स्टोरी

‘डिभोर्स’को विरोधमा विवादित बनेर भारत फर्किइन् देवी प्रतिभा

By खबरहब

July 30, 2024

काठमाडौं- पशुपतिनाथ मन्दिर परिसरस्थित वनकाली हंसमण्डप क्षेत्रमा लगाइएको कोटीहोममा कथा वाचनका क्रममा देवी प्रतिभा भन्थिन्, ‘प्यार से बोलोना…’ ‘थोडा जोर से बोलोना…’ मस्तिमे बोलोना… ।’  उनको कथा वाचन शैलीले सहभागी मन्त्रमुग्ध हुन्थे, ताली बजाउँथे । तर उनै देवी प्रतिभा विवाद र आलोचनाको भारीसहित भारत फर्किएकी छन् ।

१४ दिनसम्मको नेपाल बसाइका क्रममा उनी जन्मभूमि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पुगेर अभिनन्दन थाप्न पनि भ्याइन् ।

कोटीहोममा कथा वाचिकाका रुपमा आएकी देवी प्रतिभाले सानै उमेरमा मोहित पार्ने गरी कथा वाचन गरेको भन्दै उनलाई प्रशंसा गर्ने जमात पनि नेपालमा बढेको छ ।

२२ वर्षीय उनी १४ दिन बसाइपछि मंगलबार त्रिभुवन विमानस्थल हुँदै भारततिर फर्किँदा उनले जन्मभूमिलाई ढोगिन् । विमानस्थलबाट बिदाइ हुने क्रममा झुकेर भुइँमा ढोगेकी उनी केही विवाद र गुनासाका पोका लिएर भारतरतिर लागिन् ।

१४ दिन नेपालमा बस्दा उनले बहुतै चर्चा बटुलिन् । उनका कारण राधिका दासी र दीनबन्धु पोखरेल जस्ता चर्चित कथावाचक पनि छायामा परे । वनकालीको ब्यासबाट कथा वाचन गरिरहँदा उनले विवाहित महिलाबारे गरेको टिप्पणीका कारण आलोचना भोग्नुपर्‍यो । हिन्दु र सनातन संस्कृतिमा ‘डिभोर्स’भन्ने शब्द नै नभएकाले पति जति नै खराब भए पनि महिलाले सहेर बस्नुपर्ने आशयसहित उनले दिएको अभिव्यक्तिको कडा आलोचना भएको छ ।

कतिपयले पुराणमा लेखिएका कुरालाई लिएर उनले ठीकै भनेको बताएका छन् भने अन्यले वर्तमान नेपाली समाजका लागि उनको भनाइ अपाच्य हुने बताएका छन् । आफूलाई कट्टर हिन्दु बताउने एउटा जमातले उनको समर्थन पनि गरिरहेको छ ।

टिप्पणी

देवी प्रतिभाको अभिव्यक्तिलाई लिएर समाजशास्त्री निर्मला ढकाल ढोंगको संज्ञा दिन्छिन् । ‘कुरा विवाहबारे, परिवार मिलाउनेबारे हुँदै होइन | लैँगिक भेद, त्यो पनि हजारौँको भिडमा धर्म र भागवत जोडेर भएको हुनाले विरोध भएको हो’, निर्मला भन्छिन्, ‘स्वास्नीले मात्रै छोड्न नहुने कुराले परिवार जोगिने हो र ?’

समाजशास्त्री निर्मला ढकाल

देवी प्रतिभाको भनाइबारे उनी सामाजिक न्यायको परिकल्पना नगर्ने धर्मग्रन्थलाई बोकेर हिँड्नु जरुरी नभएको बताउँछिन् । ‘जुन धार्मिक ग्रन्थले सामाजिक न्यायको परिकल्पना गर्दैन, त्यसलाई ‘प्रोमोट’ गर्नुको अर्थ छैन । समाजले बनाएको ग्रन्थलाई समाजले परिवर्तन गर्न सक्दैन भने मान्नुस्, हामीमा चेत आउन बाँकी छ’, उनी आलोचनात्मक टिप्पणीसहित भन्छिन्, ‘हिजो लेखिएको कुरामा हिजोको नियम थियो । यसमा कुनै आपत्ति हुन्न, तर आज जे शिक्षा बाँड्दै छौँ, आजको समाज समतामुलक र न्यायिक हुनपर्छ ।’

पत्रकार पर्शुराम काफ्लेले कथाव्यास देवी प्रतिभा पराजुलीले अत्यन्त सुन्दर प्रस्तुति दिएको बताउँदै ‘डिभोर्स’ अर्थात् पति-पत्नीको छोडपत्रबारे बोल्नु उपयुक्त नभएको भनेर टिप्पणी गरेका छन् ।

‘पुराणका कथा लेखिएको जमानाको समाज, त्यसबेलाको चेतनास्तर र परिवेश अहिले छैन । पुराणमा त्यसबेला लेखिएको तर अहिले व्यवहारिक नभएको बिषयमा उहाँले बोल्दा विवादमा आउनुभयो’, उनले भनेका छन्, ‘एउटा कुरा चाहिँ सत्य हो कि डिभोर्स हाम्रो मार्ग होइन, हाम्रो मार्ग त सह-अस्तित्व, हार्दिकता र प्रेम हो । असहज सम्बन्ध रहँदा साथमा बस्न सकिने कुरा हुँदैन । अहिले यो भनिरहनुपर्दैन । सबैलाई थाहा छ । अहिले मानिससँग यो विकल्प छ, कुनै समय विकल्परहित विवशता थियो ।’

उनले देवी प्रतिभाको आलोचना गरिरहँदा पारिवारिक असहजताको कारक पुरुष मात्रै हुन् भन्ने परियोजनावादी चिन्तन झन् घातक भएको टिप्पणी गरेका छन् ।

‘असहजतामा पनि महिला/पुरुष सँगै बस्न बाध्य थिए । यसो भनिरहँदा एउटा कुरा भुल्नु हुँदैन, पारिवारिक असहजताको कारक पुरुष मात्रै हुन् भन्ने परियोजनावादी चिन्तन चाहिँ पुराण कथाको पुरानो चिन्तनभन्दा अझै बढी घातक छ’, उनले भनेका छन् ।

पत्रकार पर्शुराम काफ्ले

काफ्लेले सनातन हिन्दु धर्मको विराटताको मूल पक्ष ज्ञान, आचरण, सभ्यता र फराकिलो संस्कृति भएको बताएका छन् । ‘कुनै समय लेखिएको कथालाई त्यही समयको चश्माले हेरिनुपर्छ । र, त्यसलाई अतीतको गर्भमै छाडिदिनुपर्छ । भन्नु र सुन्नु नपर्ने कथाहरू भनिनु हुँदैन, सुनिनु हुँदैन ।’

काफ्लेले समयको प्रवाहमा असान्दर्भिक हुँदै जाने कथाहरूलाई त्याग गर्नु ज्ञानीहरूको कर्तव्य हुनुपर्ने विचार राखेका छन् । ‘देवी प्रतिभा र उहाँजस्ता कथाबाचकहरूबाट हामीले भविष्यमा गर्ने अपेक्षा यही नै हो ।’

यसबारेमा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ देवी प्रतिभाको प्रशंसा र समर्थन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठ

उनले देवी प्रतिभा मातृभूमिलाई ढोग गर्दै कर्मभूमि प्रस्थान गरेको भन्दै उनले हिन्दु राष्ट्र नेपालको आह्वान गरेकोमा खुसी व्यक्त गरे ।

‘कथा वाचनका क्रममा उहाँको मन परेको एउटा लाइन- ‘सच्चा सनातनी हॅु, देश-विदेश गइरहन्छु, देश विदेशमा नेपाल देश, हिन्दुत्व र हिन्दुराष्ट्र नेपालको प्रचार गर्छु। यदि यो मेरो गल्ती हो भने यस्तो गल्ती म जीवनभर गरिरहन्छु’, श्रेष्ठले देवी प्रतिभाको भनाइ उद्धृत गर्दै भनेका छन् ।

विवाद

देवी प्रतिभा नेपालमै जन्मिएकी भए पनि यसअघि यति चर्चामा आएकी थिइनन् । उनी सानैदेखि भारतको बृन्दावनलाई कर्मथलो बनाएर कथा वाचन गर्छिन् ।

साधुराम पराजुली र इन्दिरा पराजुलीकी माहिली छोरी भएर उनी बाल्यकालदेखि नै बृन्दावनमा छिन् । भारत धार्मिक कथा वाचन र प्रवचन दिइरहेकी उनी पहिलो पटक नेपालमा आएर कथा वाचन गरिन् ।

 

देवी प्रतिभा

गत असार २९ गते सुरु गरिएको कोटिहोम हजारौँ भक्तजनले करोडौँ रुपैयाँ सहयोग गरेका छन् । तर यसका सञ्चालकका रुपमा रहेका व्यक्तिको विगतको आपराधिक र ठगीको पृष्ठभूमिको पनि आलोचना भइरहेको छ ।

देवी प्रतिभाले भक्तजनको लगातार प्रशंसा पाइरहेकी थिइन् । तर दुई दिनअघि वनकालीको ब्यासबाट विवाहित महिलार सम्बन्धविच्छेदबारे दिएको उनको अभिव्यक्ति उनकै लागि घातक सावित भयो ।

युगौँअघिको समयलाई ख्याल गरेर लेखिएका पुराणका कुरा अहिलेको समयलाई ख्याल नगरी बोल्दा उनले आलोचनाको भुंग्रोमा पुर्नुपरेको हो ।

उनले आफ्नो प्रवचनमा उनले धेरै समय ‘महिला पतिव्रता हुनुपर्छ’ भन्दै त्यसको शास्त्रीय व्याख्या गरेकी थिइन्।

‘सनातन धर्ममा, संस्कृत भाषामा डिभोर्स भन्ने शब्द नै छैन। त्यसैले महिलाले विवाह गरेपछि पुरुष आफूभन्दा २० वर्ष नै बुढो भए पनि, एउटै गुण नभए पनि र एक पैसा नकमाउने भए पनि उसलाई छाड्न हुँदैन। विवाहपश्चात् पतिको आदेशलाई लिएर हर कार्य गर्नुपर्छ र महिला पतिव्रता हुनुपर्छ’, उनले भनेकी छन्, ‘पतिको आयुका लागि महिलाले तिजको व्रतमा पानी पनि नखाई बस्नुपर्छ । यो नै पतिव्रताको लक्षण हो ।’ उनले यति भनिसकेपछि कथा सुनिरहेका महिलाहरूलाई प्रश्न गरिन्, ‘तपाईंहरू पतिले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न ?’

तर उनले त्यहाँको मण्डपमा आफूसँगै डिभोर्स गरेपछि कथा वाचनमा लागेको राधिका दासी रहेको पनि ख्याल गरिनन् । अर्कातिर उनको कथा सुन्ने महिलामा कतिपय त ‘डिभोर्सी’पनि अवश्य थिए ।

युगौँ पहिले लेखिएका पुराणको व्याख्याका क्रममा उनले अझै एक कदम अघि बढेर ‘पतिव्रता धर्म’ पालना गरिरहँदा आफ्नै काखको दुधेबालक आगोमा परे पनि बेवास्ता गर्नुपर्छ भनेकी थिइन् ।

‘काखमा निदाएको पतिलाई बिउँझाउनु पाप हो। आगोमा परेको बच्चा जलोस् तर पतिप्रतिको धर्म छाड्नुहुँदैन’, उनले पुराणका कुरा उल्लेख गर्दै भक्तजनलाई सुनाइन् । उनले त्यसभन्दा अघि बढ्दै पतिलाई खान नदिई आफूले खान नहुनेसम्म भनिन् । उनले व्याख्या गरे जस्तै कतिपय कुरा श्रीस्वस्थानी कथामासमेत भेटिन्छन् ।

भारत फर्कने क्रममा त्रिभुवन विमानस्थलको भुइँ ढोग्दै देवी प्रतिभा

देवी प्रतिभाले अहिलेको लिङ्गीय र र जातीय विभेदसमेत बर्जित गरिएको समाजलाई ख्याल नगरी पति विदेशमा भए तस्वीर राखेर त्यसमा खाना चढाई पूजा गरेर मात्रै खानुपर्छ पनि भनेकी थिइन् । यो कुराले महिला र पुरुष बराबर हुन् भन्नेहरूलाई आक्रोशित बनायो । देवी प्रतिभाको व्याख्याले महिलाको अपमान भएको र दोस्रो दर्जाका रुपमा ब्याख्या गरिएको उनीहरूको टिप्पणी छ ।

प्रतिरक्षा

कथा वाचनलाई लिएर विवादसँगै रवाफ देखाएको भन्दै उनको आलोचना भएको थियो । उनले आफ्नो अन्तिम प्रवचन सक्नुअघि सोमबार युट्युबरहरूमाझ आफ्नो बचाउमा कुरा राखिन् ।

सोमबारको प्रवचनपछि आयोजकले उनीमाथि उठेका प्रश्न र विवादबारे प्रष्ट पार्न समय दिएको थियो । उनले आफूसँगै ल्याएका भारतीय ‘बाउन्सर’ ब्यासमा कथावाचन गर्दा पनि दायाँबायाँ हुन्थे ।

देवी प्रतिभाले दुई दिनअघिको प्रवचनका क्रममा दिएको अभिव्यक्तिको पनि सोमबार केही पत्रकार युट्युबरमाझ जवाफ दिइन् । उनले कुनै पनि विवाहित जोडीले ‘डिभोर्स’ गर्न नहुने उनको तर्क थियो । पति जति काम नलाग्ने भए पनि पत्नीले उसबाट अलग हुनु नहुने धार्मिक मान्यता सुनाइरहँदा उनले साथमै रहेकी अर्की कथा वाचिका राधिका दासीको ख्याल नगरेको उनकै समर्थकको पनि टिप्पणी छ । राधिका दासी आफूलाई ‘डिभोर्सी’का रुपमा चिनाउँछिन्, उनले ‘डिभोर्स’को कारणबारे सञ्चारमाध्यममै सार्वजनिक गरिसकेकी छन् ।

देवी प्रतिभाले उक्त विवादित अभिव्यक्तिबारे थप जवाफ दिइन् । ‘जहाँ नारी शक्तिको सम्मान र सेवा गरिन्छ, त्यो ठाउँमा देवताले पनि भ्रमण गर्नुहुन्छ । शास्त्रले नारी शक्तिको सर्वथा सम्मान गर्नुपर्छ भनेको छ । म हरेक ठाउँमा यही भन्छु’, उनले भनिन्, ‘कतिपयको डिभोर्स हुन्छ, त्यो उनीहरूको निजी कुरा हो । तर, हाम्रो शास्त्रमा डिभोर्स भन्ने शब्द छैन । अहिलेको कानुनमा डिभोर्स छ, तर म अहिले पनि पुरुष र नारी दुवैले एक अर्काको सम्मान गर्नुपर्छ भन्ने उपदेश दिन्छु ।’

देवी प्रतिभा

देवी प्रतिभा विवादित कथा वाचनले मात्रै होइन, डिस्को र डान्सबारमा राखिने जस्तै बलिष्ठ ज्यानका सुरक्षा गार्ड अघिपछि लगाएर हिँडेको कुराले पनि आलोचनामा परिन् । उनी जहाँ बस्थिन्, जहाँ जान्थिन्, ती ७/८ बडीगार्डले उनलाई निरन्तर घेरिरहन्थे । जन्मभूमि आएको भनेकी उनी आफूलाई असुरक्षा भएको सन्देश दिने गरी भारतीय बडीगार्डबाट घेरिएकी हुन्थिन्।

उनले आफू जहाँ पुगे पनि धेरै भिड हुने भएकाले बडीगार्ड लानै पर्ने बाध्यता रहेको सुनाइन् । ‘कथा वाचनका क्रममा म धेरै ठाउँ पुग्छु । नेपाल, भारत र अन्य देश । जहाँ पनि देवी प्रतिभाको कथामा धेरै भिड हुन्छ । अहिले पशुपतिनाथमा पनि देखिरहनुभएको छ’, उनले भनिन्, ‘भारतमा योभन्दा पनि दोब्बर भिड हुने भएकाले अग्रिम सूचना दिएर बडीगार्डसहित जान्छु । म जाने स्थानमा प्रहरी–प्रशासन सतर्क भएका हुन्छन् । यहाँ त १०/१२ जना छन् भारतमा ६०/७० जना पनि हुन्थे । नेपालकी छोरीको यस्तो ‘रुतवा जलवा’ देखेर गौरव लाग्नुपर्ने हो ।’