धर्म / संस्कृति

नेपाली समाजमा खीरको महत्व

By पवन मुडभरी

July 30, 2024

खीर नेपालीको सांस्कृतिक परिकार हो । भगवानलाई प्रसादका रूपमै चढाइने खीर हरेक भोजभतेर, श्राद्ध, पूजाआजा, विवाह, व्रतबन्धको अनिवार्यजस्तै परिकार हो । बच्चालाई पहिलो अन्नको रूपमा पास्नीमा खीर नै चखाउने गरिन्छ । 

बच्चालाई दूध र भात खुवाउने हाम्रो पुर्खौंदेखिको चलन हो । । पानी नमिसाएर दूधमा मात्रै चामल राखेर पकाउँदा अझ पोसिलो हुने जनस्वास्थ्यविद्‌ डा.अरुणा उप्रेती बताउँछिन् । 

साउन १५ मै किन खाने खीर ?  साउनमा खीर खानुको कारण ठ्याक्कै यही हो भन्न त सकिँदैन । ‘तर साउनमा जताततै हरियो चरनहरू हुने भएकाले गाईभैँसीले राम्रो घाँस खान पाउँदा दूध धेरै दिन्छन् । त्यसैले पनि खीर खाने चलन चलेको हुन सक्छ,’ डा. उप्रेती भन्छिन् । 

असार १५ मा दही-चिउरा खाने र साउनमा खीर खाने प्रचलन हाम्रो नेपालमा मात्रै हो, भारतमा छैन । र; कुनै सांस्कृतिक किताबहरूमा पनि उल्लेख भएको पाइएको छैन । 

नेपाल कृषिप्रधान देश भएकाले असारमा खेत रोपेर थाकेका किसानहरूलाई शक्ति प्राप्त होस भनेर पनि यो चलन चलेको हुनसक्ने उनको तर्क छ । पश्चिम नेपालमा साउन १५ मा मात्रै होइन, साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास रहेको छ ।

खीरले स्वास्थ्यमा गर्ने फाइदा डा. उप्रेती भन्छिन्, ‘वर्षायाममा विभिन्न खाले पानीजन्य सङ्क्रामक रोगहरू लाग्ने , चाँडैचाँडै मौसम परिवर्तन हुन्छ । छिनमै असाध्यै गर्मी हुने र वर्षाका कारण छिनमै चिसो हुने भएकाले त्यहीँ प्रकारको तागतिलो खानेकुराहरू खानुपर्छ । जुन हामीलाई खीरबाट पनि प्राप्त हुन्छ ।’ 

उसो त दूग्धजन्य सबै परिकारहरू सबै स्वास्थ्यका लागि फाइदाजनक नै मानिन्छन् । अझ विशेषगरी चामल राखेर धेरैबेर पकाउँदा दूधमा हुने तत्त्व र गुण बढ्ने भएकाले शरीरलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ । 

कस्तो खीर स्वस्थवद्धर्क ?  पछिल्लो समय खीर पकाउँदा धेरै चिनी, घ्यू र मसलाहरू राख्ने गरिन्छ । त्यसरी पकाइएको खीर खान त मीठो हुन्छ, तर स्वास्थ्यलाई  त्यति फाइदा नपुग्ने डा. उप्रेती बताउँछिन्‌ ।

त्यसैले खीर पकाउँदा सकेसम्म चिनीको प्रयोग नगर्ने, गरे पनि थोरै मात्रामा गर्ने, घ्यू लगायत मसलाहरू पनि ठीक मात्रामा प्रयोग गर्न उनको सुझाव छ ।