्न लागिएको नियुक्तिमा अर्थमन्त्री वर्षमान पुनले असहयोग गरेको कुरामा ओली रुष्ट थिए । ओलीले धितोपत्र बोर्डमा आफ्नो मान्छे नियुक्ति गर्न चाहेका थिए । तर त्यसमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन तयार नहुँदा दुई दलबीच दरार देखिएको छ ।

दुवैतिर संवाद

ओली र प्रचण्डबीच मनमुटाव बढेको चर्चाबीच कांग्रेस सभापति देउवाले संवादलाई तीव्र बनाएका छन् ।

उनले एमाले र माओवादी दुवैतिर वार्ताका लागि नेताहरु परिचालित गरेका छन् । एमालेतिरको संवादमा ज्ञानेन्द्रबहादुर कार्की सक्रिय हुँदा माओवादीतिर रमेश लेखकले छलफल अघि बढाइरहेका छन् ।

त्यही क्रममा देउवा शनिबार पत्नीलाईसमेत लिएर बालकोट पुगे । तर माओवादी नेताहरु भने एमाले र कांग्रेस मिल्न नसक्ने ठोकुवा गर्छन् ।

‘कांग्रेस र एमाले मिल्ने सम्भावना हामी देख्दैनौँ । बरु पुरानै समीकरण फर्किने सम्भावना छ’, माओवादीका एकजना नेताले भने, ‘कांग्रेससँग एमाले मिल्न देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । तत्कालै भूराजनीतिकसहितको जटिलताले ओलीलाई कांग्रेसले प्रधानमन्त्री बनाउने गल्ती गर्ला जस्तो हामीलाई लाग्दैन ।’

उता कांग्रेस सभापति देउवाको सचिवालयका एक सदस्यले बाहिर चर्चा भएजस्तो राजनीतिक कोर्ष अघि बढिनसकेको बताएका छन् ।

‘बाहिर चर्चा भएजस्तो कुरा अघि बढिसकेको छैन । सभापतिज्यू शनिबार विशुद्ध पारिवारिक संवादका लागि बालकोट जानु भएको हो । ओलीज्यूले सँगै बसेर दही च्युरा खाने प्रस्ताव राखेपछि भेट भएको हो’, देउवाको सचिवालयका ती सदस्य भन्छन्, ‘सत्ता समीकरण तत्कालै फेरबदल हुने गरी केही पनि भइसकेको छैन ।’

देउवाले डाके बैठक

बालकोट वार्ताले राजनीति तरङ्गित भएका बेला कांग्रेस सभापति देउवाले पार्टी पदाधिकारी बैठक डाकेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनले सोमबार अपराह्नका लागि पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्न पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल हुन लागेको बताए । असार १५ देखि समयावधि सकिएका भ्रातृ संस्था र गठन हुन नसकेका विभागसहित अन्य समसामयिक विषयमा छलफल हुने पौडेलले बताए ।