फाइल फोटो

राजनीति

‘साना दल अस्थिरताका कारण बने, ‘थ्रेसहोल्ड’ ३ प्रतिशतबाट बढाउँछौँ’

By खबरहब

July 30, 2024

दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेससँग सत्ता सहकार्य भएको बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा सोमबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमै प्रश्न उठ्न थालेकाले मिल्नुपरेको बताएका हुन् ।

लोकतन्त्रलाई बलियो बनाउन एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको उनको तर्क थियो ।

‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामा नै अविश्वास पैदा भयो’, उनले भने, ‘त्यसको अन्त्य गर्न चुनावी प्रणाली र संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ लिएका हौँ।’

महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको बताए ।

उनले थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलको बार्गेनिङका कारण अस्थिरता हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको दाबी गरे ।