काठमाडौं – वर्षायाममा नेपालमा प्रायः हैजाको प्रकोप देखापर्ने गर्दछ। यसवर्ष पनि हैजाको संक्रमण विस्तारै फैलिँदै गएको छ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलका अनुसार देशभर हालसम्म १३ जनामा हैजा संक्रमण पुष्टि भएको छ।
ललितपुरमा सात जना, कैलालीमा तीन जना र काठमाडौंको कालिमाटीमा तीन जना गरेर जम्म १३ जनामा हैजा संक्रमण पुष्टी भएको र तीन जनाको नमुना परीक्षण भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १० जनाको टेकु लगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको खबरहबसँग कुरा गर्दै डा. पौडेलले जानकारी दिए। उनका अनुसार उपत्यकामा सात जनामा देखिएको हैजाको संक्रमण पुर्नस्थापना केन्द्रबाट आएको हो भने नयाँ केश ग्वार्को र टोखामा देखिएका हुन्। हैजा पुष्टि भएलगत्तै जिल्ला तथा स्थानीय तहको द्रुत प्रतिकार्य टोली संक्रमित क्षेत्रमा खटाइएको थियो। टोलीले त्यो क्षेत्रको पानीको परीक्षण गर्दा उपभोक्ता समितिबाट वितरण भइरहेको पानीमा र पुर्नस्थापना केन्द्रको इनारको पानीमा सिकल कोलिफर्म नामक जीवाणु भेटिएको हो।
उपत्यकामा सात जनामा देखिएको हैजाको संक्रमण पुर्नस्थापना केन्द्रबाट आएको हो भने नयाँ केश ग्वार्को र टोखामा देखिएका हुन्।
डा. पौडेलका अनुसार अहिले सो क्षेत्रको इनारलाई सिल गरिएको पानीको ट्यांकी पनि सफा गरेर नयाँ पानी राखिएको छ। डा. पौडेलले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर र वाट्स नामक संस्थाको सहयोगमा त्यहाँको पानीको सुद्धिकरण तथा चेतना फैलाउने विभिन्न कार्यक्रम गरिएपछि अहिले केश घट्ने क्रममा रहेको बताए। संक्रमित बिरामी पनि नियमित गिरानीमा रहेका र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए।
हैजा कस्तो रोग हो ? हैजा भिब्रियो कोलेरा नामक कीटाणुका कारणले लाग्ने रोग हो। यो रोग प्राय वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ। हात सफा नगरी खाना खाइयो, व्यक्तिगत सरसफाइमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा कीटाणु प्रवेश गर्छन्। फोहोरमैला, झिँगा परेको खानेकुरा खायो भने हैजा हुने गर्छ। हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षण देखिने गर्दछन्। यो सामान्य झाडापखाला नभएर विनाशकारी खालको हुन्छ। सरसफाइ र सफा पिउने पानीको अभावले यसको जोखिमलाई बढाउने गर्दछ्। यो दूषित पानी र खानेकुराबाट बढी सर्ने गर्दछ।
हैजा भिब्रियो कोलेरा नामक कीटाणुका कारणले लाग्ने रोग हो। यो रोग प्राय वर्षाको समय र गर्मीयाममा बढी फैलिने गरेको छ।
हैजाका लक्षण हैजाको लक्षण केही दिन या केही घण्टामा देखिने गर्दछ। केही व्यक्तिमा गम्भीर अवस्था पनि उत्पन्न गराउँछ। जस्तै झाडापखाला हुने, चौलानीजस्तो निरन्तर पातलो दिशा हुने, वाकवाकी लाग्ने, छालाको लचकतामा कमी आउने सही समयमा उपचार नपाउँदा मृत्युसमेत हुने गर्छ।
त्यस्तै आँखा गाडिने, मांसपेशी दुख्ने, शरीर कमजोर हुने हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षण देखिने गर्दछन् । यसको लक्षण केही व्यक्तिमा मध्यम खालको देखिन्छ । केहीमा अति गम्भीर हुन्छ भने केहीमा लक्षण नै नदेखिने हुन्छ। जीवाणुबाट संक्रमित अधिकांश व्यक्तिमा हल्का लक्षण या कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ।
हैजाको उपचार उचित समयमा नगर्दा बिरामीका लागि गम्भीर अवस्था बन्नसक्छ। हैजाका बिरामीको मूल्यांकनपछि उचित उपचार गराएर गम्भीर अवस्थामा पुगेको भए पनि बिरामीलाई बचाउन सकिन्छ।
हैजाले निम्त्याउने जोखिम यसले सबैलाई गम्भीर बनाउँछ भन्ने छैन। कतिलाई लक्षण नै नदेखिने पनि हुन्छ। रोग लागेका १० प्रतिशत बिरामीलाई मात्रै गम्भीर बनाउँछ। उनीहरुमा पानीको मात्रा कम भएर मृत्युको जोखिम हुनसक्छ।
हैजा थाहा पाउन के जाँच गर्ने ? हैजा थाहा पाउनका लागि हामीले नेपालमा आरडिटी गर्छौं। दिसाको नमूना वा रेक्टल स्वाब लिइन्छ। प्रयोगशालाबाट भिब्रियो कोलेराको पहिचान गरिन्छ।
उपचार विधि के छ ? पखाला लाग्दा खेर गएको तरल पदार्थको पूर्तिको लागि प्रशस्त मात्रामा पानी वा झोलिलो खानेकुरा खानुपर्छ। जीवनजल लगायत दिएर बिरामीलाई डिहाइड्रेड गर्ने र यदि आवश्यक पर्यो भने एण्टीबायोटिक औषधीसमेत चलाउनुपर्ने हुनसक्छ। तुरुन्त उपयुक्त तरलपदार्थ प्रतिस्थापन गरिएमा हैजाका बिरामीमध्ये एक प्रतिशतभन्दा कमको मृत्यु हुन्छ। एन्टिबायोटिकले रोगको गम्भीरता घटाउँछ, तर यो रिहाइड्रेशन जत्तिकै महत्वपूर्ण भने हुँदैन। गम्भीर पखाला र बान्ता भएका हैजाका बिरामीले तुरुन्त स्वास्थ्य संस्था गई चिकित्सकको सुझाव बमोजिम उपचार गर्नुपर्छ।
रोकथामका लागि के गर्ने ? यो विशेष गरेर फोहोर तथा प्रदूषित पानीका कारण देखिन सक्ने भएकाले सरसफाइमा ध्यान दिन डा. पौडेलको सुझाव छ। जस्तै स्वच्छ, सफा, उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउने बानी गर्नुपर्छ। साबुनपानीले राम्ररी मिचीमिची हात धुने, शौचालयमा मात्र दिसापिसाब गर्ने, खानेपानीको स्रोत वरिपरि दिसापिसाब नगर्ने, खानेकुरा राम्ररी पकाएर मात्र खाने, काँचो खानेकुरा र सलाद राम्ररी सफा गरेर मात्र खाने, भान्साकोठा र शौचालयको सरसफाइमा विशेष ध्यान दिने, हैजाको बिरामीको दिसा उचित रूपमा व्यवस्थापन गर्ने र बिरामीको हेरचाह गर्ने व्यक्तिले आफ्नो शारीरिक सफाइमा विशेष ध्यान दिने बानीको विकास गर्नुपर्छ। हाम्रो सानो लापरवाहीले निम्तिन सक्ने महामारीको जोखिमलाई कम गर्न सकिने डा. पौडेल बताउँछन्।
महामारीको रुपमा फैलिन नदिन सरकारी प्रयास महामारी तथा प्रकोप व्यवस्थापन शाखा प्रमुख डा. पौडेलले हैजा देखा परेको क्षेत्रमा पानीको शुद्धिकरणदेखि लिएर पुष्टि भइसकेका व्यक्तिको चेतनासम्मले सरकारी प्रयासमा ठुलो सहयोग पुग्छ। त्यसको व्यवस्थापनका लागि स्थानीय र जिल्ला तहमा समन्वय गरेर काम भइरहेको छ।
त्यस्तै विभिन्न सञ्चार माध्यमबाट चेतनामुलक सन्देश प्रसारण भइरहेका र उपचारका लागि आउने शंकास्पद बिरामीको जाँच गर्ने गरिएको उनले बताए। विभिन्न ठाउँमा फाट्टफुट्ट देखिरहेकाले पानी परीक्षणलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने डा. पौडेलको भनाइ छ।
अहिले देखिएको संक्रमण पानीकै कारण भएकाले काठमाडौं उपत्यकामा वितरण हुने सबै पानीको स्रोत दूषित छन् कि भन्ने शंका उब्जिएकाले पानीको जाँचलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए।